VVIP, VIPहरुको नक्कली दस्तखत प्रयोग गरी रकम असुली गर्न खोजिएको भन्दै सीआईबीको सूचना

समाचार

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उच्च सरकारी अधिकारीको नाम तथा दस्तखत दुरुपयोग गरी रकम असुली गर्न खोजिएको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ।

सीआईबीले जारी गरेको ‘नक्कली दस्तखत दिने सम्बन्धी अत्यन्त जरुरी सूचना’मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित पत्र तथा निर्णयको दुरुपयोग गरी विभिन्न व्यक्तिलाई झुक्याउने प्रयास भएको जनाएको छ।

सूचनाअनुसार जापानको केयरगिभर (Caregiver) रोजगारीका लागि सञ्चालन भएको परीक्षामा उत्तीर्ण भई ‘होल्ड’मा रहेका परीक्षार्थीलाई वैदेशिक रोजगारीको अवसर दिलाइदिने भन्दै सरकारी उच्च अधिकारीको नाम तथा दस्तखत प्रयोग गरिएको पाइएको छ।

यस्तै, प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग चिनजान रहेको दाबी गर्दै केही व्यक्तिलाई प्रभावमा पार्ने र सरकारी निर्णय गराइदिने भन्दै रकम मागिएको विषयमा समेत सीआईबीले अनुसन्धान अघि बढाएको जनाएको छ।

सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा निर्णयको हवाला दिँदै करोडौँ रुपैयाँ रकम माग गरिएको सम्बन्धमा उजुरी प्राप्त भएको थियो। सोही आधारमा अनुसन्धानका क्रममा सरकारी कागजात तथा हस्ताक्षरको दुरुपयोग भएको तथ्य फेला परेको जनाएको छ।

सीआईबीले यस्तो कार्यमा संलग्न व्यक्तिहरूविरुद्ध आपराधिक उपद्रव तथा आपराधिक विश्वासघातसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको जनाएको छ। साथै सरकारी निकाय, पदाधिकारी वा उच्च अधिकारीको नाम तथा हस्ताक्षर प्रयोग गरी रकम माग्ने, रोजगारी वा अन्य काम मिलाइदिने प्रलोभन दिने व्यक्तिबाट सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

सीआईबीले त्यस्ता गतिविधिबारे जानकारी भएमा तत्काल सम्बन्धित प्रहरी निकाय वा केन्द्रीय अनुसन्धान ब्यूरोमा जानकारी गराउन समेत अनुरोध गरेको छ।