काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकले असोज २१ गते एकमहिने निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ बजारबाट प्रशोचन गर्न लागेको हो। बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत प्रस्ताव पेस गर्नुपर्नेछ।
निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाले आफूले राख्न चाहेको रकम र त्यसका लागि माग गरेको ब्याजदर प्रस्तावमा उल्लेख गर्नुपर्नेछ। संकलित रकमको साँवा तथा ब्याज आगामी कात्तिक १८ गते भुक्तानी गरिनेछ।
३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा सबैभन्दा कम ब्याजदर माग गर्ने बोलपत्रलाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि क्रमशः बढी ब्याजदर माग गरिएका बोलपत्रलाई रकम पूरा नहुँदासम्म बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
समान ब्याजदरमा आह्वान गरिएको रकमभन्दा बढी माग भएमा भने प्रो–रेटाका आधारमा बोलपत्र बाँडफाँट हुनेछ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकले संकलित निक्षेपलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा गणना गर्न नपाइने व्यवस्था गरेको छ। तर, अनिवार्य तरलता अनुपात (सीआरआर) तथा वैधानिक तरलता अनुपात (एसएलआर) कायम गर्न भने यसलाई गणना गर्न सकिनेछ।
निक्षेप संकलन उपकरणको अवधि पूरा हुनुअघि सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई रकम फिर्ता वा प्रिम्याच्योर भुक्तानी गर्न पाइने छैन।
बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट रकम खिच्दै आएको छ। पछिल्ला दिनमा पनि राष्ट्र बैंकले यस्तो उपकरणमार्फत पटक–पटक तरलता प्रशोचन गर्दै आएको छ।



