काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न लक्षित वर्ग र क्षेत्रमा सहुलियतपूर्ण कर्जा उपलब्ध हुने व्यवस्था सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार कृषि, महिला उद्यमशीलता, युवा स्वरोजगार, स्टार्टअप, उद्योग तथा विपद् प्रभावितलगायत ९ क्षेत्रमा यस्तो कर्जा उपलब्ध हुनेछ।
राष्ट्र बैंकका अनुसार कृषि तथा पशुपन्छी कर्जामा सबैभन्दा बढी ५ करोड रुपैयाँसम्म कर्जा लिन सकिन्छ। महिला उद्यमशीलता, वैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार, शिक्षित युवा परियोजना र स्टार्टअप उद्यम कर्जामा २५ लाख रुपैयाँसम्म कर्जा पाइनेछ।
दलित समुदाय भगत सर्वजित उद्यम विकास कर्जामा २० लाख रुपैयाँसम्म, उद्योगमा बोइलर प्रतिस्थापन कर्जामा ५० लाख रुपैयाँसम्म, प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जामा ५ लाख रुपैयाँसम्म र जेनजी आन्दोलनका सहिद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जामा १५ लाख रुपैयाँसम्म कर्जा पाइने राष्ट्र बैंकले जनाएको छ।
सहुलियतपूर्ण कर्जामा ब्याज, बीमाशुल्क वा सुरक्षण शुल्कमा अनुदान उपलब्ध हुने भएकाले अन्य कर्जाको तुलनामा लागत कम हुन सक्छ। यस्तो कर्जामा ग्रेस अवधि र भुक्तानी अवधि पनि तुलनात्मक रूपमा लामो हुने व्यवस्था छ।
राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जा २०८७ साल असार मसान्तसम्म मात्र प्रदान गरिनेछ। एकाघर परिवारका एकभन्दा बढी सदस्यलाई यस्तो कर्जा प्रदान गर्न पाइने छैन।
कर्जा लिन चाहनेले नजिकको बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी योग्यता, आवश्यक कागजात, ब्याजदर र अन्य सर्तबारे जानकारी लिन सक्ने राष्ट्र बैंकले जनाएको छ।




