एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह
काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतारको दोहा पुग्नुभएका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ।
भेटमा अर्थमन्त्री वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच बढाउन बैंककी अध्यक्ष जोउलाई आग्रह गर्नुभयो।
भेटका क्रममा अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
अध्यक्ष जोउले एआईआईबीको **प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्ड**मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउन सकिने बताउनुभयो। साथै, स्पेसलाइज्ड फन्ड विन्डोअन्तर्गत उपलब्ध अनुदान परिचालन गरी नेपाललाई प्रदान गरिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
उहाँले एआईआईबीको संस्थापक सदस्य राष्ट्रका रूपमा नेपालको आर्थिक विकासमा थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि दोहोर्याउनुभयो।
सो अवसरमा अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष जोउलाई बधाई दिँदै एआईआईबीले संस्थापक सदस्य राष्ट्रका रूपमा नेपाललाई पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।
अर्थमन्त्रीले एआईआईबीको लगानीमा सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकसम्बन्धी अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गर्नुभयो। साथै, बैंकको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा हालैको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो।
अर्थमन्त्री वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहयोगअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधार विकासका लागि एआईआईबीको आफ्नै स्रोतसँगै अन्य दातृ निकायका स्रोतसमेत परिचालन गर्न आग्रह गर्नुभयो।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिनुभएको छ।


