कांग्रेसको चुनौती, जनविश्वासको पुन:प्राप्ति

Headlines विचार /दृष्टिकोण

नेपाली कांग्रेस : निजत्वको घेराबाट जनविश्वाससम्म

नेपाली कांग्रेसको महाधिवेशनबाट नेतृत्वदायी जिम्मेवारी प्राप्त गर्नुभएका सबै साथीहरूलाई बधाई दिँदै एउटा गम्भीर प्रश्न राख्न चाहन्छु—अब तपाईँहरूको प्राथमिकता के हो? पद प्राप्तिको उत्सव मनाउनु, आफ्ना गुटका साथीहरूलाई विभिन्न तहमा स्थापित गर्नु र आगामी निर्वाचनका लागि शक्ति सञ्चय गर्नु, अथवा नेपाली कांग्रेसलाई आम जनताको आशा, भरोसा र परिवर्तनको आकाङ्क्षासँग पुनः जोड्नु? महाधिवेशनले नेतृत्व चयन गरेको छ, तर जनताको विश्वास स्वतः चयन हुँदैन। पार्टीभित्र पद प्राप्त गर्नु राजनीतिक यात्राको एउटा उपलब्धि हो; जनताको मन जित्नुचाहिँ निरन्तर सङ्घर्ष, इमानदार व्यवहार र परिणाममुखी कामबाट मात्र सम्भव हुन्छ। त्यसैले तपाईँहरूका लागि अब चुनौतीको पहाड नै छिचोल्नुपर्ने जिम्मेवारी आएको छ।

नेपाली कांग्रेसको आजको प्रमुख चुनौती पार्टीभित्रको एकता मात्र होइन। त्योभन्दा गहिरो र निर्णायक चुनौती हो—जनतासँगको सम्बन्ध र विश्वास पुनस्र्थापित गर्नु। पार्टीभित्रका नेताहरू एकै ठाउँमा बसेर मुस्कुराउन सक्छन्, हात मिलाउन सक्छन् र एकताको सन्देश दिन सक्छन्। तर ती दृश्यले मात्र जनताको मनमा विश्वास जगाउँदैनन्। जनताले खोजेको एकता भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ; प्रतिबद्धतामा होइन, परिणाममा प्रमाणित हुनुपर्छ।

नेपाली कांग्रेसको ऐतिहासिक योगदान, लोकतन्त्रप्रतिको प्रतिबद्धता र राजनीतिक परिवर्तनमा खेलेको भूमिकालाई अस्वीकार गर्न सकिँदैन। तर इतिहासको गौरवले वर्तमानको कमजोरी सधैँ ढाक्न सक्दैन। विगतमा के गरियो भन्ने प्रश्न जति महत्त्वपूर्ण छ, आज जनताका लागि के गरिँदै छ भन्ने प्रश्न त्योभन्दा कम महत्त्वपूर्ण छैन। पुरानो योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न नसक्ने पार्टी समयको गतिसँगै कमजोर बन्दै जान्छ। महाधिवेशन नेतृत्व चयन गर्ने अवसर हो,पार्टीलाई गुटहरूको सङ्ग्रहालय बनाउने अनुमति होइन। अब जिल्ला, क्षेत्र, पालिका र वडा तहसम्म आफ्ना गुट चम्काउने, आफ्ना मानिसलाई मात्र अवसर दिने र फरक मत राख्ने साथीहरूलाई किनारामा धकेल्ने सोचबाट मुक्त हुनुपर्छ। नेतृत्वमा पुगेपछि आफूलाई सहयोग गर्नेहरूको मात्र प्रतिनिधि होइन, सम्पूर्ण पार्टीको अभिभावक बन्न सक्नुपर्छ।

महाधिवेशनको प्रतिस्पर्धामा देखिएको होडबाजी, अव्यवस्था र कतिपय प्रतिनिधिको मत छनोटमा विवेकभन्दा व्यक्तिगत आग्रह वा गुटगत प्रभाव हाबी भएको अनुभूतिले गम्भीर समीक्षा माग गर्छ। मतदाताको स्वतन्त्र विवेकमाथि प्रश्न उठाउनु सहज छ, तर त्यसको समाधान व्यक्तिलाई दोष दिनु मात्र होइन। पार्टीले प्रतिनिधि छनोटदेखि नेतृत्व चयनसम्मको प्रक्रियालाई अझ पारदर्शी, विचारमुखी र जिम्मेवार बनाउनुपर्छ।अब यही शैली जिल्ला र प्रदेशका अधिवेशनमा दोहोरिनु हुँदैन। नेतृत्व चयनका नाममा शक्ति प्रदर्शन, व्यक्तिगत प्रतिष्ठाको प्रतिस्पर्धा र गुटगत ध्रुवीकरणलाई प्रोत्साहन गरियो भने पार्टीको आन्तरिक लोकतन्त्र कमजोर हुनेछ। लोकतन्त्रको अभ्यास गर्ने पार्टीले आफ्नै सङ्गठन भित्र लोकतान्त्रिक संस्कारको उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ।

त्यसैले जिल्ला, क्षेत्र, पालिका र वडा तहमा नेतृत्व चयन गर्दा व्यक्तिको निकटता होइन, क्षमता; गुटप्रतिको निष्ठा होइन, विचारप्रतिको प्रतिबद्धता; आर्थिक वा राजनीतिक प्रभाव होइन, जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्छ। पार्टीको जिम्मेवारी पाउनु अवसर हो, निजी सम्पत्ति होइन। सङ्गठनमा स्थान पाउनु सेवाको दायित्व हो, अरूमाथि शासन गर्ने अधिकार होइन।नयाँ कांग्रेसको आधार यही संस्कार हुनुपर्छ— सबैलाई सुन्ने, योग्यलाई अवसर दिने, फरक विचारको सम्मान गर्ने र सामूहिक निर्णयलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने राजनीतिक संस्कृति।

नयाँ पुस्तासँग जोडिने वैचारिक र व्यावहारिक दृश्य

नेपाली कांग्रेसलाई आज आम जनतासँग, विशेषगरी नयाँ पुस्तासँग जोड्ने अभियान आवश्यक छ। युवा पुस्ताले राजनीतिलाई केवल चुनाव, भाषण, पद र सत्ताको खेलका रूपमा हेर्न थालेको छ भने त्यसको कारण खोज्न पार्टी आफैँ तयार हुनुपर्छ। युवालाई राजनीतिप्रति उदासीन भएको आरोप लगाउनुअघि राजनीतिले युवाका सपना, समस्या र सम्भावनालाई कति सम्बोधन गरेको छ भन्ने प्रश्नको उत्तर दिनुपर्छ।आजको युवा रोजगारी चाहन्छ, गुणस्तरीय शिक्षा चाहन्छ, उद्यम गर्ने अवसर चाहन्छ, निष्पक्ष प्रतिस्पर्धा चाहन्छ। ऊ आफ्नो क्षमता प्रयोग गर्न देशमै सम्भावना खोज्छ। तर अवसरको अभाव, नातावाद, कृपावाद, भ्रष्टाचार र राजनीतिक संरक्षणमा आधारित नियुक्तिले उसको भरोसा कमजोर बनाउँछन्। विदेशिनुपर्ने बाध्यतालाई केवल व्यक्तिगत निर्णय भनेर पन्छाउन मिल्दैन; त्यसमा राज्यको नीति, अर्थतन्त्रको अवस्था र राजनीतिक नेतृत्वको कार्यशैलीसमेत जोडिएका हुन्छन्।कांग्रेसले नयाँ पुस्तालाई केवल चुनावी सभामा भीड बढाउन, सामाजिक सञ्जालमा प्रचार गर्न वा नेताका पक्षमा नारा लगाउन बोलाउने होइन। उनीहरूलाई नीति निर्माण, सङ्गठन सञ्चालन, स्थानीय विकास, उद्यमशीलता र सार्वजनिक निर्णय प्रक्रियामा वास्तविक भूमिका दिनुपर्छ। युवाको सहभागिता तस्बिर खिच्ने औपचारिकतामा सीमित हुनु हुँदैन; उनीहरूको विचारले पार्टीको नीति र कार्यक्रमलाई प्रभावित गर्न सक्नुपर्छ।

नयाँ कांग्रेस निर्माणका लागि वैचारिक, नीतिगत, कार्यक्रमिक र व्यावहारिक रूपान्तरणको स्पष्ट मार्गचित्र आवश्यक छ। वैचारिक रूपान्तरणले पार्टी किन र कसका लागि राजनीति गर्छ भन्ने स्पष्ट पार्नुपर्छ। नीतिगत रूपान्तरणले रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, प्रविधि र सामाजिक सुरक्षाका क्षेत्रमा व्यावहारिक समाधान प्रस्तुत गर्नुपर्छ। कार्यक्रमिक रूपान्तरणले ती नीतिलाई समयसीमा, जिम्मेवारी र मापनयोग्य उपलब्धिसहित कार्यान्वयन गर्नुपर्छ। व्यावहारिक रूपान्तरणले नेताको आचरणदेखि वडा तहको सेवासम्म परिवर्तन अनुभूत गराउनुपर्छ।कांग्रेसले उत्पादनमुखी अर्थतन्त्र, स्वदेशी उद्यम, आधुनिक कृषि, साना तथा मझौला उद्योग, पर्यटन र प्रविधिमा आधारित रोजगारीलाई प्राथमिकता दिनुपर्छ। युवाले देशमै उद्यम गर्न चाहँदा सहुलियतपूर्ण वित्त, सीप, बजार र प्रशासनिक सहजीकरण पाउने वातावरण बनाउनुपर्छ। किसानले उत्पादनको उचित मूल्य पाउनुपर्छ। श्रमिकले सम्मानजनक काम पाउनुपर्छ। विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनुपर्छ। नागरिकले सरकारी सेवा लिन अनावश्यक पहुँच र घुसको सहारा लिनुपर्ने अवस्था अन्त्य हुनुपर्छ। कांग्रेसका साथीहरू, जनतामा उत्साह सिर्जना गर्ने अभियान कुनै एक नेताको लोकप्रियता बढाउने कार्यक्रम हुनु हुँदैन। त्यो पार्टीका सदस्यदेखि साधारण नागरिकसम्मले आफू पनि परिवर्तनको हिस्सेदार भएको अनुभूति गर्ने सामूहिक अभियान हुनुपर्छ।

यसका लागि प्रत्येक वडा पार्टीको सक्रिय जनसम्पर्क केन्द्र बन्नुपर्छ। प्रत्येक पालिकाले स्थानीय आवश्यकता पहिचान गरेर कार्ययोजना बनाउनुपर्छ। जिल्ला र प्रदेशले स्थानीय प्रयासलाई समन्वय, स्रोत र नीतिगत सहयोग उपलब्ध गराउनुपर्छ। केन्द्रीय नेतृत्वले दिशा, मापदण्ड र जवाफदेहिताको व्यवस्था गर्नुपर्छ। यसरी केन्द्रदेखि वडासम्म एउटै उद्देश्य, स्पष्ट जिम्मेवारी र मापनयोग्य उपलब्धिसहित काम गर्न सके मात्र पार्टीभित्र नयाँ ऊर्जा पैदा हुन्छ।सदस्यता नवीकरण गरेर सङ्ख्या बढाउनु मात्र पर्याप्त हुँदैन। प्रत्येक सदस्यलाई समाजसँग जोडिएको जिम्मेवार राजनीतिक प्रतिनिधिका रूपमा परिचालित गर्नुपर्छ। युवाका विचार सुन्ने संवाद, किसानसँग उत्पादनसम्बन्धी छलफल, उद्यमीसँग आर्थिक नीतिबारे परामर्श, श्रमिकसँग श्रम र सम्मानका प्रश्नमा बहस तथा महिलाको नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्नुपर्छ। पार्टीको ढोका विचार, क्षमता र सेवाभाव भएका सबैका लागि खुला हुनुपर्छ।यससँगै भ्रष्टाचार र अनियमितताका विषयमा पार्टीले स्पष्ट मापदण्ड अपनाउनुपर्छ। आफ्नो पक्षको व्यक्ति संलग्न हुँदा मौन बस्ने र विपक्षीको गल्ती हुँदा मात्र आक्रामक बन्ने दोहोरो व्यवहारले विश्वास नष्ट गर्छ। नैतिकताको परीक्षा आफ्ना मानिसका गल्तीमा हुन्छ। दोषी जोसुकै भए पनि निष्पक्ष छानबिन र कानुनी प्रक्रियालाई समर्थन गर्ने संस्कार स्थापित गर्नुपर्छ।

अनि मात्र देश बदल्ने दाबी विश्वसनीय हुन्छ

महाधिवेशनको होडबाजी अब समाप्त हुनुपर्छ। गुटगत प्रतिस्पर्धाको ठाउँमा वैचारिक बहस स्थापित हुनुपर्छ। पदको दाबी गर्ने संस्कृतिको ठाउँमा जिम्मेवारी पूरा गर्ने संस्कार विकास हुनुपर्छ। कार्यकर्ताको मूल्याङ्कन नेतासँगको निकटताबाट होइन, जनतासँगको सम्बन्ध र कामको परिणामबाट हुनुपर्छ। जिल्ला र प्रदेशका अधिवेशनहरू पनि यही परिवर्तनको अभ्यास गर्ने अवसर बन्नुपर्छ।नयाँ कांग्रेस निर्माणको अभियानमा सबैभन्दा ठूलो प्रश्न यही हो—के कांग्रेसले आफूलाई बदल्न तयार छ? के नेतृत्वले आलोचना सुन्न, कमजोरी स्वीकार गर्न र आफ्नै कार्यशैलीमाथि प्रश्न उठाउन सक्छ? के पार्टीले नयाँ पुस्तालाई वास्तविक जिम्मेवारी दिन सक्छ? के उसले जनतासँग गरेका प्रतिबद्धतालाई समयसीमाभित्र परिणाममा बदल्न सक्छ?यी प्रश्नको सकारात्मक उत्तर भाषणले होइन, व्यवहारले दिनुपर्छ। जनताले परिवर्तनको अनुभूति गर्न थालेपछि मात्र उत्साहको लहर उठ्छ। युवाले आफ्नो भविष्य देशमै देख्न थालेपछि मात्र राजनीतिक विश्वास बलियो हुन्छ। पार्टीका सदस्यले गुटको छायाबाट मुक्त भएर सम्मान र अवसर पाउन थालेपछि मात्र सङ्गठनभित्र नयाँ ऊर्जा सञ्चार हुन्छ।त्यसैले नेपाली कांग्रेसका साथीहरू, अब जिल्ला, क्षेत्र, पालिका र वडासम्म आफ्ना गुट चम्काउने होइन, जनताको विश्वास चम्काउने अभियानमा लाग्नुहोस्। पदको प्रभाव देखाउने होइन, कामको परिणाम देखाउनुहोस्। विगतको गौरव गाउनुहोस्, तर भविष्यको निर्माणमा अझ बढी शक्ति लगाउनुहोस्। जनतालाई आश्वासन मात्र नदिनुहोस्, परिवर्तनको अनुभूति गराउनुहोस्।

कांग्रेसको वास्तविक पुनर्जागरण त्यतिबेला सुरु हुनेछ, जब एउटा बेरोजगार युवाले आफ्नो भविष्यप्रति आशा देख्नेछ, एउटा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउनेछ, एउटा श्रमिकले आफ्नो श्रमको सम्मान अनुभूत गर्नेछ र एउटा सामान्य नागरिकले कुनै राजनीतिक पहुँचबिना पनि न्याय तथा सेवा पाउने विश्वास गर्नेछ।नयाँ कांग्रेस बनाउने महाअभियान कुनै एक महाधिवेशनको उपलब्धि होइन; यो निरन्तर आत्मसुधार, जनसेवा र उत्तरदायित्वको यात्रा हो।

त्यस यात्रामा नेतृत्वले उदाहरण प्रस्तुत गर्नुपर्छ, कार्यकर्ताले इमानदार भूमिका निर्वाह गर्नुपर्छ र पार्टीले जनताको आवाजलाई आफ्नो नीतिको केन्द्रमा राख्नुपर्छ।याद राखौँ— कांग्रेसभित्रको एकता आवश्यक छ, तर जनतासँगको सम्बन्ध र विश्वास निर्णायक छ। पदले नेतृत्व दिन सक्छ, तर विश्वासले मात्र जनताको मन जित्न सक्छ।अबको सङ्कल्प स्पष्ट होस्—गुटबाट माथि उठौँ, जनतासँग जोडिऔँ; नाराबाट अघि बढौँ, परिणाममा पुगौँ; पुरानो शैली त्यागौँ, नयाँ राजनीतिक संस्कार निर्माण गरौँ।नयाँ कांग्रेस निर्माणको महाअभियान जनताको विश्वास पुनः प्राप्त गर्ने अभियान बनोस्।

बद्री अर्याल