नारायणगढ । अविरल वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गअन्तर्गत चितवन तथा धादिङका विभिन्न स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकमा लगातार पहिरो र ढुंगा खसिरहेकाले तत्काल यातायात सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गका विभिन्न स्थानमा लगातार पहिरो खसिरहेको छ। वर्षा नरोकिएकाले पहिरो हटाएपछि पनि पुनः पहिरो खस्ने जोखिम रहेकाले सडक खुलाउन कठिन भएको उनले बताए।
चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक पुनः भासिएपछि यातायात पूर्ण रूपमा रोकिएको छ। यसअघि पनि सडक भासिएपछि उक्त स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन हुँदै आएको थियो। अहिले थप क्षति भएपछि दुवैतर्फको आवागमन रोकिएको हो।
इच्छाकामना गाउँपालिका–५ सिमलधारामा माथिबाट पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको छ। सोही गाउँपालिकाको तुइनखोला र नाम्सीखोलामा पनि माथिबाट ढुंगा तथा पहिरो खसेको प्रहरीले जनाएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डकै तुइनखोला, नाम्से पुल, १५ किलो र १७ किलो क्षेत्रमा समेत सामान्य ढुंगामाटो खसेको छ। लगातार वर्षा भइरहेकाले ती क्षेत्रमा पनि थप पहिरोको जोखिम रहेको प्रहरीले जनाएको छ।
यस्तै, पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र ज्यामिरेघाटमा माथिबाट पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ। गजुरी गाउँपालिका–६ जरेखेत र थाक्रे गाउँपालिका–२ कमेरेभिरमा पनि पहिरोका कारण सडक प्रभावित भएको छ।
प्रहरीका अनुसार कृष्णभिर, सिमलधारा, धारापानी, नाम्सीखोला र तुइनखोलामा सडकमा खसेको पहिरो हटाउने काम भइरहेको छ। तर वर्षा नरोकिएका कारण माथिबाट पहिरो र ढुंगा खस्ने क्रम जारी रहेकाले सडक खुलाउन समस्या भइरहेको छ।
कृष्णभिरमा ग्याबिन झर्यो
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा नयाँ ट्र्याक खोलिएको सडकको नदीतर्फको ग्याबिन केही तल झरेको छ। नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) प्रमुख सजना अधिकारीका अनुसार नयाँ ट्र्याक खोलिएको माथिल्लो भागमा सामान्य पहिरो खसे पनि हाल सञ्चालनमा रहेको सडकमा ठूलो क्षति पुगेको छैन।
उनका अनुसार सडकको नदीतर्फ रहेको ग्याबिनको केही भाग तल झरेको छ। लगातार वर्षा भइरहेकाले थप क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको हो।
‘नयाँ ट्र्याक खोलेको माथिल्लो स्थानबाट अलिअलि पहिरो झरेको छ। हामीले प्लास्टिक ओडाएको स्थानमा बढी समस्या छैन। तर तल एउटा ग्याबिन झरेको छ,’ अधिकारीले भनिन्।
उनका अनुसार साइटतर्फको ग्याबिनको बीच भाग केही खसेको भए पनि हालसम्म सडकमा ठूलो क्षति भएको छैन। तर कृष्णभिर क्षेत्रमा साना–साना पहिरो खस्ने क्रम जारी रहेकाले तत्काल यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताइन्।
सडकको अवस्थाबारे प्राविधिक टोलीले निरन्तर अनुगमन गरिरहेको पनि अधिकारीले जानकारी दिइन्।
हिजो रातिदेखि नै सवारी रोक
पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा हिजो रातिदेखि नै सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। रातभर वर्षा भइरहेका बेला आज बिहान राजमार्गका विभिन्न स्थानमा थप पहिरो खसेपछि प्रशासनले सवारी रोकलाई निरन्तरता दिएको प्रहरीले जनाएको छ।
नारायणगढ–मुग्लिन सडक पूर्वी र पश्चिमी नेपाल जोड्ने प्रमुख सडकखण्ड हो भने पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई देशका पश्चिमी तथा मध्यपहाडी क्षेत्रसँग जोड्ने महत्वपूर्ण मार्ग हो। यी दुवै सडकमा यातायात रोकिँदा लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्।
वर्षा रोकिएर सडकको अवस्था सुरक्षित भएपछि मात्रै पहिरो हटाएर यातायात सञ्चालन गर्ने तयारी रहेको प्रहरीले जनाएको छ। तर पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुल्ने समय यकिन भइसकेको छैन।



