नेपालमा अन्तरदिवसीय सेयर कारोबारको बाटो खुल्दै, सुरुवातमा खरिदपछि बिक्री मात्रै
काठमाडौँ — नेपालमा अन्तरदिवसीय सेयर कारोबार (इन्ट्राडे ट्रेडिङ) सञ्चालन गर्ने बाटो खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अन्तरदिवसीय कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र, २०८३ सार्वजनिक परामर्शका लागि अघि बढाउँदै सोसम्बन्धी कानुनी, प्राविधिक, संस्थागत तथा जोखिम व्यवस्थापनको तयारीबारे सरोकारवालासँग सुझाव मागेको हो।
अवधारणापत्रले तत्कालै अन्तरदिवसीय कारोबार सञ्चालन गर्ने निर्णय गरेको भने छैन। बजारको विद्यमान क्षमता, जोखिम व्यवस्थापन, प्रविधि, कानुनी व्यवस्था र लगानीकर्ता संरक्षणका संयन्त्रको मूल्यांकन गरेर चरणबद्ध रूपमा अघि बढ्ने प्रस्ताव गरिएको छ।
अन्तरदिवसीय कारोबार भन्नाले एउटै कारोबार दिनभित्र धितोपत्र खरिद तथा बिक्री गरी सोही दिन खुला स्थिति बन्द गर्ने प्रणाली हो। अहिले नेपालको दोस्रो बजारमा मुख्यतः डेलिभरीमा आधारित कारोबार हुँदै आएको छ।
अवधारणापत्रमा अन्तरदिवसीय कारोबारको विकास गर्दा ‘रिस्क फर्स्ट, ट्रेडिङ सेकेन्ड’ अर्थात् कारोबार विस्तारभन्दा पहिले जोखिम नियन्त्रण, बजार निगरानी र लगानीकर्ता संरक्षणलाई प्राथमिकता दिने सिद्धान्त प्रस्ताव गरिएको छ।
सुरुवातमा खरिदपछि बिक्री
नेपालमा अन्तरदिवसीय कारोबार सुरु गर्दा पहिलो चरणमा ‘पहिले खरिद, पछि बिक्री’ मोडेल मात्रै लागू गर्ने प्रस्ताव गरिएको छ। अर्थात् लगानीकर्ताले कारोबार दिनभित्र सेयर खरिद गरेपछि सोही दिन निश्चित समयभित्र बिक्री गरेर आफ्नो पोजिसन बन्द गर्नुपर्नेछ।
‘पहिले बिक्री, पछि खरिद’ अर्थात् सर्टसेलिङलाई भने सुरुवाती चरणमा समेटिएको छैन। त्यसका लागि सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ (एसएलबी) सहित आवश्यक कानुनी तथा प्राविधिक पूर्वाधार तयार भएपछि मात्रै विचार गर्ने प्रस्ताव गरिएको छ।
यसले नेपालमा अन्तरदिवसीय कारोबार र सर्टसेलिङलाई एउटै चरणमा नभई क्रमशः अघि बढाउने संकेत गरेको छ।
समयमै पोजिसन बन्द नगरे स्वतः बिक्री
प्रस्तावित नेपाल इन्ट्राडे ट्रेडिङ मोडल (एनआईटीएम) मा कारोबार दिनभित्र खुला पोजिसन अनिवार्य रूपमा बन्द गर्नुपर्ने व्यवस्था रहनेछ। लगानीकर्ताले तोकिएको समयभित्र पोजिसन बन्द नगरेमा वा आवश्यक मार्जिन कायम गर्न नसकेमा प्रणालीबाट स्वतः पोजिसन बन्द गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
कारोबार सुरु गर्नुअघि नै लगानीकर्ताको जोखिम क्षमता र उपलब्ध मार्जिन जाँच हुने तथा कारोबारका क्रममा पनि वास्तविक समयमै जोखिम अनुगमन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
मार्जिन अपुग भएमा सुरुमा चेतावनी दिने, त्यसपछि मार्जिन कल गर्ने, कारोबारमा प्रतिबन्ध लगाउने र आवश्यक परे स्वतः पोजिसन बन्द गर्ने क्रमिक व्यवस्था प्रस्ताव गरिएको छ।
यसका लागि ब्रोकरको अर्डर म्यानेजमेन्ट सिस्टम (ओएमएस) र रिस्क म्यानेजमेन्ट सिस्टम (आरएमएस) बलियो बनाउनुपर्ने अवधारणापत्रमा उल्लेख छ।
सबै कम्पनीको सेयरमा लागू नहुने
अन्तरदिवसीय कारोबार सुरु भए पनि सुरुको चरणमा नेप्सेमा सूचीकृत सबै कम्पनीको सेयरमा यस्तो कारोबार खुला गर्ने प्रस्ताव छैन।
उच्च तरलता, पर्याप्त फ्रि–फ्लोट, नियमित कारोबार र मूल्य हेरफेरको तुलनात्मक रूपमा कम जोखिम भएका कम्पनीलाई मात्रै प्रारम्भिक चरणमा अन्तरदिवसीय कारोबारका लागि योग्य बनाउने प्रस्ताव गरिएको छ।
योग्य धितोपत्रको सूची समयअनुसार पुनरावलोकन गर्न सकिनेछ। यसले कम कारोबार हुने तथा मूल्यमा ठूलो उतारचढाव देखिन सक्ने धितोपत्रमा सुरुवाती चरणमै अन्तरदिवसीय कारोबार विस्तार नगर्ने नीति देखाउँछ।
लगानीकर्ताका लागि पनि छुट्टै योग्यता
अन्तरदिवसीय कारोबारमा सहभागी हुन सबै लगानीकर्तालाई स्वतः अनुमति दिनेभन्दा जोखिममा आधारित योग्यता प्रणाली लागू गर्ने प्रस्ताव छ।
यसअन्तर्गत केवाईसी पूरा गरेको, अन्तरदिवसीय कारोबारका जोखिमबारे जानकारी प्राप्त गरेको तथा जोखिम खुलासा विवरणमा सहमति जनाएको लगानीकर्तालाई मात्रै कारोबारको अनुमति दिने व्यवस्था प्रस्ताव गरिएको छ।
लगानीकर्तालाई कारोबारको प्रकृति, मार्जिनको जोखिम, स्वतः पोजिसन बन्द हुन सक्ने अवस्था तथा सम्भावित वित्तीय जोखिमबारे जानकारी गराएर मात्रै यस्तो कारोबारमा सहभागी गराउने अवधारणापत्रको प्रस्ताव छ।
रियल टाइम निगरानीमा जोड
अन्तरदिवसीय कारोबार सुरु भएपछि बजारमा हुने अस्वाभाविक गतिविधि नियन्त्रण गर्न रियल टाइम सर्भिलेन्स प्रणाली आवश्यक हुने अवधारणापत्रमा उल्लेख छ।
स्पुफिङ, लेयरिङ, सर्कुलर ट्रेडिङ तथा मूल्य हेरफेरजस्ता गतिविधि पहिचान र नियन्त्रण गर्न नेप्सेको बजार निगरानी प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेछ।
हाल नेपालमा डिम्याट, अनलाइन कारोबार, सेबोन, नेप्से र सीडीएससीलगायतको आधारभूत संरचना तयार भइसके पनि रियल टाइम जोखिम व्यवस्थापन, मार्जिन व्यवस्थापन, अटो स्क्वायर–अफ, बजार निगरानी, साइबर सुरक्षा तथा ब्रोकरको ओएमएस/आरएमएसमा थप सुधार आवश्यक रहेको अवधारणापत्रको निष्कर्ष छ।
त्यसैले नेपालको बजारलाई अन्तरदिवसीय कारोबारका लागि पूर्ण रूपमा तयार नभई ‘सशर्त रूपमा तयार’ अवस्थामा रहेको अवधारणापत्रले औंल्याएको छ।
सेबोनदेखि बैंकसम्म जिम्मेवारी
अन्तरदिवसीय कारोबार कार्यान्वयनमा सेबोनले नीति निर्माण, नियमन र सुपरिवेक्षणको नेतृत्व गर्ने प्रस्ताव छ। नेप्सेले ट्रेडिङ इन्जिन, अर्डर म्याचिङ, नयाँ अर्डर प्रकार तथा रियल टाइम सर्भिलेन्स प्रणालीमा सुधार गर्नुपर्नेछ।
ब्रोकरले आफ्नो ओएमएस तथा आरएमएस सुदृढ गर्नुका साथै ग्राहकको पोजिसन, मार्जिन र जोखिम नियन्त्रण गर्नुपर्नेछ।
सीडीएससी तथा बैंकिङ प्रणालीतर्फ पनि कारोबार, रकम र धितोपत्रको मिलान प्रक्रिया थप प्रभावकारी बनाउनुपर्नेछ। विशेषगरी मार्जिन र रकम व्यवस्थापनका लागि बैंकिङ प्रणालीसँग रियल टाइम वा नजिकको रियल टाइम इन्टरफेस आवश्यक हुने अवधारणापत्रमा उल्लेख छ।
चार चरणमा कार्यान्वयनको प्रस्ताव
अवधारणापत्रले अन्तरदिवसीय कारोबारलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव गरेको छ।
पहिलो चरणमा आवश्यक कानुनी तथा नियामकीय व्यवस्था, योग्य धितोपत्रका मापदण्ड र प्राविधिक मापदण्ड तयार गरिनेछ।
दोस्रो चरणमा नेप्से, सीडीएससी र ब्रोकरका आरएमएसबीच प्रणाली एकीकरण, प्रणाली परीक्षण, स्ट्रेस टेस्टिङ र साइबर सुरक्षा परीक्षण गरिनेछ।
तेस्रो चरणमा सीमित योग्य धितोपत्र, सीमित ब्रोकर र सीमित लगानीकर्तालाई सहभागी गराएर पाइलट परीक्षण सञ्चालन गरिनेछ।
पाइलट परीक्षणको नतिजा, प्रणालीको स्थिरता, जोखिम व्यवस्थापन र लगानीकर्ता संरक्षणको अवस्थाको मूल्यांकन गरेपछि मात्रै कारोबारको दायरा विस्तार गर्ने प्रस्ताव छ।
१६ विषयमा सुझाव माग
सेबोनले अवधारणापत्रमार्फत सरोकारवालासँग १६ वटा विषयमा सुझाव मागेको छ। अन्तरदिवसीय कारोबारको औचित्यदेखि ‘रिस्क फर्स्ट’ अवधारणा, ‘बाइ फर्स्ट, सेल लेटर’ मोडेल, अटो स्क्वायर–अफको समयसीमा, योग्य धितोपत्र छनोट, लगानीकर्ताको योग्यता र मार्जिन व्यवस्थापनसम्मका विषयमा सुझाव मागिएको छ।
त्यसैगरी ब्रोकरको आरएमएस क्षमता, नेप्सेको ट्रेडिङ प्रणाली, रियल टाइम बजार निगरानी, सीडीएससीको भूमिका, बैंकिङ प्रणालीसँगको इन्टरफेस, साइबर सुरक्षा, डिजास्टर रिकभरी योजना, नियामक निकायबीचको समन्वय, कानुनी संशोधन र पाइलट परीक्षणको अवधि तथा मूल्यांकनका सूचकबारे पनि सुझाव मागिएको छ।
सर्टसेलिङका लागि एसएलबी पूर्वाधार
अवधारणापत्रले अन्तरदिवसीय कारोबार सुरु गर्ने प्रस्तावसँगै सर्टसेलिङको विषयलाई भने अर्को चरणका रूपमा राखेको छ।
पहिले बिक्री गरेर पछि खरिद गर्ने कारोबारका लागि लगानीकर्तासँग बिक्री गर्न आवश्यक धितोपत्रको व्यवस्था हुनुपर्ने भएकाले एसएलबी प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने हुन्छ। त्यसका लागि आवश्यक कानुनी, प्राविधिक र संस्थागत पूर्वाधार तयार भएपछि मात्रै सर्टसेलिङसम्बन्धी मोडेल विचार गर्ने प्रस्ताव गरिएको छ।
यसरी प्रस्तावित मोडेल कार्यान्वयन भएमा नेपालको दोस्रो बजारमा कारोबारको स्वरूपमा महत्वपूर्ण परिवर्तन आउनेछ। तर अवधारणापत्रले नै कानुनी, प्राविधिक र जोखिम व्यवस्थापनका पूर्वसर्त पूरा गरेर पाइलट परीक्षणपछि मात्रै विस्तार गर्ने बाटो प्रस्ताव गरेकाले अन्तरदिवसीय कारोबार तत्कालै सबै लगानीकर्ताका लागि खुला हुने अवस्था भने छैन।
intrday


