गोरो सन्तान जन्माउन नेपाली युवतीहरूको ‘बिक्री’: विवाह नगरी गर्भधारणदेखि सुत्केरी गराउनेसम्म १ करोडको सम्झौता; युपी सीमामा मानव बेचबिखनको गिरोह

Headlines अपराध तथा सुरक्षा

गोरो सन्तान जन्माउने चाहना भएका भारतीयहरूलाई नेपाली युवतीहरू बेचबिखन भइरहेको सनसनीपूर्ण खुलासा भएको छ । ती युवतीहरूलाई उत्तर प्रदेशसँग जोडिएको नेपाल सीमा क्षेत्रबाट अवैध तरिकाले भारत पुर्याउने गरिएको खुल्न आएको छ । विवाह नगरी युवतीबाट सन्तान जन्माउनका लागि दलालहरूलाई १ करोड रुपैयाँसम्म तिर्ने गरिएको बताइएको छ । यसमध्ये युवतीले २० देखि २५ लाख रुपैयाँ पाउने गरेको खुल्न आएको छ ।

यो नयाँ प्रवृत्ति सन्तान नभएका र सन्तान चाहने भारतीय दम्पतीहरूमा देखिन थालेको छ । आइभीएफ (IVF) को सट्टा त्यस्ता दम्पतीहरूले नेपाली युवतीहरूबाट सन्तान जन्माइरहेका छन्।

यीमध्ये अधिकांश मामिलामा महिला गर्भवती हुन नसक्ने दम्पतीहरू सामेल छन् । आइभीएफ असफल हुन सक्ने र बच्चा कमजोर जन्मिने डर पनि उनीहरूमा देखिन्छ ।

दलालहरू मार्फत ठूलो रकम तिरेर युवतीहरूलाई नेपालबाट भारत पुर्याइन्छ । उनीहरूलाई त्यहाँ एकदेखि डेढ वर्षसम्म राखिन्छ । शारीरिक सम्बन्ध मार्फत उनीहरूलाई गर्भवती बनाइन्छ । बच्चा जन्मेपछि भने उनीहरूलाई पुनः नेपाल फिर्ता पठाइन्छ ।

भारतीय समाचार संस्था दैनिक भास्करले यो सन्सनिखेज पर्दाफास गरेको छ। सो संस्थाका पत्रकार सन्तान चाहिने दम्पतीका आफन्त बनेर नेपालमा युवती तस्करी गर्ने गिरोहसम्म पुगिन् । यो गिरोहले कसरी काम गर्छ? यसमा कस्ता युवतीहरू संलग्न छन्?
पढ्नुहोस् पूरा अनुसन्धान…

उत्तर प्रदेशसँग जोडिएको भारत-नेपाल सीमा नजिकैको एउटा स्रोतबाट दैनिक भास्करले नेपाली एजेन्ट सुष्मा थापाबारे जानकारी पाउछ , उनी सीमाबाट ३५ किलोमिटर भित्र नेपालको बुटवलमा थिइन् । सुष्मा नेपाली युवती आपूर्ति गर्ने गिरोहको एजेन्टको रूपमा काम गर्छिन्। भास्करका पत्रकारले उनलाई फोन गरेर एक धनी दम्पती रहेको बताउछिन् । उनीहरूको विवाह भएको आठ वर्ष भइसकेको तर श्रीमती गर्भवती हुन नसकेको कारण आफ्नो श्रीमानसँग शारीरिक सम्बन्ध राखेर गर्भवती भई बच्चा जन्माइदिने युवतीको खोजीमा भएको बताउछिन् ।

परिचय बदलेर गएका भारतीय दम्पतीले यस विषयमा सुष्मासँग पटक-पटक कुरा गरिन् । यो जेनुइन केस हो र कुनै धोकाधडीको सम्भावना छैन भन्नेमा विश्वस्त भएपछि सुष्मा कथित दम्पति संग भेट्न तयार भइन् ।

दैनिक भास्करका अन्डरकभर पत्रकारले नेपाली एजेन्ट संग गरेको कुराकानी:

सुष्मा: युवतीसँग को बस्छ?

रिपोर्टर: परिवारका सदस्यहरू उनीसँगै बस्नेछन्। हामीले पनि उनको हेरचाह गर्नुपर्नेछ।

सुष्मा: हो हजुर, त्यो त हो, किनकि उनलाई सिसाभन्दा पनि बढी जतन गरेर राख्नुपर्छ।

रिपोर्टर: के युवती शारीरिक सम्बन्ध राख्न तयार हुन्छिन्?

सुष्मा: पैसा पाएपछि त शारीरिक सम्बन्ध राखिहाल्छिन् नि, राख्दिनन् र? हेर्नुहोस् हजुर, मैले तपाईंलाई भनेकै थिएँ कि दुई वर्षअघि यस्तै केसमा मैले १ करोड रुपैयाँ लिएको थिएँ। युवती त्योभन्दा कममा मानिरहेकी थिइनन्। उनले भनिन्… “म जोखिम मोलिरहेकी छु। यसका कारण मेरो ज्यान पनि जान सक्छ।” मैले उनलाई केही हुँदैन भनेर आश्वस्त पारेकी थिएँ। उनको शल्यक्रिया (अपरेसन) भएको थियो।

रिपोर्टर: अहिले त धेरै सजिलो भइसकेको छ। राम्रोसँग हेरचाह गरियो भने कुनै समस्या हुँदैन।

सुष्मा: उनको यति राम्रो हेरचाह गरियो कि हजुर, पार्टीले उनलाई यति धेरै काजु-बदाम (ड्राई फ्रुट्स) र फलफूल खुवाए कि उनको तौल निकै बढ्यो। उनी त यताउता हिँडडुल गर्नै नसक्ने भइन्। जे भए पनि, अहिले उनको विवाह भइसकेको छ। मैले फेरि एक पटक सोही कामका लागि उनलाई सम्पर्क गरेकी थिएँ, तर उनले अस्वीकार गरिन्।

अब हामी यी युवतीहरू नेपालका कुन क्षेत्रबाट आउँछन् भन्ने जान्न चाहन्थ्यौं। दलालहरूले युवती पठाउन उनीहरूका परिवारलाई कसरी मनाउँछन्? के उनीहरूलाई लैजान कुनै कानुनी प्रक्रिया पूरा गर्नुपर्छ?

रिपोर्टर: के यी युवतीहरू पहाडी भेगबाट आउँछन्?

सुष्मा: पहाडका पनि हुन सक्छन्। पाल्पा वा पोखरा, वा अझ टाढाका पनि हुन सक्छन्।

रिपोर्टर: त्यसो भए उनीहरू पहाडी क्षेत्रका हुनेछन्। के हामी पहाडमै जानुपर्छ?

सुष्मा: पर्दैन हजुर, तपाईंले भन्नुभयो भने हामी उनीहरूलाई यतै बोलाइदिन्छौं।

रिपोर्टर: ठीक छ, तर कुनै धोकाधडी हुनुभएन।

सुष्मा: तपाईंले युवती मन पराएपछि कागजी काम (कागजपत्र) गरिनेछ। तपाईंले उनलाई लैजाने बेलामा पैसा दिनुहुनेछ।

रिपोर्टर: कागजी प्रक्रियामा के हुन्छ? ग्यारेन्टी त हुन्छ नि, हैन? के यसका लागि कुनै सरकारी अनुमतिको आवश्यकता पर्छ?

सुष्मा: हजुर, दुईवटा तरिका छन्। एउटा कागजी प्रक्रिया बिना, जहाँ केवल कुराकानी हुन्छ र आपसी सहमतिमा तपाईं युवतीलाई आफूसँग लैजानुहुन्छ। अर्को चाहिँ उचित सम्झौता (agreement), जसमा दुई परिवारबीच सम्झौता हुन्छ।

रिपोर्टर: पछि यसको दुरुपयोग त हुँदैन?

सुष्मा: हुँदैन हजुर, त्यो कागजपत्र हामी र तपाईंसँग मात्र रहनेछ। यसअघि हामीले एउटी युवतीलाई अमेरिका पठाएका थियौं। सम्झौतामा सबै कुरा स्पष्ट लेखिएको थियो। किनभने कहिलेकाहीँ कोही पागल मान्छे भेटिन्छन् जो पछि दाबी गर्न आउँछन्।

नेपालस्थित पूरै नेटवर्कभित्र भास्कर रिपोर्टरको प्रवेश
झन्डै एक महिनाको थप कुराकानीपछि समाचार संस्थाको टिमले सुष्मालाई उनीसँग एउटा ठूलो नेटवर्कले काम गरिरहेको कुरा स्वीकार गर्न लगायो । टिमले सुष्मालाई यसमा को-को संलग्न छन् भनी सोधे र सबैसँग भेट्नुपर्ने बताए ।  आफन्तहरू सम्झौता टुंग्याउन आउने भएकाले उनीहरूले सबैसँग भेट्नेछ बताए ।

सुरुमा सुष्मा तयार भइनन्। तर पछि उनले भाडा र यात्रा खर्चको नाममा केही रकम मागिन्। रकम पाएपछि उनले समाचार संस्थाको टिमलाई फेरि नेपाल बोलाइन्। उनले पोखराका दुई एजेन्ट दीपु र ओमसँग भेट गराइन्।

रिपोर्टर: युवतीले सीमा कसरी पार गर्छिन्? त्यहाँ त कडा जाँच हुन्छ।

दीपु: (महिला दलालतर्फ औंल्याउँदै) यिनीहरूले सीमा पार गराउनेछन्। सीमा पार गर्न कुनै समस्या हुनेछैन। सीमा पार गरेपछि उनी गाडीबाट तपाईंकहाँ पुग्नेछिन्। सबै कुरा टुंगिनुअघि हामी युवती चाहिने मानिसहरूलाई भेट्नेछौं।

रिपोर्टर: हुन्छ… हामी भेट्ने व्यवस्था मिलाउनेछौं।

दीपु: हेर्नुहोस्, तपाईंले यहाँबाट लगेर उनलाई बेच्ने काम हुनुहुँदैन। वा वेश्यावृत्तिमा लगाउने, वा उनलाई यातना दिने काम हुनुहुँदैन। कुनै समस्या आयो भने प्रहरीले हामीलाई पक्राउ गर्नेछ र मुद्दा चल्नेछ।

यो यस्तो केस हो कि यदि तपाईं भित्र जानुभयो भने बाहिर निस्कन गाह्रो हुन्छ। भारतमा जमानत पाइएला, तर नेपालमा पाइँदैन। हामीलाई पूर्ण सोधपुछ चाहिन्छ। हेर्नुहोस्, युवतीको बुबा हुनुहुन्न। उनकी आमा मात्र छिन्।

त्यसैले हामीले उनलाई पहिले घर देखाउनेछौं भन्यौं। उनी त्यहाँ बस्न सक्छिन् कि सक्दिनन् भनेर हेर्न पाउनेछिन्। त्यसपछि मात्र हामी पक्का गर्नेछौं।

रिपोर्टर: एकदमै, त्यो सही कुरा हो। भन्नुहोस् त, युवतीको मेडिकल रिपोर्ट पनि हुन्छ?

दीपु: चिन्ता नगर्नुहोस्, हामी मेडिकल जाँच गराइदिनेछौं।

तीन युवतीसँग भेट गराइयो, दलालहरूले भने- पैसाको बारेमा कुनै कुरा हुनेछैन

तीन जना एजेन्टलाई भेटेपछि समाचार संस्थाको टिमले बुझ्यो कि यी तीनै जनाले पैसाको प्रलोभन देखाएर नेपाली युवतीहरूलाई भारत पठाइरहेका थिए । उनीहरुले एजेन्टहरूलाई अब युवतीहरूलाई भेट्न चाहेको र उनीहरूलाई भ्रममा पारिएको छैन भनी यकिन गर्न चाहेको बताए ।

एजेन्टहरू सुरुमा तयार भएनन्। त्यसपछि उनीहरूले कुराकानीका क्रममा पैसाको लेनदेनबारे कुनै चर्चा नगर्ने सर्त राखे।

त्यसपछि उनीहरु युवतीहरूलाई भेट्न एजेन्टहरूले भनेको स्थानमा पुगे । साँझ करिब ७ बजेसम्म पर्खिएपछि एजेन्टहरूले नेपालको पहाडी भेगबाट आइरहेकी युवती पहिरोका कारण बाटोमै रोकिएको बताए। त्यसपछि उनीहरूले ती युवतीसँग भिडियो कल गराइदिए।

रिपोर्टर: तपाईं कहाँ बस्नुहुन्छ? तपाईंको विवाह भएको छ?

गीता: नेपालमा सिलीगुडी नजिकै… हजुर, मेरो विवाह भएको हो।

रिपोर्टर: यति हुँदाहुँदै पनि के तपाईं एक वर्ष बस्नुहुन्छ?

गीता: हजुर, मेरो सम्बन्धविच्छेद भइसकेको छ। म ३५ वर्षकी भएँ।

रिपोर्टर: परिवारमा अरू को-को हुनुहुन्छ?

गीता: मेरी आमा र मेरो २० वर्षको छोरा।

रिपोर्टर: उसलाई कुनै समस्या त हुँदैन नि?

गीता: नाइँ, उसलाई कुनै समस्या हुँदैन।

रिपोर्टर: परिवारमा अरू को हुनुहुन्छ?

गीता: मेरी आमा र तपाईंसँग भएका व्यक्ति मेरा ठूला दाइ हुन्। मेरो परिवार यत्ति हो।

रिपोर्टर: तपाईंको दाइले तपाईंलाई शारीरिक सम्बन्ध राख्नुपर्छ भनेर भन्नुभएको छ?

गीता: हजुर, मेरो दाइले मलाई भन्नुभएको छ।

रिपोर्टर: परिवारको कुनै सदस्य तपाईंसँग जानेछन्?

गीता: हजुर… मेरी बहिनी जानेछिन्।

भारतीय टीमले एजेन्टहरूलाई अरू केही युवतीहरूसँग पनि भेट गराउन भने । एजेन्टले  नेपालको पहाडी जिल्ला गुल्मीकी २० वर्षीया रुबी थापासँग भेट गराए ।

रिपोर्टर: परिवारमा को-को हुनुहुन्छ?

रुबी: भाइ, बुबा, आमा, बहिनी। गाउँमा सबैजना खेतीपाती गर्नुहुन्छ। म २० वर्षकी भएँ, अनि मेरा भाइ र बहिनीहरू साना छन् ।

रिपोर्टर: अहिले तपाईं के गर्दै हुनुहुन्छ?

रुबी: म एउटा कारखानामा सामान प्याक गर्छु।

रिपोर्टर: हामी किन भेटिरहेका छौं भन्ने तपाईंलाई थाहा छ?

रुबी: हजुर, मतलब, तपाईंलाई एउटी कम उमेरकी युवती चाहिएको छ, होइन र? मेरो केही स्वास्थ्य समस्या छ र म त्यति बलियो छैन ।

रिपोर्टर: तपाईंको राम्रोसँग हेरचाह गरिनेछ ।

रुबी: हुन्छ ।

रिपोर्टर: तपाईंले पहिले शारीरिक सम्बन्ध राख्नुभएको छ कि छैन?

रुबी: छैन ।

भोलिपल्ट, एजेन्ट सुष्माले फोन गरेर अर्की एक नेपाली युवतीलाई भेट्न भनिन्। ती युवतीको नाम रूपा थापा बताइएको थियो। यद्यपि, उनी साँझ ७ बजेसम्म पनि आइपुगिनन्। तानसेन र पाल्पा क्षेत्रमा पहिरो गएको जानकारी हामीलाई दिइयो।

यस नेटवर्कलाई अझ नजिकबाट बुझ्न हामीले एजेन्ट सुष्मासँग कुराकानी जारी राख्यौं ।

रिपोर्टर: के सीमा क्षेत्रमा यस्तो भइरहन्छ?

सुष्मा: हजुर । हामीले यसअघि पाँच पटक युवतीहरू पठाइसकेका छौं ।

रिपोर्टर: तपाईं एक्लै काम गर्नुहुन्छ कि अरू मानिसहरू पनि संलग्न छन्?

सुष्मा: अरू मानिसहरू पनि संलग्न छन् ।

रिपोर्टर: आइभीएफ (IVF) का मानिसहरू पनि जोडिएका होलान् नि, हैन? यस्ता केसहरू उनीहरूले नै ल्याउने हुनुपर्छ ।

सुष्मा: आइभीएफका मानिसहरूले यहाँ आफैं केसहरू लिन्छन् । हामी उनीहरूसँग काम गर्दैनौं किनभने हामीले उनीहरूबाट कुनै पैसा पाउँदैनौं ।

युवतीहरूले पाउँछन् रकमको २० देखि २५ प्रतिशत मात्र

पैसाको लोभ देखाएर नेपालका विपन्न महिलाहरूलाई यस नेटवर्कमा तानिन्छ। एजेन्टहरूले पाएको कुल रकमको २० देखि २५ प्रतिशत ती महिलाहरूलाई दिन्छन् र बाँकी आफूसँगै राख्छन् । यस नेटवर्कमा धेरै मानिसहरू संलग्न हुन्छन् र उनीहरूले बाँकी रहेको ७५ देखि ८० लाख रुपैयाँ आपसमा बाँड्छन् ।

महिलाहरू यसकारण सहमत हुन्छन् किनकि २० देखि २५ लाख रुपैयाँ उनीहरूका लागि ठूलो रकम हो, र दलालहरू उनीहरूकै चिनजानका मानिस हुन्छन् । अरू कसैको घरमा एक वर्षदेखि १८ महिनासम्म बस्नका लागि विश्वासको आवश्यकता पर्छ, जुन विश्वास ती दलालहरूले दिलाउँछन् ।

नेपाली महिला नै किन?

महिला अर्को देशको हुने भएकाले पछि बच्चा हुर्किएपछि जैविक आमा (biological mother) ले दाबी गर्ने सम्भावना निकै कम हुन्छ भन्ने सोचाइ राखिन्छ ।

कतिपय मानिसहरू यस्तो व्यवस्थाले सामाजिक सुरक्षा कायम राख्न मद्दत गर्छ भन्ने विश्वास गर्छन् । यद्यपि, यदि कुनै नेपाली महिलाले दुर्व्यवहार वा हिंसाको आरोप लगाउँदै उजुरी दिएमा मानव बेचबिखनको मुद्दा दर्ता हुन सक्छ ।

(भारतीय समाचार संस्था दैनिक भास्करको रिपोर्टमा आधारित )