संविधान जनताको अधिकार संस्थागत गर्ने युगान्तकारी दस्तावेज हो : प्रचण्ड

Headlines राजनीति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधान २०७२ कुनै औपचारिक कानुनी दस्तावेज मात्र नभएको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपालको संविधान २०७२ कुनै औपचारिक कानुनी दस्तावेज मात्र नभई युगान्तकारी परिवर्तनलाई संस्थागत गर्ने ऐतिहासिक दस्तावेज भएको बताए ।

उनले भने, ‘नेपालको संविधान २०७२ कुनै एउटा औपचारिक कानुनी दस्तावेज मात्रै होइन । यो युगान्तकारी परिवर्तनलाई संस्थागत गर्ने एउटा ऐतिहासिक सङ्कल्प पनि हो, ऐतिहासिक दस्तावेज पनि हो । पहिलो पटक यो संविधानले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न तुल्याएको छ ।’

उनले संविधानलाई नेपाली जनताको दशकौँ लामो संघर्ष, जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायत विभिन्न आन्दोलन, त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको बताए ।

संविधान निर्माणका क्रममा भएका जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत न्यायपूर्ण आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा संस्थागत गर्दै सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको उल्लेख गरे । संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु अहिलेको मुख्य दायित्व भएको बताए ।

राजनीतिक परिवर्तनलाई आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने उनले बताए । संविधानका अक्षर मात्र नभई यसको आत्मा जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्ने बताए ।