राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउँदै

Headlines अर्थ बैंक/वित्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउँदैछ। नयाँ नोट बजारमा ल्याउने क्रममा राष्ट्र बैंकले यसअघि प्रचलनमा ल्याइएको ५० रुपैयाँ दरको नोटका सबै सङ्केत नम्बर बजारमा नआएको तथ्यसमेत सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार २०८२ साल लेखिएको नयाँ ५० रुपैयाँको नोट असोज २ गतेदेखि चलनचल्तीमा आउनेछ। साविककै आकार र रङमा ल्याउन लागिएको नयाँ नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ।

नयाँ नोटको अग्रभागमा सगरमाथाको चित्र र लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापमा ५० रुपैयाँको अङ्कसमेत रहनेछ। नोटको पृष्ठभागमा भने हिउँ चितुवाको चित्र राखिएको छ।

नोटमा १.२ मिलिमिटर चौडा सुरक्षण धागो राखिएको छ। प्रकाशतर्फ हेर्दा पूर्ण रूपमा देखिने उक्त धागोमा ‘एनआरबी’ लेखिएको राष्ट्र बैंकले जनाएको छ।

नयाँ नोटको सिरिजमा नेपालीतर्फ ‘वि.सं. २०८२’ र अंग्रेजीतर्फ ‘२०२५ एडी’ उल्लेख गरिएको छ। नयाँ नोटको सङ्केत नम्बर २४ ०००००१ देखि ७० ९९९९९९ सम्म रहनेछ।

राष्ट्र बैंकले नयाँ नोटको विवरण सार्वजनिक गर्दै यसअघि २०७७ असार २२ गतेदेखि चलनचल्तीमा ल्याउने भनिएको ५० रुपैयाँ दरको २०१९ सिरिजका सबै नोट भने बजारमा नआएको स्पष्ट पारेको छ।

यसको अर्थ २०१९ सिरिजअन्तर्गत सूचना प्रकाशित गरिएअनुसारको सम्पूर्ण सङ्केत नम्बरका नोट बजारमा नआएको हो। राष्ट्र बैंकले यसपटक नयाँ सिरिज सार्वजनिक गर्ने क्रममा पुरानो सिरिजको वास्तविक प्रचलनसम्बन्धी विवरणसमेत स्पष्ट पारेको हो।

नयाँ नोटको अग्रभागमा राष्ट्र बैंकको प्रतिज्ञामूलक वाक्यांश, सगरमाथा र लालीगुराँस तथा पृष्ठभागमा हिउँ चितुवाको चित्र राखिएको छ।

राष्ट्र बैंकले बैंकनोट राष्ट्रको सम्पत्ति भएकाले यसको जतन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।