कर्णाली प्रादेशिक अस्पतालमा तत्काल विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न सांसद खड्काको माग

राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रादेशिक अस्पतालमा तत्काल विशेषज्ञ चिकित्सकहरूको दरबन्दी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खड्काले कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको चरम अभावका कारण बिरामीहरू उपचारबाट वञ्चित हुनुपरेको बताएका हुन् ।

सांसद खड्काले अस्पतालमा क्याथ ल्याब मेसिन जडान गरिएको दुई वर्ष बितिसक्दा समेत कार्डियोलोजिस्ट (मुटुरोग विशेषज्ञ) नरहेको भन्दै ध्यानाकर्षण गराए । यसैगरी, अस्पतालमा हाल युरोलोजिस्ट र न्युरोलोजिस्ट डाक्टरको समेत अभाव रहेको उनले जानकारी दिए ।

भौगोलिक विकटता र सडक संरचनाको अभावका कारण कर्णाली प्रदेशमा सडक दुर्घटनाहरू धेरै हुने गरेको चर्चा गर्दै उनले भने, ‘विभिन्न हिमाली क्षेत्रबाट बिरामीहरू एयरलिफ्ट गरेर समेत सुर्खेत ल्याइन्छ। तर, टाउको र स्पाइनलको समस्या भएका अधिकांश (करिब ९० प्रतिशत) बिरामीलाई न्युरो डाक्टर नहुँदा लुम्बिनी प्रादेशिक अस्पताल वा काठमाडौं रिफर गर्नुपर्ने बाध्यता छ ।’

दुर्गम भूगोल, गरिबी र अशिक्षाका बीच टाढा रिफर गरिएका विपन्न नागरिकले समयमै उपचार नपाउने अवस्था रहेको उल्लेख गर्दै उनले अस्पतालमा तत्काल न्युरोलोजिस्ट, युरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरे ।

यसैगरी, सांसद खड्काले कर्णाली प्रादेशिक अस्पतालमा रहेका डायलासिस मेसिनहरू समय–समयमा बिग्रने गरेकाले बिरामीले सास्ती पाइरहेको भन्दै उक्त समस्या तत्काल समाधान गरी नियमित सेवा प्रवाह मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराए ।