भदौभित्र सडक सञ्चालनमा ल्याउने प्रधानमन्त्रीको घोषणा पूरा; ३५ मिटर उचाइसम्म पहाड काटेर २५० मिटर नयाँ ट्र्याक खोलियो

Headlines पूर्वाधार तथा विकास निर्माण

काठमाडौँ — पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक भदौभित्र सञ्चालनमा ल्याउने प्रधानमन्त्री वालेन्द्र शाहको घोषणा पूरा भएको छ। बाढीले सडक अवरुद्ध भएपछि पहाड काटेर नयाँ ट्र्याक खोल्ने काम १० दिनमै सम्पन्न गरिएको हो।

पूर्वाधार विकास मन्त्रालयका अनुसार भदौ १९ गतेदेखि रुख कटान सुरु गरेर कृष्णभीरमा करिब २५० मिटर लामो नयाँ ट्र्याक निर्माण गरिएको हो। नयाँ ट्र्याकका लागि पहाडमा ३५ मिटर उचाइसम्म र करिब २० मिटर भित्रसम्म खनिएको छ।

नयाँ ट्र्याकबाट भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सञ्चालन भइसकेको मन्त्रालयले जनाएको छ। ग्यास बुलेटसहित केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालनमा आएका छन्। बिहान र बेलुका अत्यावश्यक सवारीसाधनलाई आवतजावत गर्न दिइएको छ।

अब असोज १ गते बिहीबार बिहानदेखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। अहिले नयाँ ट्र्याकमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने र सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ। ग्राभेलको काम भोलिसम्म पूरा गर्ने मन्त्रालयको तयारी छ।

गत भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्‍याएको थियो। त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले सुरक्षा पर्खाल भत्काएपछि सडकमा पूर्ण रूपमा यातायात अवरुद्ध भएको थियो।

सडक अवरुद्ध भएपछि पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकसँगको सहकार्यमा चार दिनसम्म द्रुत अध्ययन गरेको थियो। अध्ययनपछि कृष्णभीरको पहाड काटेर नयाँ ट्र्याक खोल्नु तत्कालका लागि उपयुक्त विकल्प हुने विज्ञहरूले सुझाव दिएका थिए।

विज्ञहरूको सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटान सुरु गरी नयाँ ट्र्याक निर्माण अघि बढाइएको थियो। प्राविधिकसहित करिब ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म काम गरेपछि १० दिनमै ट्र्याक खोल्न सम्भव भएको मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री शाहले भदौ १७ गते प्रतिनिधिसभामा बाढीपछिको खोज, उद्धार, उपचार र राहत व्यवस्थापनबारे जानकारी दिँदै कृष्णभीरमा अवरुद्ध सडक भदौभित्रै सञ्चालनमा ल्याउने घोषणा गरेका थिए।

प्रधानमन्त्रीको घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा काम अघि बढाइएको हो। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि कामको निरन्तर अनुगमनमा खटिएको मन्त्रालयले जनाएको छ।

नयाँ ट्र्याक सञ्चालनमा आएपछि नागढुंगा–मुग्लिन सडकखण्डमा अत्यावश्यक वस्तुको ढुवानी तथा यात्रुवाहक सवारीसाधनको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। तर नयाँ ट्र्याक तत्कालका लागि वैकल्पिक तथा अस्थायी व्यवस्थाका रूपमा प्रयोग गरिने भएकाले सडकलाई थप सुरक्षित र मजबुत बनाउने काम पनि सँगसँगै अघि बढाइने मन्त्रालयले जनाएको छ।