काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन्। राष्ट्रिय बाल दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाउन सके मात्रै समृद्ध भविष्य निर्माण गर्न सकिने बताएका हुन्।
प्रधानमन्त्री शाहले देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकाको सुख, समृद्धि, सुस्वास्थ्य, सफलता, बालमैत्री वातावरण र उत्कृष्ट भविष्यको कामना गरेका छन्।
उनले बालअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चारजगत् तथा सम्पूर्ण सरोकारवालाप्रति सम्मान व्यक्त गरेका छन्।
यस वर्ष ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले यो नाराले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने तथ्यलाई जोड दिएको बताएका छन्।
नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ अनुमोदन गरी बालबालिकाको अधिकार संरक्षणप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ। भेदभावरहित व्यवहार, बालबालिकाको सर्वोत्तम हित, जीवन, बाँच्न र विकास पाउने अधिकार तथा आफ्नो विचार व्यक्त गर्ने अधिकार महासन्धिका प्रमुख आधार हुन्।
यी अधिकारलाई नेपालको संविधानको धारा ३९ मा बालबालिकाको मौलिक हकका रूपमा व्यवस्था गरिएको छ। राष्ट्रिय बालबालिका नीति, २०८० र बालबालिकासम्बन्धी ऐन, २०७५ ले पनि बालअधिकारलाई कानुनी रूपमा सुनिश्चित गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
अबको मुख्य प्राथमिकता संविधान र कानुनले सुनिश्चित गरेका अधिकारलाई प्रत्येक बालबालिकाले आफ्नो दैनिक जीवनमा अनुभूति गर्न सक्ने अवस्था बनाउनु रहेको उनको भनाइ छ।
त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र जिम्मेवारी आवश्यक रहेको प्रधानमन्त्री शाहले बताएका छन्। उनका अनुसार सङ्घले राष्ट्रिय नीति, कानुनी र संस्थागत आधार बलियो बनाउनुपर्नेछ भने प्रदेशले समन्वय र सेवाको विस्तारमा भूमिका खेल्नुपर्नेछ।
स्थानीय तहले भने बालबालिकाको सबैभन्दा नजिकको सरकारका रूपमा उनीहरूको जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माणमा प्रभावकारी भूमिका खेल्नुपर्ने उनले बताएका छन्।
प्रधानमन्त्री शाहले तीनै तहका सरकारका प्रयासलाई एउटै परिणाममुखी दिशामा जोड्न सके बालअधिकारको प्रभावकारी कार्यान्वयनसँगै बालबालिकाको सुरक्षित र उज्ज्वल भविष्य सुनिश्चित गर्न सकिने बताएका छन्।


