आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

Headlines समाचार समाज

काठमाडौँ, २६ भदौ — वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन्। भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउने, जीवित बाबुलाई सम्मान गर्ने तथा दिवङ्गत बाबुको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गर्ने परम्परा छ।

कुशेऔँसीलाई ‘बाबुको मुख हेर्ने दिन’का रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाएर आदर र सम्मान प्रकट गर्ने तथा बाबुको आशीर्वाद लिने चलन छ। बाबु दिवङ्गत भइसकेकाले विभिन्न तीर्थस्थलमा पुगेर उनका नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन्।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणले पूजा गरेर उखेली जजमानको घरमा पुर्‍याएको कुश घरमा राख्ने चलन छ। यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने मान्यता छ भने अन्य दिन उखेलिएको कुश त्यसै दिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्रा. डा. देवमणि भट्टराईले बताएका छन्।

सनातन धर्मावलम्बीले कुशसँगै तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन्। धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीको सृष्टिसँगै पवित्र कुश पनि उत्पन्न गरेका थिए। वर्षभरि हुने देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने भएकाले कुशलाई वैदिक संस्कारमा महत्वपूर्ण वनस्पतिका रूपमा लिइन्छ।

पितृसम्मानको दिन

कुशेऔँसीलाई पितृसम्मानको दिनका रूपमा पनि लिइन्छ। ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार जीवित बाबुलाई श्रद्धापूर्वक भोजन गराएर आशीर्वाद लिने परम्परा छ।

बाबु परलोक भइसकेकाहरूले भने गोकर्णलगायतका तीर्थस्थलमा पुगेर तर्पण, पिण्डदान र सिदादान गर्ने गर्छन्। धार्मिक मान्यताअनुसार यस दिन पितृका नाममा गरिने तर्पण तथा दानबाट पुण्य प्राप्त हुने विश्वास छ।

गोकर्णमा विशेष मेला

कुशेऔँसीका अवसरमा काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्छ। गोकर्णलाई ‘उत्तरगया’का रूपमा समेत चिनिन्छ। त्यसैले यस दिनको औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ।

गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्न भक्तजनको भीड लाग्ने गर्छ। मेलाका लागि आवश्यक तयारी पूरा गरिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष तथा मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले बताएका छन्।

यसैगरी रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि कुशेऔँसीका अवसरमा मेला लाग्ने गर्छ। बाबु दिवङ्गत भएकाहरू वेत्रावती पुगेर तर्पण, सिदादान तथा पिण्डदान गर्ने गर्छन्। तर यस वर्ष भोटेकोशी बाढीका कारण वेत्रावतीमा मेला सञ्चालन हुने वा नहुने विषय भने निश्चित भएको छैन।

कुशबिना वैदिक कर्मकाण्ड अधुरो

हिन्दू वैदिक परम्परामा कुशलाई अत्यन्त पवित्र मानिन्छ। शुभकार्यदेखि पितृकार्यसम्म विभिन्न धार्मिक कर्मकाण्डमा कुशको प्रयोग अनिवार्यजस्तै मानिन्छ।

धार्मिक परम्पराअनुसार कर्मकाण्ड गर्ने व्यक्तिले कुशको औँठी लगाउने गर्छन्। जलमा डुबाइएको कुशका टुक्रा, जौ र तिल हातमा लिएर सङ्कल्प गरेपछि मात्र मुख्य धार्मिक कार्य सुरु गर्ने चलन छ।

कुशलाई धार्मिक कार्यमा पवित्रताको प्रतीकका रूपमा समेत प्रयोग गरिन्छ। यसै कारण वर्षभरिका देवकार्य र पितृकार्यमा प्रयोग गर्न आजकै दिन विधिपूर्वक कुश सङ्कलन गरेर घरमा राख्ने गरिन्छ।

मिथिलामा ‘कुशअमबसीया’

मधेसको प्राचीन मिथिला क्षेत्रमा भने कुशेऔँसीलाई ‘कुशअमबसीया’ पर्वका रूपमा मनाइन्छ। चन्द्रमासअनुसार भदौको औँसीका दिन मनाइने यस पर्वमा मैथिल समुदायले वैदिक विधिअनुसार कुश सङ्ग्रह गरेर घरमा राख्ने गर्छन्।

हिन्दू मैथिल परम्परामा भदौ औँसीलाई ‘कुशअमबसीया’ भनिन्छ। यस दिन वैदिक मन्त्रोच्चारणसहित धार्मिक विधि पूरा गरेर पवित्र मानिएको कुश सङ्ग्रह गर्ने चलन छ। यसरी सङ्ग्रह गरिएको कुश वर्षभरि पितृकार्य तथा शुभकार्यमा प्रयोग गरिन्छ।

मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित दिनेशकुमार झाका अनुसार कुशबिना सामान्यतः हिन्दू परम्पराका धार्मिक कार्य सम्पन्न गर्ने कल्पना गरिँदैन। वैदिक कर्मकाण्डमा कुशको प्रयोग अत्यन्त महत्वपूर्ण रहेको उनले बताएका छन्।

मिथिलामा अन्य क्षेत्रको भन्दा केही फरक परम्परा छ। यहाँ पुरोहितले यजमानको घरमा शास्त्रोक्त विधिबाट उखालेको कुशको मुठा ल्याएर घरको दलिनमा सिउरिनेभन्दा घरका मुख्य पुरुषले आफैँ ब्रह्ममुहूर्तमा कुश उखालेर पवित्र ढङ्गले घरमा राख्ने चलन छ।

कुश उखेल्दा पनि विशेष मन्त्रोच्चारण गर्ने परम्परा रहेको छ। विधिपूर्वक सङ्कलन गरिएको कुशलाई धार्मिक कर्मकाण्डका लागि पवित्र मानिन्छ।

मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार हिन्दू वैदिक परम्परामा शुभकार्य, पितृकार्य तथा त्यसको सङ्कल्पमा कुशको प्रयोगलाई महत्वपूर्ण मानिएको छ। मिथिलामा उक्त मठका मठाधीशलाई सांस्कृतिक तथा धार्मिक प्रतिनिधिका रूपमा मान्ने परम्परा पनि रहेको छ।

घर र परिवारको रक्षाको विश्वास

मैथिल परम्परामा कुशअमबसीयाका दिन सङ्कलन गरेर घरमा राखिएको कुशको मुठालाई विघ्ननाशक र कल्याणदायक मानिन्छ। शास्त्रीय मान्यताअनुसार विधिपूर्वक घरमा राखिएको कुशले घर, भौतिक सम्पत्ति र परिवारको रक्षा गर्ने विश्वास छ।

यस दिन मिथिलाका विभिन्न स्थानमा दिवङ्गत पितृका नाममा तर्पण दिने परम्परा पनि छ। यसरी कुशेऔँसी धार्मिक संस्कारसँगै बाबुप्रति सम्मान र दिवङ्गत पितृप्रति श्रद्धा व्यक्त गर्ने दिनका रूपमा मनाइँदै आएको छ।

नेपालका विभिन्न समुदायमा मनाउने विधि र परम्परा फरक भए पनि कुशेऔँसीले बाबुप्रति सम्मान, पितृप्रति श्रद्धा र परिवार तथा संस्कारप्रतिको सम्बन्धलाई जोड्ने साझा सांस्कृतिक महत्व बोकेको छ।