बाढीले भत्कायो निजी क्षेत्रको आपूर्ति शृङ्खला, विश्व बैंकले माग्यो वास्तविक तथ्यांक

Headlines अर्थ समाचार

काठमाडौँ — रसुवागढी व्यापारिक करिडोरमा आएको अवरोधले चीनसँगको व्यापार मात्र नभई देशभरको आपूर्ति व्यवस्थामै असर पार्न सक्ने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गानिउ मिजियावासँगको भेटमा बाढीपछि निजी क्षेत्रले भोगिरहेको समस्या र आपूर्ति व्यवस्थामा परेको असरबारे जानकारी गराएका हुन्।

महासंघ सचिवालय टेकुमा भएको भेटमा श्रेष्ठले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा बाढीले जलविद्युत् आयोजना, प्रसारण पूर्वाधार, सडक, पुल, घर तथा व्यावसायिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको बताए।

उनका अनुसार भौतिक संरचनाको क्षतिसँगै यातायात, विद्युत्, बजार पहुँच, आपूर्ति शृङ्खला र व्यापारमा आएको अवरोध निजी क्षेत्रका लागि ठूलो चुनौती बनेको छ। विशेषगरी रसुवागढी नाका प्रभावित हुँदा आयातकर्ता, व्यापारी, ढुवानी व्यवसायी र उपभोक्तासमेत प्रभावित हुन सक्ने उनले बताए।

सरकारको प्रारम्भिक मूल्याङ्कनअनुसार बाढीबाट करिब ३८७.५ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति तथा नोक्सानी भएको श्रेष्ठले जानकारी दिए। निजी क्षेत्रतर्फको वास्तविक क्षतिको विवरण भने अझै संकलन भइरहेको उनले बताए।

विश्व बैंकका अर्थशास्त्री मिजियावाले निजी क्षेत्रमा परेको वास्तविक क्षति, उद्योग–व्यवसाय सञ्चालनमा आएको अवरोध, आपूर्ति शृङ्खला, यातायात तथा व्यापारमा परेको असरबारे जानकारी लिएका थिए।

उनले बाढीको प्रत्यक्ष र अप्रत्यक्ष आर्थिक प्रभावबारे निष्कर्षमा पुग्न थप तथ्यांक आवश्यक रहेको बताए। उद्योग, पर्यटन तथा साना तथा मझौला उद्यममा परेको असर र पुनःस्थापनाको अवस्थाबारे पनि विश्व बैंकले चासो राखेको थियो।

भेटमा ‘नेपाल विकास अपडेट–२०२६’ का विषयमा पनि छलफल भएको थियो। श्रेष्ठले बाढीको प्रभाव अध्ययन गर्दा भौतिक क्षतिसँगै उत्पादन, रोजगारी, आम्दानी, व्यापार, लगानी, ऋण र निजी क्षेत्रको व्यावसायिक मनोबलमा परेको असरसमेत समेट्न आग्रह गरे।