जेनजी आन्दोलनको एक वर्ष : दलका युवा नेताहरूको नजरमा के बदलियो ?

Headlines विचार /दृष्टिकोण

काठमाडौं । एक वर्षअघि सडकमा उत्रिएको जेनजी पुस्ताले केवल सरकार परिवर्तनको माग गरेको थिएन । उनीहरूको असन्तुष्टि व्यवस्थाप्रतिको निराशा, राजनीतिक नेतृत्वप्रतिको अविश्वास, भ्रष्टाचार, नातावाद, अवसरको अभाव र भविष्यप्रतिको अन्योल जस्ता विषयमा थिए ।

जेनजी पुस्ताको आक्रोश सडकमा पोखियो, आन्दोलन चर्कियो । धेरैले ज्यान गुमाए । राज्यका संरचना र निजी सम्पत्तिमा ठूलो क्षति भयो । त्यसपछि राजनीतिको पुरानो समीकरण हल्लियो र नयाँ शक्तिले सत्ताको नेतृत्व सम्हाल्यो ।

तर एक वर्षपछि प्रश्न उही ठाउँमा आइपुगेको छ–जेनजीले खोजेको परिवर्तनका संकेतहरु देखिएका छन त ? पुराना राजनीतिक दलमा रहेका युवा नेताहरू भने यसको जवाफ एउटै शब्दमा दिन सक्दैनन् ।

उनीहरूको दृष्टिमा आन्दोलनले राजनीतिक चेतना बढाएको छ, पुराना नेतृत्वलाई चुनौती दिएको छ र पुस्तान्तरणको बहसलाई अगाडि ल्याएको छ । तर आन्दोलनले उठाएका मूल प्रश्नको समाधान अझै हुन सकेको छैन ।

नेकपा एमालेका युवा नेता पेम्बा गुरुङका अनुसार जेनजी आन्दोलनको अर्थ केवल नयाँ सरकार आउनु होइन । उनी वर्तमान सरकारलाई विगतका राजनीतिक दल र सरकारका कमजोरीमाथि प्रश्न उठाएर आएको सरकारका रूपमा हेर्छन् ।

त्यसैले अहिलेको सरकारमाथि जनताको अपेक्षा पनि त्यही अनुपातमा रहेको उनको बुझाइ छ ।

उनले भने, ‘विगतको कमी–कमजोरीलाई टेकेर नयाँ सरकार आएको हो। त्यसकारण विगतको कमी–कमजोरीबाट पाठ सिकेर जनताको दैनिकीमा राम्रोसँग काम गर्नुपर्छ । पाँच वर्षको कार्यकालमा एक वर्ष पनि भएको छैन। तर ‘मर्निङ शोज द डे’ भन्या जस्तै यो सङ्केत राम्रो देखिरहेको छैन।’

गुरुङका लागि सरकारको मूल्याङ्कन भाषण वा राजनीतिक नाराले होइन, नागरिकको दैनिक जीवनमा आएको परिवर्तनले हुनुपर्छ ।

नेतृत्व फेरियो, सोच फेरिएन

जेनजी आन्दोलनले पुराना दललाई पनि आफ्नो राजनीतिक शैली र नेतृत्वबारे सोच्न बाध्य बनायो ।

नेपाली कम्युनिष्ट पार्टीका विद्यार्थी नेता महेश श्रेष्ठका अनुसार आन्दोलनको मूल उद्देश्य केवल पुरानो नेतृत्व हटाएर नयाँ अनुहार ल्याउनु थिएन । सुशासन र भ्रष्टाचार नियन्त्रण आन्दोलनका मुख्य एजेन्डा थिए । तर एक वर्षपछि ती मुद्दा अझै सम्बोधन हुन नसकेको उनको मूल्याङ्कन छ ।

‘यो एक वर्षमा जेनजी आन्दोलनले जे चाहेको थियो, त्यो पूरा हुन सकेको छैन। एउटा नेतृत्व परिवर्तन मात्रै जेनजी आन्दोलनको उद्देश्य थिएन । सुशासन कायम गर्ने, भ्रष्टाचारको निवारण गर्ने मुख्य एजेन्डा थिए । त्यो एजेन्डामा हामी पुग्न सकेका छैनौँ ।’

श्रेष्ठको नजरमा अर्को ठूलो प्रश्न युवाको भविष्यसँग जोडिएको छ । आन्दोलनको समयमा रोजगारी र विदेश पलायन पनि बहसको केन्द्रमा थियो । तर परिस्थितिमा अपेक्षित सुधार नआएको उनको भनाइ छ ।

‘रोजगार कायम गर्नुपर्ने सन्दर्भमा रोजगार कायम गर्न सकेको छैन । झनझन दिनप्रतिदिन युवाहरू वैदेशिक रोजगारमा पलायन भइरहेको स्थिति छ । त्यसका योजनाहरू बनाउन सकिरहेको छैन सरकारले अहिले,’ उनले भने । यही कारण उनका लागि जेनजी आन्दोलनपछि आएको परिवर्तन अधुरो छ ।

पूराना दलभित्रको पुस्तान्तरण

तर आन्दोलनको प्रभाव बाहिर मात्र परेको छैन । पुराना राजनीतिक दलका संगठनभित्र पनि त्यसको कम्पन पुगेको छ । युवाको प्रतिनिधित्व बढाउने, पुरानो नेतृत्वलाई प्रश्न गर्ने र नेतृत्व हस्तान्तरणको बहस अघि बढाउने वातावरण बनेको श्रेष्ठ बताउँछन् । तर उनी उमेर मात्रै नेतृत्व परिवर्तनको आधार हुन नसक्ने पनि स्वीकार्छन् ।

उनले भने, ‘हामीले अहिले के पनि भनिरहेका छौँ भने पार्टीको राष्ट्रिय महाधिवेशनबाट अहिलेको मूल नेतृत्वलाई ससम्मान बिदा गरेर अब युवा नेतृत्व नै ल्याउनुपर्छ । यद्यपि, नेतृत्व परिवर्तन गर्दाखेरि उमेरको फ्याक्टर मात्रै होइन, विचार र नेतृत्व गर्न सक्ने क्षमताको फ्याक्टर पनि हुन्छ ।’

यसले जेनजी आन्दोलनले उठाएको पुस्तान्तरणको बहसलाई अर्को प्रश्नतर्फ लैजान्छ—युवा हुनु मात्रै पर्याप्त हो कि सक्षम नेतृत्वका लागि अनुभव, दृष्टिकोण र इच्छाशक्ति पनि चाहिन्छ ?

श्रेष्ठको अनुभवमा नयाँ पुस्ताका केही नेता राजनीतिको मूल जिम्मेवारी सम्हाल्ने ठाउँमा पुगे पनि त्यसअनुसारको तयारी र अनुभव देखिएको छैन ।

उनले भने, ‘उहाँहरू एकैचोटि राजनीतिमा आउनुभयो, चुनाव जित्नुभयो, मन्त्री बन्नुभयो, सांसद बन्नुभयो । जनताको लागि के काम गर्नुपर्छ भन्ने अनुभव पनि छैन। दोस्रो कुरा, उहाँहरूको इच्छाशक्ति पनि त्यसमा देखिएको छैन।’

आन्दोलनप्रति पुराना दलको अपनत्व

नेपाली कांग्रेसका युवा नेता प्रकाश रसाइली ‘स्नेही’ भने जेनजी आन्दोलनलाई दुई फरक घटनाक्रमबाट हेर्नुपर्ने बताउँछन् । उनका अनुसार आन्दोलनको पहिलो दिन राज्यको कमजोरीका कारण युवाले ज्यान गुमाउनुपरेको थियो भने दोस्रो दिन आन्दोलन हिंसात्मक र विध्वंसात्मक बनेको थियो ।

उनले भने, ‘जेनजी आन्दोलनलाई दुईवटा पार्टबाट नजिकबाट नियालेर हेर्नुपर्छ—२३ गतेको जेनजी आन्दोलन र २४ गतेको जेनजी आन्दोलन । २३ गते अनाहक रूपमा धेरै युवाहरूको निर्मम ढङ्गले ज्यान गुमाउनुपर्यो । तर २४ गते देशभर सिंहदरबारदेखि पशुपतिनाथ मन्दिर, सर्वोच्च अदालत, व्यापारिक प्रतिष्ठान र राष्ट्रिय सम्पत्ति जलाउने काम भयो ।’

तर आन्दोलनले उठाएका सवाललाई अस्वीकार गर्ने पक्षमा उनी छैनन् । लामो समयदेखि राजनीतिक दल र नेताप्रति बढ्दै गएको जनआक्रोश नै आन्दोलनको एउटा आधार भएको उनको बुझाइ छ ।

‘नेपालका राजनीतिक दलहरू सत्ताका निम्ति जे पनि गर्ने, निर्वाचनमा फरक दृष्टिकोण र सिद्धान्त नमिलेसम्म सम्झौता गर्ने, निर्वाचनपछि फेरि सत्ताका निम्ति अर्कोसँग सम्झौता गर्ने अवस्थाबाट नेपाली जनता आक्रान्त भएका थिए। त्यसको कारणले जेनजी आन्दोलन भयो,’ उनले भने ।

जेनजी आन्दोलन सडकमा एक दिनमा जन्मिएको असन्तुष्टि थिएन । त्यसको पछाडि लामो समयदेखि थुप्रिँदै गएको निराशा थियो।

नयाँ सरकारमाथि पुरानै प्रश्न

जेनजी आन्दोलनको स्वामित्व लिँदै सत्तामा पुगेको नयाँ राजनीतिक शक्तिले पनि जनताको अपेक्षा पूरा गर्न नसकेको रसाइलीको आरोप छ ।

उनका अनुसार सुशासनदेखि सार्वजनिक सेवा प्रवाहसम्म सरकार कमजोर देखिएको छ ।

‘जेनजी आन्दोलनको भावनाको कदर अहिले राज्यले गर्न सकिरहेको छैन। जनताको बीचमा मात्र होइन, जनताको भावना अनुसार पनि काम गर्न सकिरहेको छैन। सरकार पूर्ण रूपमा असफलताको बाटोमा हिँडिरहेको छ,’ उनले भने ।

उनले नयाँ नेतृत्वमा देखिएको अपरिपक्वतामाथि समेत प्रश्न उठाएका छन् ।

उनले भने, ‘हिजोका दलहरूमा कमजोरी थिए, कमजोरीका कारण आन्दोलन भयो। त्यो आन्दोलनको स्वामित्व र समर्थन गर्नुमा दुई मत भएन। तर हिजोका सरकारभन्दा पनि यो सरकारमा ठूलो अपरिपक्वता देखियो। पुराना नेताहरूलाई पतन हुन ३५ वर्ष लाग्यो, यिनीहरूको अपरिपक्वता ३५ दिनमै देखियो।’

‘मान्छे मात्रै फेरिए’

माओवादीका युवा नेता तथा जेनजी आन्दोलनका अभियन्ता अटल शर्मा भने आन्दोलनलाई अझ फराकिलो कोणबाट हेर्छन् ।

उनका लागि जेनजी आन्दोलन पुरानो राजनीतिक प्रणालीको असफलताको परिणाम थियो ।

भ्रष्टाचार, बेथिति, नातावाद र कुशासनप्रति जम्मा भएको आक्रोशले आन्दोलनको रूप लिएको उनको बुझाइ छ ।

उनले भने, ‘जेनजी आन्दोलन पुरानो एउटा मेकानिजमको फेलर जस्तो थियो। त्यसले भ्रष्टाचार, बेथिति, कुरीति, नेपोटिजमजस्ता फोहोरको डङ्गुर निर्माण गरेको थियो। त्यसको विरुद्धमा मान्छेहरूले आ–आफ्नो ठाउँबाट आक्रोश व्यक्त गरे र त्यो रेजिम चेन्जसम्म पुग्यो।’

तर आन्दोलनपछि प्रणालीमा अपेक्षित परिवर्तन नआएको शर्मा बताउँछन् ।

उनको नजरमा एउटा सरकारको ठाउँमा अर्को सरकार आउनु मात्र परिवर्तन होइन । निर्वाचनबाट एउटा नेता हटेर अर्को नेता आउनु मात्रै पनि परिवर्तन होइन ।

‘हामीले चाहेको पुरानो मेकानिजमले हल गर्दैन, नयाँ मेकानिजम बन्नुपर्छ, सिस्टममा धेरै कुरा चेन्ज गर्नुपर्छ भन्ने थियो। त्यो नभइकन केवल मान्छेहरूको मात्रै परिवर्तन भयो। केही युवा उमेरका मान्छे आए, तर हाम्रो मेकानिजम सबै पुरानै छ,’ उनले भने ।

तर एक वर्षपछि सबै कुरा निराशाजनक मात्रै छैन । जेनजी आन्दोलनले युवामा राजनीतिक चेतना बढाएको शर्मा बताउँछन् । लामो समय एउटै पुस्ता र एउटै अनुहारले राजनीति नियन्त्रण गर्ने संस्कारमाथि प्रश्न उठ्नु आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको उनको बुझाइ छ ।

उनले भने, ‘युवाहरू राजनीतिप्रति एकदमै बढी सचेत भएका छन्। जेनजी आन्दोलनपछिको एकदम राम्रो सकारात्मक कुरा हो। ३५ वर्षसम्म शासन गरिराख्ने मान्छेहरू मात्रै राजनीतिमा रहने होइनन्, नयाँ मान्छेहरू पनि आउन सक्छन् भन्ने मनोविज्ञान निर्माण भएको छ ।’

आन्दोलनका क्रममा ज्यान गुमाएका युवा, घाइते भएका नागरिक र जलेर ध्वस्त भएका संरचनाले आन्दोलनको मूल्य सम्झाइरहेका छन् ।

शर्माका लागि यही कारण एक वर्षपछि आन्दोलनको भावनात्मक स्मरण मात्र होइन, कठोर समीक्षा आवश्यक छ ।

‘हामीले ७६ जना आफ्ना साथीहरू ढलेको देख्यौँ। थुप्रो संरचनाको क्षति भयो, खर्बौंको भौतिक सम्पत्ति जल्यो। अहिले आउँदाखेरि हुनुपर्ने परिणाम केही पनि भएन। मान्छेहरूको परिवर्तनबाहेक केही पनि भएन। त्यसैले आज एक वर्षमा हामीले यसको रियल समीक्षा गर्नुपर्छ,’ उनले भने ।

एक वर्षपछि जेनजी आन्दोलनलाई फर्केर हेर्दा एउटा विरोधाभास देखिन्छ । आन्दोलनले पुराना राजनीतिक नेतृत्वलाई चुनौती दियो । नयाँ अनुहारलाई अवसर दियो । युवालाई राजनीतिप्रति थप सचेत बनायो तर नागरिकले खोजेको सुशासन, रोजगारी, जवाफदेहिता र प्रणालीगत सुधारको प्रश्न अझै बाँकी छ ।

जेनजी अभियन्ता शर्माका अनुसार जेनजी आन्दोलनको एक वर्षलाई केवल सरकार परिवर्तनको वार्षिकी बनाएर पुग्दैन । बरु यो समय त्यो पुस्ताले सडकमा उठाएका प्रश्नतर्फ फर्किने समय हो ।

जेनजी आन्दोलनमा सहभागी भएकाहरु आन्दोलनबाट पूर्ण सन्तुष्ट छैनन् । उनीहरु चुप लागेर बस्नु भन्दा आन्दोलनको लक्ष्य पुरा गर्न विभिन्न छलफलमा छन् ।

यसरी हेर्दा जेनजी आन्दोलनपछि पुराना दलका युवा नेताहरूको मूल्याङ्कनमा साझा प्रश्न देखिन्छ—व्यक्ति फेरिए पनि प्रणाली र शासनशैली कति फेरियो?

एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र माओवादीका युवा नेताहरूको धारणा फरक–फरक भए पनि सुशासन, युवाको रोजगारी, राजनीतिक नेतृत्वमा पुस्तान्तरण र राज्य संयन्त्रको प्रभावकारी परिचालनजस्ता विषयमा सरकारमाथि प्रश्न भने समान देखिन्छ ।

मनिषा बस्नेत, नेपाल न्यूज बैंक