काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति (गाभ्ने) गर्ने भएको छ ।
मुक्तिनाथ विकास बैंकको भदौ १९ गते बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले दुवै संस्थालाई प्राप्ति गर्ने निर्णय गरेको हो। बैंकका अनुसार प्राप्तिका लागि दुवै संस्थासँग सोही दिन प्रारम्भिक सम्झौतासमेत हस्ताक्षर भइसकेको छ ।
मुक्तिनाथले यसअघि वाणिज्य बैंकमा स्तरोन्नति हुन नेपाल राष्ट्र बैंकमा आवेदन दिएको थियो । सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया त्यसै दिशामा बैंकको व्यवसाय तथा पूँजीको आकार विस्तार गर्ने कदमका रूपमा हेरिएको छ ।
प्राप्ति प्रक्रिया पूरा भएपछि एकीकृत संस्थाको नाम, शेयर स्वाप अनुपात, पूँजी संरचना तथा एकीकृत कारोबार सुरु हुने मितिलगायतका विषय सम्बन्धित स्वीकृति तथा प्रक्रियापछि टुंगो लाग्नेछ ।
पछिल्लो बजार भाउ अनुसार मुक्तिनाथको शेयर प्रतिकित्ता ३५६.९० रुपैयाँ, सिन्धु विकास बैंकको ५८५.५० रुपैयाँ र जानकी फाइनान्सको प्रतिकित्ता ३६८.९० रुपैयाँ रहेको छ ।


