बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

Headlines पूर्वाधार तथा विकास निर्माण राजनीति

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा शव व्यवस्थापनमा अहोरात्र खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत सोमबार सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले विपद्को समयमा खटिएका सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने बताएका हुन् ।

‘तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण आज संकटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाएका छन् । कार्यक्षेत्रमा खटिनुहुने प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ,’ उनले भनेका छन्, ‘तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन ।’

संकटका बेला सुरक्षाकर्मीलाई खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति पनि प्रधानमन्त्रीले कृतज्ञता व्यक्त गरेका छन् । विपद् व्यवस्थापनमा सुरक्षाकर्मीसँगै काम गरिरहेका स्वदेश तथा विदेशका विज्ञलाई समेत उनले धन्यवाद दिएका छन् ।

प्रधानमन्त्रीका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको छ । घाइतेलाई स्थलमार्ग तथा हेलिकप्टरमार्फत अस्पताल पुर्‍याउनुका साथै कतिपय अवस्थामा सुरक्षाकर्मीले आफ्नै काँधमा बोकेरसमेत उद्धार गरेका छन् ।

शव व्यवस्थापन, प्रभावित क्षेत्रमा महामारी वा संक्रामक रोग फैलिन नदिन तथा होल्डिङ सेन्टरमा रहेका प्रभावितलाई आवश्यक सहयोग गर्नसमेत सुरक्षाकर्मी निरन्तर खटिरहेका उनले बताएका छन् ।

‘कठिन भूगोल छ, प्रतिकूल मौसम छ, तर हाम्रा सुरक्षाकर्मी बाढीले थुपारेको दलदल र भग्नावशेषमा खोस्रिरहनुभएको छ,’ शाहले भनेका छन् ।

बाढीका कारण आफ्ना साथीसमेत गुमाएका सुरक्षाकर्मीले आफ्नो पीडा बिर्सेर खोज तथा उद्धारमा खटिरहेको प्रधानमन्त्रीको भनाइ छ । उनका अनुसार बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन छन् ।

‘यस्तो पीडामा आँसु लुकाएर दलदलमा पसिरहनुभएको छ । सकिनसकी शव उठाइरहनुभएको छ । होल्डिङ सेन्टरमा दिनरात पहरेदारी दिइरहनुभएको छ,’ उनले भनेका छन् ।

सुरक्षा निकायका मुख्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमान्ड पोस्टबाट प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई निर्देशन र समन्वय भइरहेको पनि प्रधानमन्त्रीले बताएका छन् ।

सेनाको नेतृत्वमा उद्धार

प्रधानमन्त्रीका अनुसार नेपाली सेनाले बाढी आएलगत्तै नुवाकोटको त्रिशूली–बट्टारस्थित मैथिली ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ स्थापना गरी उद्धार सञ्चालन गरेको छ ।

रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’, चिकित्सकसहितको ‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालनमा छन् ।

कठिन भूगोलमा अन्य सुरक्षा निकायसँग समन्वय गरी सेनाले उद्धारको नेतृत्व गरिरहेको प्रधानमन्त्रीले बताएका छन् । जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा समेत खोज तथा उद्धारमा सेना परिचालित छ । त्यसका लागि सशस्त्र प्रहरीको विशेष खोज तथा उद्धार टोली र नेपाल प्रहरीको ‘डग टिम’ समेत परिचालन गरिएको छ ।

बाढीपछि तत्काल आवागमन सहज बनाउन बेलीब्रिज निर्माण र सडक खुलाउने कामसमेत सेनाले अघि बढाएको छ । नुवाकोटको देवीघाटमा सेनाका इन्जिनियरले ‘एक्रो ब्रिज’ जडान गरिरहेको प्रधानमन्त्रीले बताएका छन् ।

उनका अनुसार अहिले बाढी प्रभावित क्षेत्रमा ९ हजार २८७ नेपाली सेना परिचालित छन् ।

नेपाल प्रहरीको पनि अग्रपंक्तिमा भूमिका

नेपाल प्रहरी सुरुदेखि नै प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणमा अग्रपंक्तिमा खटिएको प्रधानमन्त्रीले बताएका छन् । तालिमप्राप्त कुकुरमार्फत बेपत्ताको खोजी भइरहेको छ भने घाइतेलाई तत्काल अस्पताल पुर्‍याउने काम भइरहेको छ ।

शव व्यवस्थापन, जोखिमपूर्ण क्षेत्रमा सूचना प्रवाह तथा प्रभावित क्षेत्रमा शान्तिसुरक्षा कायम राख्ने जिम्मेवारीसमेत प्रहरीले निर्वाह गरिरहेको उनले बताएका छन् ।

प्रधानमन्त्रीका अनुसार हाल बाढी प्रभावित क्षेत्रमा ७ हजार ९७५ जना प्रहरी परिचालित छन् ।

सशस्त्र प्रहरीका १३ प्रतिकार्य बेस

सशस्त्र प्रहरी बलले कठिन भूगोल र भोटेकोशी–त्रिशूली नदीको जोखिमका बीच विशेष तालिमप्राप्त गोताखोर, डोरी टोलीलगायत उद्धार टोली परिचालन गरेको प्रधानमन्त्रीले बताएका छन् ।

सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोस्ट, फिल्ड कमान्ड पोस्ट र १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरेको छ । ड्रोन तथा केनाइन टोलीसमेत परिचालन गरिएको छ ।

प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै नेपाल–चीन सीमा क्षेत्रमा नेपाली झण्डा स्थापना गर्ने कामसमेत गरिएको प्रधानमन्त्रीले बताएका छन् ।

उनका अनुसार अहिले बाढी प्रभावित क्षेत्रमा ४ हजार २०३ सशस्त्र प्रहरी परिचालित छन् ।

प्रधानमन्त्री शाहले जोखिमपूर्ण अवस्थामा पनि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीको मनोबल उच्च राख्नु सबैको जिम्मेवारी भएको बताएका छन् ।भोटेकोशी बाढीः १ हजार ३५३ शव फेला, ३ हजार ९९२ अझै सम्पर्कविहीन

काठमाडौँ — भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार ३५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार बाढीमा परी अझै ३ हजार ९९२ जना सम्पर्कविहीन छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५३० पुरुष र ३२८ महिला छन् । ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीनमध्ये स्वदेशीतर्फ २ हजार ८२७ पुरुष र ५६७ महिला छन् । यस्तै विदेशी नागरिकतर्फ २६७ पुरुष र २३९ महिला सम्पर्कविहीन छन् ।

बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली परिचालन गरी खोजी भइरहेको प्रहरीले जनाएको छ ।

१ हजार ४४ शव व्यवस्थापन

फेला परेका शवमध्ये १ हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया जारी छ ।

बेपत्ता व्यक्तिको पहिचान र फेला परेका शवको सनाखतका लागि डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ । प्रहरीले हालसम्म मृतक १ हजार १८१ जना र मृतकका आफन्त १ हजार १९५ जनासहित २ हजार ३७६ जनाको डीएनए नमुना संकलन गरेको जनाएको छ ।

डीएनए परीक्षण तथा अन्य प्रमाणका आधारमा पहिचान भएका शव आफन्तलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ ।

९ हजार १५९ जनाको उद्धार

बाढीपछि हालसम्म ९ हजार १५९ जनाको उद्धार गरिएको प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिएका छन् ।

उद्धार गरिएकामध्ये ३ हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको छ । उनीहरूको बसोबास, स्वास्थ्य तथा अन्य आधारभूत आवश्यकताको व्यवस्थापन भइरहेको प्रहरीले जनाएको छ ।

बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजीलाई प्राथमिकता दिइएको छ । सडक तथा पुलमा पुगेको क्षति र कतिपय स्थानमा रहेको जोखिमका कारण खोज तथा उद्धार चुनौतीपूर्ण बने पनि सुरक्षा निकायले अभियान जारी राखेको जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै शवको पहिचान, व्यवस्थापन र विस्थापितको सुरक्षित स्थानान्तरणको काम पनि एकैसाथ अघि बढाइएको छ ।