काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले गरेको ‘नगन्य गल्ती’को ठूलो सजाय भोग्नुपरेको बताएका छन् । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो जोखिमको प्रतिफल भएको उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले बिहीबार सामाजिक सञ्जालमार्फत विपद् अत्यन्त पीडादायी भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेको असरबारे नेपालले लामो समयदेखि विश्व समुदायलाई सचेत गराउँदै आएको बताए ।
‘हामीले विश्वलाई लामो समयदेखि भनिरहेकै थियौँ– जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा ठूलो असर परिरहेको छ, हिमालहरू पग्लँदै छन् । यसको असर हिमालय क्षेत्रमा मात्रै होइन, समुद्रको तटसम्म पुगिरहेको छ,’ उनले भनेका छन् ।
नेपालले अहिले त्रासदीपूर्ण घटना बेहोरेको भन्दै उनले यसको जवाफ विश्व समुदायसँग खोज्नुपर्ने बताएका छन् । साथै, यस्तो संकटप्रति मानव सभ्यताले पनि जवाफ दिनुपर्ने उनको भनाइ छ ।
उद्धार तथा राहतमा विभिन्न तहको समन्वय
प्रधानमन्त्री शाहले प्राकृतिक विपद् व्यवस्थापन सबैका लागि चुनौतीपूर्ण हुने भए पनि उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गर्दै सरकार अहोरात्र खटिरहेको दाबी गरेका छन् । प्रभावित क्षेत्रमा प्रदेश र स्थानीय तहसँगको समन्वयमा होल्डिङ सेन्टर सञ्चालन गरी नागरिकलाई बसोबासको व्यवस्था गरिएको उनले बताए ।
उनका अनुसार नुवाकोटका २४ होल्डिङ सेन्टरमा २ हजार ७ सय ९६ जना, रसुवाका पाँच केन्द्रमा १ सय ९५ जना र काठमाडौंका दुई केन्द्रमा रसुवाका विभिन्न प्रभावित क्षेत्रका ३ सय जना बसिरहेका छन् । रसुवाका विभिन्न क्षेत्रमा दैनिक करिब ४ हजार ५ सय नागरिकलाई हेलिकप्टरमार्फत राहत वितरण भइरहेको उनले जानकारी दिएका छन् ।
बाढी आएलगत्तै सम्पर्क हुन सकेका प्रभावित जिल्लाका स्थानीय कर्मचारी तथा जनप्रतिनिधिबाट प्रारम्भिक सूचना लिएर उद्धार तथा राहतको काम अघि बढाइएको शाहले बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्थानीय तहका प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको र उनीहरूका गुनासा सम्बोधन गरिँदै आएको उनको भनाइ छ ।
बाढी प्रभावित स्थानीय तहलाई घटनाकै दिन मन्त्रिपरिषद्को निर्णयबाट तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको उनले उल्लेख गरेका छन् ।
सडक तथा पूर्वाधार पुनःस्थापनामा तीव्रता
बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनःस्थापनाको काम तीव्र गतिमा भइरहेको प्रधानमन्त्री शाहले बताएका छन् । उनका अनुसार प्रभावित क्षेत्रमा सञ्चार सेवा ९५ प्रतिशतभन्दा बढी पुनःस्थापित भइसकेको छ भने ५.७७ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुग्न बाँकी छ ।
गल्छी–मुग्लिन सडकखण्डको कृष्णभीरमा ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारी सञ्चालन गर्न मिल्ने गरी निर्माण अघि बढाइएको उनले जानकारी दिएका छन् । बिहीबारदेखि रुख कटान र भित्ता काटेर ट्रयाक खोल्ने काम सुरु गरिएको छ ।
कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ र सिट पाइललगायत विकल्पबारे अध्ययन गरिने उनले बताएका छन् । भदौभित्र उक्त सडकखण्डमा यातायात सञ्चालन गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
परेवाभीरमा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालनमा ल्याइसकिएको र स्तरोन्नतिको काम जारी रहेको उनले बताए ।
त्रिशूली–वेत्रावती सडकखण्डको १० किलोमिटरमध्ये ८ किलोमिटरमा लेदो हटाइसकिएको तथा बाँकी २ किलोमिटरमा काम भइरहेको उनले जानकारी दिए । थप क्षतिग्रस्त ३५ किलोमिटर सडक मर्मतका लागि आपत्कालीन बोलपत्र आह्वान भइसकेको छ ।
तादीमा बेलिब्रिज राख्न फाउन्डेसन निर्माण सुरु भइसकेको र भोलिसम्म बेलिब्रिज पुर्याउने प्रयास भइरहेको शाहले बताएका छन् । बेत्रावतीमा बेलिब्रिजका लागि सर्भे गरी फाउन्डेसन निर्माण थालिएको छ भने त्रिशूलीमा सर्भे पूरा भएको छ । त्रिशूलीमा १ सय २० मिटर लामो बेलिब्रिज आवश्यक देखिएको प्रधानमन्त्रीले बताएका छन् ।


