काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) को वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति व्यवस्था मिलाएको छ ।
गत भदौ १४ गते त्रिशूली नदीको कटानका कारण कृष्णभीर खण्डमा सडक भासिएपछि पेट्रोलियम ट्याङ्कर तथा ग्यास बुलेट आवतजावत रोकिएकाले निगमले वैकल्पिक रुट प्रयोगमा ल्याएको हो । एलपी ग्यास उद्योगहरूले तराईका डिपोबाट सिलिन्डर भरेर सोही बाटो हुँदै काठमाडौं ल्याइरहेका छन् । आज मात्रै उपत्यकाका लागि विभिन्न ब्रान्डका करिब २४ हजार ५०० सिलिन्डर भित्र्याइएको र भोलिदेखि यो क्रम थप परिमाणमा नियमित गरिने निगमले जनाएको छ ।
यसअघि भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा उद्धार तथा राहत कार्यका लागि निगमले इन्धन वितरणलाई निरन्तरता दिइरहेको छ ।
खोज तथा उद्धार कार्यमा खटिएका हेलिकप्टरहरूको इन्धन व्यवस्थापनका लागि नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सेनाको ब्यारेकबाट रिफ्युलिङ सेवा सञ्चालन गरिएको निगमले जनाएको छ । भदौ १० देखि हालसम्म १ लाख २ हजार लिटर हवाई इन्धन रिफ्युलिङका लागि पठाइसकिएको र यो सेवा नियमित रूपमा चलिरहेको छ ।
त्यस्तै, निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूलाई हालसम्म १ लाख ५ हजार लिटर पेट्रोल र २ लाख २ हजार लिटर डिजेल उपलब्ध गराइएको छ । सार्वजनिक बिदाका दिनमा समेत मागबमोजिम इन्धन बिक्री वितरणको प्रबन्ध मिलाइएको छ ।
बाढी प्रभावित क्षेत्रका विभिन्न सेल्टरमा रहेका नागरिकका लागि नेपाल एलपी ग्यास उद्योग संघबाट प्राप्त १ हजार २५० सिलिन्डरमध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा रसुवा र नुवाकोटमा ५०० थान ग्यास सिलिन्डर पठाइसकिएको निगमले जनाएको छ ।


