राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ ३ महिने निक्षेप संकलन गर्ने

बैंक/वित्त

काठमाडौं — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट १८ अर्ब रुपैयाँ ३ महिनाका लागि निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले भदौ १८ गते अनलाइन बोलकबोलमार्फत उक्त रकम संकलन गर्न लागेको हो।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन्। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ।

राष्ट्र बैंकका अनुसार बोलकबोल भदौ १८ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत मात्र हुनेछ। एउटै संस्थाले न्यूनतम १० करोडदेखि अधिकतम १० करोड रुपैयाँका दरले भाग लिन सक्नेछ। माग गरिएको रकम नपुगेसम्म संस्थाको हिस्सा क्रमशः बाँडफाँट गरिनेछ।

समान ब्याजदरमा प्राप्त बोलको रकम कुल निष्कासित रकमभन्दा बढी भए प्रो–राटा आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेपको साँवा तथा ब्याज भुक्तानी मिति मंसिर १६ गते तोकिएको छ। स्वीकृत बोलबमोजिमको रकम सम्बन्धित संस्थाको राष्ट्र बैंकस्थित खाताबाट खर्च गरी राष्ट्र बैंकले छुट्टै निक्षेप खातामा जम्मा गर्नेछ।

निक्षेप संकलन उपकरणका लागि धितोका रूपमा राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाको धितो प्रयोग गर्न सकिनेछ।

राष्ट्र बैंकले यस्तो निक्षेपलाई अनिवार्य नगद मौज्दात (सीआरआर) गणनामा समावेश गर्न नपाइने जनाएको छ। तर, राष्ट्र बैंकले तोकेको वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपातको गणनामा भने समावेश गर्न सकिनेछ।