६ दिनको पहिरोपछि नेप्सेमा ‘ब्रेक’, कारोबारले दिएन बलियो सुधारको संकेत

Headlines बैंक/वित्त

काठमाडौँ, १६ भदौ — लगातार ६ कारोबार दिनको गिरावटपछि मंगलबार नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । पछिल्ला ६ कारोबार दिनमा ११५ अंकभन्दा बढी घटेको नेप्से मंगलबार ९.२४ अंकले बढेर २ हजार ५२२.६६ विन्दुमा पुगेको हो । परिसूचक ०.३६ प्रतिशतले बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेकाले बजारको सुधारलाई बलियो पुनरुत्थानको संकेतका रूपमा लिन सकिने अवस्था देखिएको छैन ।

मंगलबार ३४१ कम्पनीका ७६ लाख १३ हजार ६८१ कित्ता सेयर ४८ हजार ३४१ पटक किनबेच भए । कुल कारोबार रकम २ अर्ब ९० करोड ६९ लाख ४३ हजार ६३३ रुपैयाँ पुगेको छ । सोमबार ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

कारोबार भएका कम्पनीमध्ये १८१ को सेयर मूल्य बढेको छ । ८४ कम्पनीको मूल्य घट्दा १२ कम्पनीको मूल्य स्थिर रह्यो । बजारमा खरिद चाप देखिए पनि कारोबार रकममा आएको कमीले लगानीकर्ता अझै पूर्ण रूपमा बजारप्रति विश्वस्त भइनसकेको संकेत गरेको छ ।

सेन्सेटिभ इन्डेक्स १.७२ अंकले बढेर ४४६.१६ विन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६५ अंकले बढेका छन् ।

१२ उपसमूह बढे

१३ उपसमूहमध्ये मंगलबार १२ वटा बढेका छन् । उत्पादन तथा प्रशोधन उपसमूह मात्र घटेको छ ।

जलविद्युत् उपसमूह १.०१ प्रतिशतले बढेर सबैभन्दा अगाडि रह्यो । जीवन बीमा ०.८९ प्रतिशत र निर्जीवन बीमा ०.८७ प्रतिशतले बढे । होटल तथा पर्यटन ०.६६, लगानी ०.६१ र अन्य समूह ०.५४ प्रतिशतले उकालो लागे ।

वित्त ०.२५, म्युचुअल फन्ड ०.२६, बैंकिङ ०.१८, ट्रेडिङ ०.१०, विकास बैंक ०.११ र माइक्रोफाइनान्स ०.०५ प्रतिशतले बढेका छन् । उत्पादन तथा प्रशोधन उपसमूह भने १ प्रतिशतले घटेको छ ।