भोटेकोशी बाढीमा ५८३ बीमितको २५ अर्ब ८७ करोडको बीमा दाबी

Headlines बैंक/वित्त

काठमाडौँ, १६ भदौः भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको क्षतिबापत ५८३ बीमितले करिब २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी गरेका छन्।

नेपाल बीमा प्राधिकरणमा भदौ १५ गतेसम्म प्राप्त विवरणअनुसार १५ वटा बीमा कम्पनीमा उक्त दाबी परेको हो। प्रारम्भिक विवरणअनुसार सबैभन्दा ठूलो दाबी दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ।

दि ओरिएन्टल इन्स्योरेन्समा आठ बीमितले मात्रै १३ अर्ब ४ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको दाबी गरेका छन्। त्यसपछि युनाइटेड अजोड इन्स्योरेन्समा ३८ बीमितको ४ अर्ब ९७ करोड ४८ लाख ७२ हजार रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्समा १०२ बीमितको २ अर्ब १० करोड २८ लाख ७२ हजार रुपैयाँ बराबरको दाबी परेको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६७ बीमितको १ अर्ब ८८ करोड ७३ लाख ७६ हजार रुपैयाँ र शिखर इन्स्योरेन्समा १२७ बीमितको १ अर्ब ८७ करोड ५४ लाख ५९ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

हिमालयन एभरेस्ट इन्स्योरेन्समा ४५ बीमितको ६४ करोड ७८ लाख २० हजार, नेको इन्स्योरेन्समा ६६ बीमितको ५१ करोड ७० लाख ३७ हजार र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२ बीमितको २४ करोड २३ लाख २७ हजार रुपैयाँ बराबरको दाबी परेको छ।

त्यस्तै नेपाल इन्स्योरेन्समा ३२ बीमितको २३ करोड ८६ लाख ४५ हजार, आईजीआई प्रुडेन्सियलमा २६ बीमितको १८ करोड ७३ लाख ४ हजार र एनएलजी इन्स्योरेन्समा २१ बीमितको ११ करोड ३१ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

प्रभु इन्स्योरेन्समा १४ बीमितको ३ करोड १२ लाख ८ हजार, राष्ट्रिय बीमा कम्पनीमा दुई बीमितको ७६ लाख, नेशनल इन्स्योरेन्समा दुई बीमितको ५३ लाख ३५ हजार र नेपाल माइक्रो इन्स्योरेन्समा एक बीमितको पाँच लाख रुपैयाँ बराबरको दाबी परेको छ।

इन्जिनियरिङ बीमामा मात्रै २० अर्बभन्दा बढी दाबी

बीमालेखको प्रकारअनुसार सबैभन्दा ठूलो दाबी इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा परेको छ। यसअन्तर्गत ५२ बीमितले २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी गरेका छन्।

सम्पत्ति बीमाअन्तर्गत ११३ बीमितको २ अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँ, मोटर बीमाअन्तर्गत ३१३ बीमितको १ अर्ब ५५ करोड ९ लाख ३९ हजार रुपैयाँ बराबरको दाबी परेको छ।

त्यस्तै परिवहन बीमाअन्तर्गत ४७ बीमितको ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँ, अन्य बीमाअन्तर्गत ५४ बीमितको ५२ करोड ९२ लाख ९२ हजार रुपैयाँ र स्वास्थ्य बीमाअन्तर्गत चार बीमितको ४ करोड १६ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणको विवरणमा उल्लेख छ।

५२ इन्जिनियरिङ बीमितको दाबीमा मात्रै ७९ प्रतिशत रकम

कुल २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँको प्रारम्भिक दाबीमध्ये इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाको हिस्सा मात्रै करिब ७९.२ प्रतिशत छ। अर्थात् कुल दाबी रकमको ठूलो हिस्सा जलविद्युत् आयोजना तथा अन्य ठूला पूर्वाधारसँग सम्बन्धित क्षतिबाट आएको देखिन्छ।

यता, संख्याका आधारमा भने मोटर बीमा अगाडि छ। कुल ५८३ बीमितमध्ये ३१३ बीमित अर्थात् करिब ५३.७ प्रतिशत मोटर बीमाका छन्।

यसले भोटेकोशी–त्रिशूली बाढीबाट जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा भएको क्षतिको आर्थिक आकार ठूलो रहेको देखाएको छ। यद्यपि यी रकमहरू अनुमानित तथा प्रारम्भिक दाबी भएकाले बीमा कम्पनीहरूले क्षतिको सर्वेक्षण तथा मूल्यांकन गरेपछि वास्तविक दाबी रकम फरक पर्न सक्नेछ।

20260901071535