भोटेकोशी बाढी : १ हजार १० शव फेला, ४ हजार ५९९ जना बेपत्ता

Sticky News समाचार

काठमाडौँ, १६ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहँदा हालसम्म १ हजार १० जनाको शव तथा मानव अंग फेला परेको छ। नेपाल प्रहरीले मंगलबार बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै ४ हजार ५९९ जनाको बेपत्ता विवरण प्राप्त भएको जनाएको छ।

प्रहरीका अनुसार फेला परेका १ हजार १० शव तथा मानव अंगमध्ये ३० बालक, ३५ बालिका, २०९ महिला र ३८५ पुरुषका शव छन्। यस्तै ३५१ आंशिक मानव अंग फेला परेको विवरणमा उल्लेख छ।

फेला परेका शवमध्ये ५६ वटा शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। ९२७ वटा शवको लाश जाँच मुचुल्का गरिएको छ भने पहिचान नभएका शव तथा मानव अंगसम्बन्धी ८४७ वटा विवरण वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ।

५८१ शव गाडेर व्यवस्थापन

प्रहरीका अनुसार हालसम्म ५८१ शव जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। व्यवस्थापन गरिएका शवमध्ये १२१ महिला र १९८ पुरुष छन् भने २६२ जनाको विवरण खुलेको छैन।

४ हजार २८० जनाको उद्धार

बाढी तथा विपद्बाट प्रभावित क्षेत्रबाट हालसम्म ४ हजार २८० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ३ जना पुरुष, १ हजार २५४ महिला र १३ जनाको विवरण नखुलेको प्रहरीले जनाएको छ।

उद्धार गरिएकामध्ये ५८० जना विदेशी नागरिक रहेका छन्।

४ हजार ५९९ जनाको बेपत्ता विवरण

प्रहरीका अनुसार हालसम्म ४ हजार ५९९ जनाको बेपत्ता विवरण प्राप्त भएको छ।

त्यसमध्ये २ हजार ६८७ जना स्वदेशी नागरिक छन्। स्वदेशीतर्फ २ हजार ३१९ पुरुष र ३६८ महिला छन्।

यस्तै ५८३ जना विदेशी नागरिक बेपत्ता रहेको विवरण प्राप्त भएको छ। विदेशीमध्ये २५१ पुरुष र ३३० महिला छन्। अन्य समूहमा दुई जनाको विवरण रहेको छ।

बेपत्तासम्बन्धी १ हजार ३२९ जनाको विवरण फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ।

३ हजार ४५३ जना होल्डिङ सेन्टरमा

बाढी प्रभावित नागरिकमध्ये अहिले ३ हजार ४५३ जना विभिन्न होल्डिङ सेन्टरमा रहेका छन्।

नुवाकोटमा २ हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौँमा ३२९ जना होल्डिङ सेन्टरमा रहेको प्रहरीले जनाएको छ।

७ हजार ९१२ प्रहरी परिचालन

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि नेपाल प्रहरीले ७ हजार ९१२ जना परिचालन गरेको छ। प्रहरीको विवरणअनुसार ६५ जना प्रभावित र २५ जना सम्पर्कविहीन रहेको विवरणसमेत प्राप्त भएको छ।

प्रहरीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव व्यवस्थापन, घाइतेको उद्धार तथा राहत वितरणलाई निरन्तरता दिएको जनाएको छ।