बाढीपछि कोरला नाकातर्फ १०८ कन्टेनर

Headlines समाचार

मुस्ताङ । रसुवागढी–केरुङ र तातोपानी नाका बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने मालसामानको वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरला नाका प्रयोग हुन थालेको छ । रसुवामा गएको बाढीपछि मात्रै १०८ वटा मालवाहक कन्टेनर कोरला नाकातर्फ गएको सशस्त्र प्रहरी मुस्ताङका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

उनका अनुसार मुख्य उत्तरी नाकाहरू प्रभावित भएपछि चीनबाट सामान बोकेका कन्टेनरहरू काठमाडौं हुँदै चिनको लिची (कोरला) जाने क्रम बढेको हो । पछिल्लो समय कोरला नाकामा मालवाहक सवारीसाधनको चापसमेत बढ्दै गएको छ ।

बढ्दो व्यापारिक चापलाई ध्यानमा राख्दै सरकार तथा जनप्रतिनिधिले कोरला नाकाको सडक तथा पूर्वाधार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने पूर्वसङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले बताए । आगामी दसैँका लागि आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन अहिले नै कोरला नाकाबाट हुने आयातलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

तुलाचनका अनुसार रसुवागढी र तातोपानी नाकाबाट हुने आपूर्ति प्रभावित भएकाले कोरला नाका अहिले महत्त्वपूर्ण वैकल्पिक व्यापारिक मार्गका रूपमा अघि आएको छ । दैनिक चिनिया सामाग्री आवश्यक पर्ने सामान यही नाकाबाट सहज रूपमा भित्र्याउने वातावरण बनाउन सरकार र सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने उनले बताए ।

‘अहिलेको अवस्थालाई हेर्दा कोरला नाका वैकल्पिक मात्रै होइन, आगामी दिनमा चीनसँगको व्यापारको महत्त्वपूर्ण नाका बन्न सक्छ । त्यसैले सडक, भन्सार, पार्किङ लगायतका पूर्वाधार समयमै तयार गर्नुपर्छ,’ तुलाचनले भने ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार रसुवागढी र तातोपानी नाका लामो समय बन्द रहेर व्यापारिक चाप कोरतर्फ मोडिए दैनिक करिब एक सय वटा कन्टेनर व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्छ । हालको जनशक्ति र पूर्वाधारबाट त्यस्तो चाप व्यवस्थापन गर्न चुनौती हुने उनको भनाइ छ । उनको अनुसार दैनिक १० देखि १२ वटा कन्टेनर जाचँपास भई नाका पार गरेको छ ।

रसुवागढी र तातोपानी नाका प्रभावित भएपछि कोरला नाकामा बढेको चापले यसको व्यापारिक सम्भावना थप उजागर गरेको छ । आगामी दैनिक उपभोग समान तथा दसैँ तिहारलाई लक्षित गर्दै दैनिक उपभोग्य सामग्रीको आपूर्ति सहज बनाउन तथा बढ्दो कन्टेनर आवागमनलाई व्यवस्थित गर्न सरकार, जनप्रतिनिधि र सम्बन्धित निकायबिच तत्काल समन्वय आवश्यक देखिएको छ ।