प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड सहयोग

Headlines अर्थ

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा सहयोग जुटेको छ। विभिन्न ८३ उद्योगी–व्यापारी समूह तथा परोपकारी व्यक्तिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत उक्त रकम सरकारलाई हस्तान्तरण गरेका हुन्।

अर्थ मन्त्रालयका अनुसार भदौ ११ गतेदेखि मन्त्रालयमार्फत भौतिक रूपमा राहत रकम संकलन गर्न थालिएको हो। त्यसयता एकै दिन प्राप्त भएको यो सबैभन्दा ठूलो रकम हो।

सोमबार अर्थमन्त्री वाग्ले र निमित्त अर्थसचिव उत्तर खत्रीमार्फत दाताले हस्तान्तरण गरेको चेकको कुल रकम ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा रहेको मन्त्रालयले जनाएको छ। उक्त रकम रसुवाका बाढीपीडितको राहत तथा उद्धारमा खर्च गर्ने उद्देश्यले प्रदान गरिएको हो।

यसअघि भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ र भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ तथा २ लाख अमेरिकी डलर सहयोग प्राप्त भएको थियो।

मन्त्रालयका अनुसार भदौ ११ गतेदेखि सोमबारसम्म चार दिनमा अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषका लागि १ अर्ब ३० करोड ७५ लाख ८ हजार ६६१ रुपैयाँ संकलन भएको छ।

त्यसमध्ये ८० हजार रुपैयाँ नगद रहेको छ भने बाँकी सबै रकम ‘एकाउन्ट पेयी’ चेकमार्फत प्राप्त भएको हो। यसबाहेक २ लाख अमेरिकी डलरको चेकसमेत मन्त्रालयमा प्राप्त भएको छ।

भोटेकोशी बाढीपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा परोपकारी व्यक्तिबाट सहयोग आउने क्रम बढेको छ।