काठमाडौं । भोटेकोशी तथा त्रिशूली बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनीमार्फत खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ । नेपाली सेनाले सोमबार हवाई साधनमार्फत जर्मन नागरिक एक जनासहित १०९ जनाको उद्धार गरेको छ ।
नेपाली सेनाले आज साँझ ७ बजेसम्मको खोज तथा उद्धार अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रमा टनेलभित्र समेत विशेष टोली परिचालन गरी खोजी कार्य भइरहेको जनाएको छ ।
त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको टनेलको हेड फेला पारिएको र कम्प्रेसरमार्फत हावा पठाउने कार्य भइरहेको छ । टनेलभित्रको पानी निकाल्ने कार्य जारी रहेको सेनाले जनाएको छ । साथै, तीनवटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ ।

त्यसैगरी, त्रिशूली–३ ‘बी’ को टनेलमा विज्ञसहितको फौज परिचालन गरी एक्स्काभेटरको सहयोगमा खोज तथा उद्धार कार्य भइरहेको छ ।
विदेशी उद्धारकर्मीसमेत सहभागी संयुक्त खोज तथा उद्धार टोली चिलिमे हाइड्रोको टनेलभित्र ३५ मिटरसम्म पुगेर अगाडिको भाग सफा गर्ने कार्यमा जुटिरहेको छ । अपर त्रिशूली–१ क्षेत्रमा पनि विदेशी टोलीसहितको संयुक्त उद्धार टोलीले मैलुङतर्फ २०० मिटर र हाँकूतर्फ ३०० मिटरसम्म पुगेर खोजी गरेको छ ।
रसुवागढी हाइड्रोको टनेलमा खोज तथा उद्धार टोली करिब २५० मिटरसम्म पुग्दा टनेलको बन्द भाग फेला परेको सेनाले जनाएको छ । लाङटाङ हाइड्रोको टनेलमा भने संयुक्त उद्धार टोली करिब ६५ मिटरसम्म पुगेर एक शव सङ्कलन गरेको छ ।
प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला र बस्ती क्षेत्रमा स्थानीयको सुरक्षा अवस्था बुझ्न तथा थप उद्धारको आवश्यकता मूल्याङ्कन गर्न पैदल गस्तीसमेत गरिएको छ ।
खोज तथा उद्धारका क्रममा नेपाली सेनाको टोलीले टिमुरे क्षेत्रमा पाँचवटा सेफ फेला पारेको जनाएको छ । तीमध्ये तीनवटामा नेपाली र दुईवटामा चिनियाँ भाषाका अक्षर रहेका छन् । फेला परेका सेफहरू भरपाई गरी सशस्त्र प्रहरी बल नेपाललाई बुझाइएको सेनाले जनाएको छ ।
यसैबीच, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्रबाट आइतबार मात्रै १६५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन् । उनीहरूले सम्बन्धित निकायसँग समन्वय गरी घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन् ।


