काठमाडौं, १५ भदौः नेपालले एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा बहराइनलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलमा बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। अर्जुन कुमाल ३६ र रोहित पौडेल १९ रनमा अविजित रहे। अर्जुनले ५८ बलमा पाँच चौका तथा रोहितले १४ बलमा एक चौका र एक छक्का प्रहार गरे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो। नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित १४ रन खर्चेर पाँच विकेट लिए।

ललित राजवंशीले ६.२ ओभरमा २० रन खर्चेर तीन तथा करण केसीले आठ ओभरमा १४ रन खर्चेर दुई विकेट लिए। बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए।
कप्तानीमा पुनरागमन गरेका सन्दीपले पहिलो बलमै विकेट लिँदै उत्कृष्ट सुरुवात गरेका थिए।
नेपालले अब दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ। प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ।


