बाढी प्रभावितका लागि काठमाडौं महानगरले सातवटा एम्बुलेन्स परिचालन गरेको छ : सुनिता डंगोल

Headlines समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद्को सुरुवाती दिनदेखि नै महानगरले आवश्यकता अनुसार फिल्डमै पुगेर सहजीकरण, सहयोग र हातेमालो गर्दै आएको बताएकी छन् ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको विपद् व्यवस्थापन हेल्प डेस्कको कार्यक्रममा बोल्दै उनले बाढी प्रभावितका लागि सातवटा एम्बुलेन्स डेडिकेट गरिएकोमा ५ वटा फिल्डमा खटिएर बिरामीलाई अस्पताल पुर्याउने र २ वटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिचालन गरिएको बताइन् ।

उनले भनिन्, ‘हामीले पहिलो दिनबाट नै एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ । ७ वटा डेडिकेटेड एम्बुलेन्स—काठमाडौं महानगरपालिकाले उपत्यकाभरि नै निःशुल्क एम्बुलेन्स सर्भिस, नेपाल एम्बुलेन्स सर्भिससँग सहकार्य गरेर १०२ नम्बरमा कल गर्ने र एम्बुलेन्स सर्भिस लिन सक्ने काम हामीले अलि अगाडिदेखि नै गरेका थियौँ ।’

उनले विमानस्थलमा रहेका दुई एम्बुलेन्सले बाढी प्रभावित क्षेत्रबाट हवाई माध्यमबाट ल्याइएका गम्भीर बिरामीलाई अस्पतालसम्म पुर्याउने काम गरेको डंगोलले बताइन् ।

उनका अनुसार पछिल्लो समय एम्बुलेन्सको माग भने पहिलो दिनको तुलनामा क्रमशः घट्दै गएको छ ।

उनले भनिन्, ‘अहिलेको अवस्था भन्ने हो भने एम्बुलेन्सको माग पहिलो दिनभन्दा अहिले बिस्तारै घट्दै पनि छ । त्यहाँ एम्बुलेन्सको माग घट्दै गइरहेको छ तर अरू मागहरू बढ्दै गइरहेको छ ।’

उनले केही दिनअघिदेखि नुवाकोटबाट काठमाडौं आउन चाहने प्रभावित नागरिकका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरेको जानकारी दिइन् । डंगोलका अनुसार पहिलो दिन १९ जना, दोस्रो दिन २९ जना र तेस्रो दिन ३२ जनालाई काठमाडौं ल्याइएको छ । यसरी हालसम्म नुवाकोटबाट ८० जनालाई उद्धार गरी काठमाडौं ल्याइएको उनले जानकारी दिइन् ।