काठमाडौँ । भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि एसियाली विकास बैंक (एडिबी) ले ५० लाख अमेरिकी डलर (करिब ७६ करोड रुपैयाँ) अनुदान स्वीकृत गरेको छ।
एडिबीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार अनुदान रकम बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय, सरसफाइ सामग्री तथा आपत्कालीन पूर्वाधार व्यवस्थापनमा खर्च गरिनेछ।
एडिबी अध्यक्ष मासातो कान्दाले विपद्का बेला प्रभावित नागरिकले सहयोगका लागि लामो समय पर्खन नसक्ने भएकाले तत्काल आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउन अनुदान महत्वपूर्ण हुने बताएका छन्।

उनका अनुसार बाढी प्रभावित परिवारलाई तत्काल खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय र औषधि उपलब्ध गराउन अनुदान परिचालन गरिनेछ।
एडिबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्य विकास साझेदारसँग समन्वय गरी उद्धार, राहत तथा पुनःस्थापनाका काममा सहयोग गरिरहेको जनाएको छ।
पुनःस्थापनाका लागि थप सहयोगको तयारी
बाढीपछि तत्काल राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र पुनःनिर्माणका लागि आवश्यकतासम्बन्धी मूल्यांकनसमेत अघि बढाइने भएको छ।
एडिबीका अनुसार विपद्पछिको आवश्यकता मूल्यांकन, पुनःस्थापना योजना तथा सम्भावित पुनःनिर्माणका लागि थप १ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोगको प्रक्रिया अघि बढाइएको छ।
भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन गरिरहेको छ। एडिबीको पछिल्लो अनुदानले तत्काल राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि आवश्यक स्रोत परिचालनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।


