कृत्रिम ताल फुट्यो, भोटेकोशी–त्रिशुली क्षेत्रमा उच्च सतर्कता

Sticky News समाचार

काठमाडौं नेपाल–चीन सीमा क्षेत्रमा गएको भीषण पहिरोका कारण नदी थुनिएर बनेको कृत्रिम ताल फुटेको सूचना प्राप्त भएको छ।

छोचेन खोला र पुरेपू त्साङ्पो नदीको दोभाननजिकै बनेको ठूलो कृत्रिम ताल फुटेको जानकारी चिनियाँ पक्षबाट प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाको स्रोतले जनाएको छ। तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल प्रहरीले समेत उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल प्रहरीले शुक्रबार सूचना जारी गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीदेखि प्रभावित क्षेत्रका सर्वसाधारणसम्म सबैलाई तत्काल सतर्क रहन आग्रह गरेको छ।

चिनियाँ जलस्रोत मन्त्रालयले बिहीबार उक्त कृत्रिम तालमा करिब ५० लाख घनमिटर पानी जम्मा हुन सक्नेजानकारी दिएको थियो।

ताल फुट्ने जोखिम बढेपछि चीनले प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्य तत्कालका लागि स्थगित गरेको बताइएको छ। चीनतर्फ परिचालित उद्धार टोलीलाई समेत करिब एक किलोमिटर पछाडि हटाइएको छ।

कृत्रिम ताल बनेको क्षेत्र भोटेकोशी र त्रिशुली नदीको उपल्लो जलाधार क्षेत्रमा पर्छ। उक्त क्षेत्रबाट आएको पानी भोटेकोशी हुँदै त्रिशुली नदीमा मिसिने भएकाले नेपालतर्फका तटीय क्षेत्रमा समेत जोखिम बढ्न सक्ने भन्दै सुरक्षा निकायले सतर्क रहन आग्रह गरेका छन्।