काठमाडौँ । ग्लोबल आइएमई बैंकले भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि बैंकले उक्त सहयोग घोषणा गरेको हो ।
बैंकका अनुसार बाढीबाट सयौँ नागरिकको ज्यान गएको, कैयौँ बेपत्ता भएको तथा ठूलो संख्यामा परिवार विस्थापित भएका छन्। बाढीले बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनासमेतमा क्षति पुर्याएको छ ।

बैंकले विपद्मा परेकाको तत्काल उद्धार, घाइतेको उपचार, खाद्यान्न तथा आवासको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रकम उपलब्ध गराउने जनाएको छ।
बैंकले यसअघि पनि बाढी, पहिरो, भूकम्प तथा महामारीलगायतका विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ।
ग्लोबल आइएमई बैंकले हाल ७७ वटै जिल्लामा ३४१ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको छ ।
बैंकले विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको पनि जनाएको छ ।


