भोटेकोशी बाढी : ३५९ जनाको शव फेला, ७९६ जनाको हेलिकप्टरबाट उद्धार

जलवायु परिवर्तन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी ज्यान गुमाउने ३५९ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव फेला परे पनि अझै ९१० जना सम्पर्कविहीन छन्।

प्राधिकरणका अनुसार धादिङमा ३३, नुवाकोटमा २८, रसुवामा १७, गोरखामा ३०, नवलपरासी पूर्वमा ८२, नवलपरासी पश्चिममा १५, तनहुँमा २२ र चितवनमा १३२ जनाको शव फेला परेको छ।

सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। त्यसपछि नवलपरासी पूर्वमा ८२ र गोरखामा ३० जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

बाढी तथा त्यसपछिको विपद्का कारण विभिन्न क्षेत्रका ९१० जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना छन्।

त्यस्तै, रसुवाका १६१ र नुवाकोटका एक जना सम्पर्कविहीन छन्।

विदेशी नागरिकतर्फ मात्रै ५१७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना समेत सम्पर्कविहीन छन्।

सम्पर्कविहीनको खोजीका लागि सुरक्षा निकाय तथा उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन भइरहेका छन्।

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७९६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

बिहीबार मात्रै उद्धारका लागि ६९ वटा हेलिकप्टर उडान भएका छन्। हालसम्म उद्धार गरिएका व्यक्तिमध्ये ५० जना विदेशी नागरिक रहेका छन्।

स्थलमार्गबाट भने हालसम्म ७५६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि हवाई तथा स्थल उद्धारलाई एकसाथ अघि बढाइएको छ।

सरकारले बाढी प्रभावित जिल्लाका लागि तत्काल राहत रकमसमेत उपलब्ध गराउने निर्णय गरेको छ।

प्राधिकरणका अनुसार रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ।

यसबाट प्रभावित परिवारलाई तत्काल आवश्यक राहत तथा मानवीय सहायता उपलब्ध गराउने तयारी गरिएको छ। प्रभावित क्षेत्रमा हालसम्म १० ट्रक राहत सामग्री पठाइएको छ।

राहत सामग्रीमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायत सामग्री छन्। प्रभावित क्षेत्रमा सञ्चार सेटसमेत पठाइएको छ।

खाद्य तथा गैरखाद्य सामग्री पुर्‍याउन हेलिकप्टरबाट चार उडान गरिएको प्राधिकरणले जनाएको छ।

सडक तथा पुलमा क्षति पुगेका कारण स्थलमार्गबाट सामग्री पुर्‍याउन कठिनाइ भएका क्षेत्रमा हवाई माध्यमबाट राहत सामग्री पठाउने काम भइरहेको छ।

भोटेकोशी बाढीपछि रसुवासहित त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न जिल्लामा ठूलो क्षति पुगेको छ। बाढीको बहावसँगै बगेका व्यक्तिको खोजीका क्रममा नदी किनार तथा तल्लो तटीय क्षेत्रमा समेत शव भेटिने क्रम जारी छ।

चितवन, तनहुँ, नवलपरासी पूर्व तथा पश्चिमलगायतका क्षेत्रमा सुरक्षा निकायले नदी किनारमा खोजी तीव्र पारेका छन्। ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने जोखिम कायमै छ।

सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी, उपचार, राहत तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई प्राथमिकतामा राखेको छ। सडक, पुल, विद्युत् तथा सञ्चारलगायत अत्यावश्यक पूर्वाधार क्षतिग्रस्त भएकाले उद्धार र राहत पुर्‍याउनसमेत चुनौती देखिएको छ।

प्राधिकरणले प्रभावित नागरिकको खोजी तथा उद्धारलाई निरन्तरता दिँदै सम्पर्कविहीनको विवरण अद्यावधिक गर्ने काम भइरहेको जनाएको छ।