काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी हालसम्म १५७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार मृतकमा ३४ महिला, ६३ पुरुष, ६ बालिका, ७ बालक र पहिचान खुल्न नसकेका ४७ जना छन्।
प्रहरीका अनुसार बाढीमा परी विभिन्न जिल्लामा शव भेटिएका हुन्। सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव फेला परेको छ। चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान खुल्न नसकेका २८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
जिल्लागत विवरण

रसुवा: ३ पुरुषको शव फेला परेको छ।
नुवाकोट: ६ महिला र ७ पुरुष गरी १३ जनाको शव भेटिएको छ।
धादिङ: १० महिला, १० पुरुष, एक बालिका र पहिचान खुल्न नसकेका ६ जनासहित २७ जनाको शव फेला परेको छ।
गोरखा: २ महिला, ८ पुरुष, एक बालक र पहिचान नखुलेका ८ जनासहित १९ जनाको शव भेटिएको छ।
चितवन: १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनासहित ६४ जनाको शव फेला परेको छ।
तनहुँ: एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एक जनासहित ९ जनाको शव भेटिएको छ।
नवलपरासी पूर्व: २ महिला, १२ पुरुष, ३ बालिका, एक बालक र पहिचान नखुलेका ४ जनासहित २२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। मृतकको संख्या अझै बढ्न सक्ने देखिएको छ।


