भोटेकोशीमा आएको भीषण बाढीबाट १ हजार ३०० भन्दा बढी सवारीसाधनमा क्षति

Headlines जलवायु परिवर्तन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट १ हजार ३०० भन्दा बढी सवारीसाधनमा क्षति पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। बाढीका कारण चीनको केरुङ नाकाबाट सामान ओसारपसार गर्ने मालवाहक सवारीसाधनदेखि यात्रुवाहक बस तथा भन्सार जाँचपासका लागि राखिएका सवारीसाधनसम्ममा ठूलो क्षति पुगेको छ।

महासंघका महासचिव डेकनाथ गौतमका अनुसार बाढीमा करिब ६०० मालवाहक, ३०० यात्रुवाहक र भन्सारमा जाँचपासका लागि राखिएका करिब ४०० सवारीसाधनमा क्षति पुगेको छ। निजी सवारीसाधनमा भएको क्षतिको विवरण भने अझै यकिन हुन सकेको छैन।

गौतमका अनुसार चीनको केरुङ नाकाबाट सामान लिन रसुवा पुगेका तथा भन्सारमा जाँचपासका लागि राखिएका सयौँ ट्रक, कन्टेनर, बस, माइक्रोबस र नयाँ सवारीसाधन बाढीबाट प्रभावित भएका छन्। रसुवा तथा गोसाइँकुण्ड क्षेत्रमा यात्रु लिएर पुगेका सवारीसाधनसमेत बाढीको चपेटामा परेका छन्।

बाढीका कारण सडक तथा पुलमा समेत ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा यातायात सञ्चालन गर्न कठिन भएको छ। महासंघले अर्को सूचना जारी नभएसम्म प्रभावित क्षेत्रका सबै यातायात सेवा स्थगित गरिएको जनाएको छ।

महासचिव गौतमले विपद्को अवस्थामा तत्काल उद्धार तथा राहतका लागि सबै पक्षलाई सक्रिय हुन आग्रह गरेका छन्। उनका अनुसार बाढीबाट यातायात क्षेत्रका व्यवसायी, चालक, सहचालक तथा मजदुरसमेत प्रभावित भएका छन्।

महासंघले सरकारसँग तत्काल सबै सुरक्षा तथा सरकारी संयन्त्र परिचालन गरी बेपत्ताको खोजी, घाइतेको उद्धार तथा उपचारलाई तीव्र बनाउन माग गरेको छ। बाढीबाट क्षति भएका सवारीसाधन तथा प्रभावित व्यवसायीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

त्यस्तै, बाढीका कारण यातायात व्यवसायसँग आश्रित व्यवसायी तथा मजदुरको रोजगारी र आयआर्जन प्रभावित भएकाले उनीहरूलाई पुनः जीविकोपार्जनमा फर्कने वातावरण बनाउन महासंघले माग गरेको छ।

भोटेकोशी बाढीले रसुवाको सडक, पुल, भन्सार, जलविद्युत् आयोजना तथा यातायात संरचनामा ठूलो क्षति पुर्‍याएको छ। एकैपटक ठूलो संख्यामा सवारीसाधनमा क्षति पुग्दा रसुवागढी–केरुङ नाकाबाट हुने आयात–निर्यात तथा सीमा व्यापारसमेत प्रभावित भएको छ।

बाढीपछिको क्षतिको विस्तृत विवरण संकलन भइरहेको अवस्थामा यातायात क्षेत्रमा भएको क्षतिको प्रारम्भिक अनुमानले समेत विपद्को प्रभाव कति व्यापक छ भन्ने देखाएको छ।