रसुवा बाढी : खोज तथा उद्धारमा सहयोग गर्न नेकपाले गठन गर्यो समिति

समाचार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्य संयोजन समितिको आकस्मिक बैठकले रसुवामा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षति प्रलयकारी रहेको जनाएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता अग्नी सापकोटाले क्षतिको अवस्था निकै ठूलो रहेको बताए । उनका अनुसार बाढीको प्रभाव रसुवासहित नुवाकोट, धादिङ, चितवन र पूर्वी नवलपरासीसम्म देखिएको छ । क्षतिको दायरा थप बढ्न सक्ने उनको भनाइ छ ।

बैठकले तत्काल खोज तथा उद्धार कार्यलाई प्राथमिकता दिने निर्णय गरेको सापकोटाले जानकारी दिए । पुनस्र्थापनाको काम भने त्यसपछि अघि बढाउनुपर्ने उनले बताए ।

उनका अनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार तथा आवश्यक सहयोगका लागि पार्टीले बागमती प्रदेश इन्चार्जको संयोजकत्वमा प्रभावित जिल्लाका संयोजक तथा विपद् व्यवस्थापन विभागका प्रतिनिधि सम्मिलित समिति गठन गरेको छ । उक्त समितिले प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सहयोग गर्नुका साथै आवश्यकताअनुसार अन्य सहयोगसमेत गर्नेछ ।

सापकोटाले प्राकृतिक विपत्तिबाट हुने क्षति पूर्ण रूपमा रोक्न कठिन भए पनि प्रविधिको प्रयोगमार्फत त्यसलाई न्यूनीकरण गर्न सकिने बताए । उनले सरकारले सम्पूर्ण शक्ति परिचालन गरी खोज, उद्धार, राहत र पुनस्र्थापनाको काम अघि बढाउनुपर्ने धारणा राखे ।

‘खोज, उद्धार, राहत र पुनस्र्थापनामा हामी सरकारकै साथमा छौँ,’ उनले भने, ‘सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर काम गर्नुपर्छ ।’

बाढी तिब्बततर्फबाट आएको उल्लेख गर्दै सापकोटाले विपद् व्यवस्थापनका लागि चीन सरकारसँग समन्वय गर्न पनि आग्रह गरे । प्रविधिको क्षेत्रमा चीन अगाडि रहेकाले बाढीको जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन चीनसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।

मोबाइल तथा अन्य माध्यमबाट साइरन बज्ने व्यवस्था गरिए पनि त्यसको प्रभावकारिता पर्याप्त नदेखिएको भन्दै उनले त्यसलाई थप प्रभावकारी बनाउन राज्यका सबै स्रोतसाधन र प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।

साथै, विपद् जोखिम न्यूनीकरणका लागि देशभित्रका स्रोतसाधन परिचालनसँगै छिमेकी मित्रराष्ट्र चीनसँग समेत समन्वय गरी सरकारले आवश्यक पहलकदमी लिनुपर्नेमा उनले जोड दिए ।