काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले पछिल्लो प्राकृतिक विपद्बाट पाठ सिक्दै विपद् व्यवस्थापनका लागि आवश्यक अत्याधुनिक उपकरण तथा प्रविधिको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले अकल्पनीय प्राकृतिक विपद्का कारण ठूलो क्षति बेहोर्नुपरेको भन्दै दुःख व्यक्त गरे । उनले भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सरकारले प्रतिक्रियात्मकभन्दा पनि पूर्वतयारीमा आधारित योजना बनाउनुपर्ने बताए ।
साम्पाङले सडक तथा पुल निर्माणभन्दा पनि विपद्का बेला तत्काल उद्धार गर्न आवश्यक उपकरण र स्रोतसाधनको व्यवस्थामा प्राथमिकता दिनुपर्ने धारणा राखे । हेलिकप्टर, एम्बुलेन्स तथा अत्याधुनिक प्रविधियुक्त विपद् व्यवस्थापन उपकरण पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने उनको सुझाव छ ।

उनले पछिल्लो घटनाले देशलाई विपद् व्यवस्थापनका विषयमा गम्भीर पाठ सिकाएको बताए । विपद्मा परेकाहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
सांसद साम्पाङले विपद्का समयमा नेपाल, चीन र भारतबीच सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने बताए । चीनबाट सुरु भएको बाढी नेपाल हुँदै भारततर्फ जाने भएकाले सम्भावित जोखिमबारे सम्बन्धित देशबीच समयमै आधिकारिक सूचना आदानप्रदान हुनुपर्ने उनको भनाइ छ ।
सामाजिक सञ्जाल, भिडियो तथा एआईबाट उत्पादित सामग्रीलाई मात्र आधार बनाएर विपद्सम्बन्धी सूचना प्रवाह गर्न नहुने भन्दै उनले आधिकारिक सूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
साम्पाङले उद्धारका क्रममा समेत थप जोखिम हुन सक्ने भएकाले उद्धारकर्मीहरू सजग भएर अघि बढ्नुपर्ने बताए । बाढी तथा अन्य प्राकृतिक घटनापछि जमिन कमजोर हुनसक्ने र थप क्षति हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर उद्धार कार्य सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
उनले विपद्को समयमा सत्तापक्ष र प्रतिपक्षको विभाजनभन्दा माथि उठेर राष्ट्रिय एकताका साथ काम गर्नुपर्ने बताए । “विपद् कुनै दलको विषय होइन, यो राष्ट्रको साझा चुनौती हो—हामी सबै एक टिम, एक राष्ट्र भएर उद्धार र पुनर्निर्माणमा जुट्नुपर्छ।”
साम्पाङले विपद् प्रभावित नागरिकको सुरक्षा, उद्धार र पुनस्र्थापनालाई साझा राष्ट्रिय दायित्वका रूपमा लिएर सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।


