SEBON’s Capital Market Reset: AI Trading, Auto EDIS & Real-time Holding अब Agendaमा

Sticky News बैंक/वित्त

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारको कारोबार प्रणालीदेखि लगानीकर्ता संरक्षणसम्म सुधार गर्ने गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी), धितोपत्र दलाल, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा सामूहिक लगानी कोषलाई विभिन्न निर्देशन दिएको छ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै बोर्डले बजारलाई थप पारदर्शी, सुरक्षित, प्रविधिमैत्री र लगानीकर्तामैत्री बनाउन निर्देशन जारी गरेको हो।

निर्देशनले विशेषगरी टिएमएसको सुरक्षा परीक्षण, एआईमार्फत हुने कारोबार, मोबाइलबाट कारोबार, अटो ईडिआईएस, रियल टाइम होल्डिङ मिलान, ठूला सेयरधनीको सेयर बिक्री, ब्रोकरको ग्राहक रकम व्यवस्थापन र लगानीकर्ताको गुनासो समाधानलाई प्राथमिकतामा राखेको छ।

नेप्सेलाई प्रविधि सुधारदेखि एआई कारोबार रोक्नेसम्म निर्देशन

बोर्डले नेप्सेलाई कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) को सूचना प्रविधि अडिट तथा भिएपीटी (भल्नरेबिलिटी एसेसमेन्ट एन्ड पेनिट्रेसन टेस्ट) गरी प्रतिवेदन पेश गर्न भनेको छ।

त्यस्तै, कारोबार प्रणाली (नोट्स) मा देखिएका समस्या पहिचान गरी प्रणालीलाई थप आधुनिक, सुरक्षित र सक्षम बनाउन निर्देशन दिइएको छ।

पछिल्लो समय विश्वभर बढिरहेको कृत्रिम बौद्धिकता (एआई) आधारित कारोबारलाई पनि बोर्डले चासोको विषय बनाएको छ। अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आवश्यकता अध्ययन नगरेसम्म एआईमा आधारित अर्डर प्रविष्टि रोक्न नेप्सेलाई निर्देशन दिइएको छ। यसबारे लगानीकर्तालाई स्पष्ट जानकारी गराउनसमेत भनिएको छ।

बोर्डले मोबाइल एपबाटै दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको छ। त्यस्तै, ‘आफ्टर मार्केट अर्डर’ (एएमओ) लाई प्रभावकारी बनाउन र सि–केवाइसीलाई टिएमएससँग जोड्न पनि भनिएको छ।

नेप्सेमा थप सूचकाङ्क र अटो ईडिआईएस

सेबोनले नेप्से ३० र नेप्से हाई क्यापजस्ता नयाँ सूचकाङ्क विकास गर्न निर्देशन दिएको छ। सूचकाङ्क गणना गर्दा फ्री–फ्लोट सेयरलाई आधार बनाउने व्यवस्था गर्नसमेत भनिएको छ।

सिडिएससी र टिएमएसबीच एपीआई इन्टिग्रेसन गरी ‘अटो ईडिआईएस’ लागू गर्न पनि बोर्डले निर्देशन दिएको छ। यो व्यवस्था लागू भए सेयर बिक्री गरेपछि लगानीकर्ताले म्यानुअल रूपमा ईडिआईएस गर्नुपर्ने झन्झट हट्नेछ।

सिडिएससीमार्फत आईपीओ निष्कासन, बोनस तथा हकप्रद सेयर, सेटलमेन्ट र डिम्याट डेबिटसम्बन्धी सूचना लगानीकर्ताको मोबाइलमा तत्काल पुग्ने गरी ‘पुस नोटिफिकेसन’ व्यवस्था गर्नसमेत निर्देशन दिइएको छ।

टिएमएस र सिडिएससीको होल्डिङ नमिल्ने समस्या समाधान गर्न निर्देशन

हाल टिएमएसमा देखिने डिपी होल्डिङ र सिडिएससीमा रहेको वास्तविक सेयर होल्डिङबीच देखिने अन्तरलाई हटाउन बोर्डले रियल–टाइम रिकन्सिलिएसनको व्यवस्था गर्न भनेको छ।

त्यस्तै, फ्र्याक्सन सेयर अर्थात् टुक्रा सेयर कारोबारमा देखिएका समस्या समाधानका लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न पनि निर्देशन दिइएको छ।

ब्रोकरको आफ्नै रकम र ग्राहकको रकम अलग राख्नुपर्ने

धितोपत्र दलाल कम्पनीलाई ग्राहकको रकम र आफ्नो रकम छुट्टाछुट्टै बैंक खातामा राख्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न बोर्डले निर्देशन दिएको छ।

लगानीकर्ताका गुनासा सम्बोधन गर्न प्रत्येक ब्रोकर कम्पनीमा अनिवार्य रूपमा ‘गुनासो समाधान इकाइ’ गठन गर्नुपर्नेछ। त्यस्तो इकाइले महिनाको विवरण महिना सकिएको तीन कार्यदिनभित्र बोर्डमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

धितोपत्र कारोबारको राफसाफ तथा रकम भुक्तानी हुने टी प्लस २ अवधिमा लगानीकर्तालाई रकम उपलब्ध गराउने व्यवस्था प्रभावकारी बनाउन पनि ब्रोकर र नेप्सेलाई निर्देशन दिइएको छ।

मर्चेन्ट बैंकरलाई स्वार्थको द्वन्द्व रोक्न निर्देशन

मर्चेन्ट बैंकरले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध गर्दा स्वार्थको द्वन्द्व नहुने व्यवस्था सुनिश्चित गर्नुपर्ने भएको छ।

नयाँ आईपीओ निष्कासनका लागि आवेदन दिँदा सम्बन्धित कम्पनीको लेखापरीक्षण प्रतिवेदन अनिवार्य रूपमा संलग्न गर्न पनि बोर्डले निर्देशन दिएको छ।

५ प्रतिशतभन्दा बढी सेयर भएका ठूला सेयरधनीमाथि निगरानी

सूचीकृत कम्पनीका आधारभूत तथा ठूला सेयरधनीको सेयर बिक्रीमा पनि नयाँ व्यवस्था गरिएको छ।

अब कुनै कम्पनीको ५ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने आधारभूत सेयरधनीले आफ्नो सेयर बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ।

कम्पनीले प्राप्त गरेको यस्तो जानकारी नेप्सेमार्फत सार्वजनिक गर्नुपर्नेछ। यसले ठूला सेयरधनीबाट हुने सेयर बिक्रीबारे बजारमा समयमै सूचना पुग्ने र लगानीकर्तालाई निर्णय लिन सहज हुने अपेक्षा गरिएको छ।

म्युचुअल फन्डलाई वेबसाइटमा नियमित विवरण राख्न निर्देशन

सामूहिक लगानी कोषका योजना व्यवस्थापकलाई पनि बोर्डले पारदर्शिता बढाउन निर्देशन दिएको छ।

योजना स्वीकृतिको विवरण पुस्तिका, दैनिक बिक्री तथा पुनःखरिद भएका इकाइ, नेट एसेट भ्यालु (एनएभी) र इकाइधनीको संख्यालगायत विवरण नियमित रूपमा आफ्नो वेबसाइटमा राख्नुपर्नेछ।

महिनामा कम्तीमा एक वित्तीय साक्षरता कार्यक्रम

बोर्डले पूँजी बजारमा वित्तीय साक्षरता बढाउन नेप्से, सिडिएससी, धितोपत्र दलाल र मर्चेन्ट बैंकरलाई पनि जिम्मेवारी दिएको छ।

यी संस्थाले हरेक महिना कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।

सेबोनको पछिल्लो निर्देशनले पूँजी बजारको प्राविधिक प्रणालीदेखि ब्रोकरको वित्तीय अनुशासन, ठूला सेयरधनीको कारोबार, म्युचुअल फन्डको सूचना प्रवाह र लगानीकर्ता शिक्षासम्मका विषय समेटेको छ। बोर्डले यी व्यवस्था कार्यान्वयन भएपछि बजार कारोबार थप सुरक्षित, पारदर्शी र व्यवस्थित हुने अपेक्षा गरेको छ।