काठमाडौँ — नेपालको विज्ञापन उद्योगको सर्वोच्च सम्मान ‘कृति अवार्ड्स २०८३’ (१३ औं संस्करण) आयोजनाको औपचारिक घोषणा गरिएको छ। ‘रेडबुल ईनर्जी ड्रिंक्स’को मुख्य प्रायोजनमा यस पटकको कार्यक्रम ‘रेडबुल १३ औं कृति अवार्ड्स २०८३’ को नामबाट आगामी महिना भव्य रूपमा आयोजना हुन लागेको हो।
नेपाल विज्ञापन संघ (आन) को आयोजनामा हुन लागेको यस कार्यक्रममा नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स नेपाल, ब्रोडकास्टिङ एशोसिएसन, एकोर्याब र ब्रोडकास्टर्स फोरम सह-आयोजकका रूपमा रहेका छन्। त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI), नेपाल उद्योग परिसंघ (CNI), नेपाल चेम्बर अफ कमर्स र नेपाल सरकारको विज्ञापन बोर्डले कार्यक्रमलाई आधिकारिक मान्यता तथा सम्बन्धन (Endorsement) प्रदान गरेका छन्।
विधा विस्तार र अवार्ड संख्या
यस पटक नेपाली विज्ञापन बजारको आधुनिक विकासलाई समेट्दै विधाहरू उल्लेख्य रूपमा थप गरिएको छ:

-
कुल अवार्ड: टेलिभिजन, छापा, रेडियो, डिजिटल, सामाजिक सञ्जाल तथा एकीकृत अभियान गरी ३१ विधामा कुल ५५ वटा अवार्ड प्रदान गरिनेछ।
-
नयाँ विधा: डिजिटल, इभेन्ट्स र इन्टिग्रेटेड गरी ३ नयाँ क्षेत्रसहित २४ वटा नयाँ विधा समावेश गरिएको छ।
निष्पक्ष मूल्यांकन र मनोनयन खुला
अवार्डलाई पारदर्शी र निष्पक्ष बनाउन काठमाडौँ विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. विजय के.सी.को अध्यक्षतामा जुरी गठन गरिएको छ। जुरीमा वरिष्ठ सञ्चारकर्मी भारती सिलवाल गिरी र वरिष्ठ मार्केटिङ विज्ञ रविन्द्रमान श्रेष्ठ लगायत विषयगत विशेषज्ञहरू रहेका छन्।
-
सहभागिताको समयसीमा: २०८० वैशाख १ गतेदेखि २०८३ असार मसान्तसम्म उत्पादन तथा प्रसारण/प्रदर्शन भएका सिर्जनात्मक कार्यहरू दर्ता गराउन सकिनेछ।
-
मनोनयन दर्ता: इच्छुक विज्ञापन एजेन्सी, सिर्जनाकर्ता तथा ब्रान्डहरूका लागि मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ।
विज्ञापन बजार विस्तारको अपेक्षा
कार्यक्रम घोषणा गर्दै आनका अध्यक्ष सुदीप थापाले भने, “कृति अवार्ड्सले सुरुवाती दिनदेखि नै विज्ञापन क्षेत्रको सिर्जनात्मकता र मौलिकतालाई प्रवर्धन गर्दै आएको छ। यस पटक नयाँ विधाहरू थपेर यसलाई थप विस्तार गरिएको छ, जसले नेपाली विज्ञापनलाई विश्व बजारमा चिनाउन र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्याउनेछ।”


