काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा मुलुकको आर्थिक संरचनामै पुनर्संरचना गर्नुपर्ने समय आएको बताएका छन्।
मंगलबार काठमाडौंमा सुरु भएको १८औँ नाडा अटो शो २०२६को उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले निजी क्षेत्रको लगानी सुरक्षित र व्यावसायिक वातावरण नबनेसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए।
उनका अनुसार अहिले समग्र माग बढ्न सकेको छैन। उद्योग तथा व्यवसाय सञ्चालनमा कठिनाइ छ भने व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको छ। ‘मेरो ३६ वर्षको व्यावसायिक यात्रामा व्यवसायीको मनोबल यति कमजोर अवस्थामा पुगेको कहिल्यै देखेको थिइनँ,’ उनले भने।

श्रेष्ठले अर्थतन्त्र चुनौतीपूर्ण र बजार शिथिल रहेको भन्दै सरकारले बजेटमार्फत गरेका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताए। सरकारले अर्थतन्त्र चलायमान बनाउने, आगामी ५ देखि ७ वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने, अर्थतन्त्रको आकार १ खर्ब अमेरिकी डलर पुर्याउने तथा १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिए पनि त्यसअनुसार रणनीति र कार्यक्रम अघि बढ्न नसकेको उनको भनाइ छ।
अटोमोबाइलबाट ८१ अर्ब राजस्व
श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई राज्यले स्पष्ट प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार गत आर्थिक वर्षमा नेपालमा १ खर्ब ६ अर्ब रुपैयाँ बराबरको अटोमोबाइल आयात भएको थियो। उक्त आयातबाट सरकारले ८१ अर्ब रुपैयाँ राजस्व प्राप्त गरेको उनले बताए।
कुल १२ खर्ब रुपैयाँ राजस्व संकलन हुने अवस्थामा एउटा क्षेत्रबाट मात्रै ८१ अर्ब रुपैयाँ योगदान हुनु महत्वपूर्ण भएको भन्दै उनले अटोमोबाइल क्षेत्रप्रतिको सरकारी दृष्टिकोण स्पष्ट हुनुपर्ने बताए।
स्वदेशी उद्योगलाई संरक्षण आवश्यक
अटोमोबाइल क्षेत्रमा आयात प्रतिस्थापनका लागि स्वदेशमै उद्योग स्थापना गर्नुपर्नेमा श्रेष्ठले जोड दिए। उद्योग स्थापना भएपछि त्यसको संरक्षण र सञ्चालनमा देखिएका समस्या समाधान गर्न राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ।
उनले कतिपय उद्योग स्थापना भए पनि सरकारले तिनको अवस्था र समस्या बुझ्न नसकेको बताए। दशकौँदेखि बन्द रहेका उद्योग सञ्चालन गर्ने प्रयास सकारात्मक भए पनि चलिरहेका उद्योगको समस्या बेवास्ता गरेर मात्रै पुराना उद्योग खोल्ने प्रयास पर्याप्त नहुने उनको धारणा छ।
‘बन्द उद्योग खोल्ने प्रयास भइरहेको छ, तर चलिरहेका उद्योगको अवस्था के छ भन्नेमा पनि सरकारले ध्यान दिनुपर्छ,’ श्रेष्ठले भने।
अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेका समस्या समाधान गर्न सरकारसँग आग्रह गर्दै उनले लगानीको सुरक्षा, नीतिगत स्थिरता र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए।


