बाढी-पहिरोले देशभरका सडक प्रभावित, अरनिको र मेची राजमार्ग पूर्ण अवरुद्ध

Headlines पूर्वाधार तथा विकास निर्माण

काठमाडौं, भदौ ८ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डको आवागमन प्रभावित भएको छ। सोमबार बिहान ६ः२० बजेसम्मको प्रहरी विवरणअनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केही खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

कोशी प्रदेशमा भोजपुरको बोखिम क्षेत्रमा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ। इलामको राजदुवालीमा झापा–ताप्लेजुङ सडकअन्तर्गत मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। दुवै स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाइएको छ।

बागमती प्रदेशमा वर्षाका कारण जोखिम बढेपछि केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। काभ्रेको बीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा प्रतिबन्ध छ। कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राति सवारी चलाउन रोक लगाइएको छ।

सिन्धुपाल्चोकको कोदारी र लिपिङ क्षेत्रमा अरनिको राजमार्ग पहिरो तथा बाढीका कारण पूर्ण रूपमा बन्द छ। रसुवाको खाल्टे क्षेत्रमा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक तथा पासाङ ल्हामु सडकखण्ड पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

नुवाकोटको शिवपुरी क्षेत्रमा टोखा–छहरे सडकमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

गण्डकी प्रदेशमा पहिरो प्रभावित केही सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। बागलुङको बेलबगरस्थित कालीगण्डकी करिडोर, मुस्ताङको कैकुखोलास्थित बेनी–जोमसोम सडक र मनाङको खोत्रो क्षेत्रमा चामे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा छन्।

कर्णाली प्रदेशमा रुकुम पश्चिमको रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

वर्षा अझै जारी रहेकाले सडकमा पहिरो तथा बाढीको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। प्रहरीले यात्रु तथा चालकलाई यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।