काठमाडौं । ऋण चुक्ता नभएपछि व्यवसायी तथा पूर्व अर्थ सहायकमन्त्री डा. रुप ज्योतिको स्वामित्वमा रहेको पर्साको वीरगञ्जस्थित ६१ हजार २ सय ७० वर्गमिटर जग्गा लिलामी हुने भएको छ। राष्ट्रिय वाणिज्य बैंकले उक्त सम्पत्ति बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको हो।
बैंकले एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिले लिएको कर्जा चुक्ता नगरेपछि धितोमा रहेको जग्गा लिलामीको प्रक्रिया अघि बढाएको हो। बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ऋणी तथा जमानीकर्तालाई ३५ दिनभित्र सम्पूर्ण साँवा, ब्याज तथा अन्य दस्तुर चुक्ता गरी कर्जा राफसाफ गर्न आग्रह गरेको छ।
एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिले राष्ट्रिय वाणिज्य बैंकबाट चालू पुँजी कर्जा, ब्रिज ग्याप कर्जा १ र ब्रिज ग्याप कर्जा ३ गरी विभिन्न शीर्षकमा कर्जा लिएको थियो। पटक–पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा समेत कर्जा चुक्ता नभएपछि बैंकले धितो बिक्रीको प्रक्रिया अघि बढाएको जनाएको छ।

कर्जाको सुरक्षणका लागि व्यक्तिगत तथा संस्थागत जमानीकर्ताका रूपमा डा. रुप ज्योति, अभिक ज्योति, सुरुची ज्योति र उपष्ठान एन्ड कम्पनी प्रालि रहेका छन्।
६१ हजार २ सय ७० वर्गमिटर जग्गा
बैंकले लिलामीमा राखेको सम्पत्ति पर्साको मालपोत कार्यालय वीरगञ्जमा दर्ता रहेको चोर्नी–२ स्थित कित्ता नम्बर १३ र १५ को जग्गा हो।
कित्ता नम्बर १३ को क्षेत्रफल ३३ हजार १ सय ७५ वर्गमिटर र कित्ता नम्बर १५ को क्षेत्रफल २८ हजार ९५ वर्गमिटर छ। दुवै कित्ताको कुल क्षेत्रफल ६१ हजार २ सय ७० वर्गमिटर अर्थात् करिब १५ बिघा ४ कट्ठा १० धुर रहेको छ।
बैंकले उक्त धितो सम्पत्तिको न्यूनतम लिलामी मूल्य करिब ५७ करोड ९७ लाख २१ हजार रुपैयाँ तोकेको जनाएको छ।
३६औँ दिनदेखि बोलपत्र
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार ऋणी तथा जमानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा ३६औँ दिनदेखि ५०औँ दिनसम्म इच्छुक व्यक्ति तथा संस्थाबाट सिलबन्दी बोलपत्र आह्वान गरिनेछ।
इच्छुक बोलपत्रदाताले बैंकको सम्बन्धित शाखा कार्यालयमा कार्यालय समयभित्र बोलपत्र पेस गर्नुपर्नेछ। प्राप्त बोलपत्र ५१औँ दिनमा खोलिने बैंकले जनाएको छ।
बैंकले तोकिएको अवधिभित्र कर्जा चुक्ता नभएमा धितो सम्पत्ति लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाउने स्पष्ट पारेको छ।
ऋणीलाई कालोसूचीमा राख्ने चेतावनी
राष्ट्रिय वाणिज्य बैंकले कर्जा चुक्ता नगरेमा ऋणी, प्रोप्राइटर तथा सञ्चालकहरूलाई नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कालोसूचीमा समावेश गर्ने प्रक्रिया समेत अघि बढाइने जनाएको छ।
यससँगै साँवा, ब्याज तथा अन्य शुल्क असुल गर्न बैंकले प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।
यसरी लामो समयदेखि कर्जा भुक्तानी हुन नसकेपछि प्रतिष्ठित व्यवसायी ज्योति परिवारसँग सम्बन्धित कम्पनीको ठूलो परिमाणको अचल सम्पत्ति बैंकको लिलामी प्रक्रियामा पुगेको हो।



