काठमाडौं । देशका विभिन्न स्थानमा एलपी ग्यास अभाव भएको गुनासो बढिरहेका बेला नेपाल आयल निगमको तथ्यांकले भने पछिल्लो समय ग्यासको आयात र बजारमा बिक्री–वितरण झनै बढेको देखाएको छ। निगमका अनुसार साउनमा मात्रै पाँच महिनायताकै सबैभन्दा धेरै ५० हजार ३९६ मेट्रिक टन एलपी ग्यास आयात भएको छ।
निगमले भदौ ३ गते सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा आयात भएको ग्यासबाट ४० लाखभन्दा बढी १४.२ किलोका सिलिन्डर बजारमा पठाइएको छ। यो अघिल्लो महिना असारको तुलनामा करिब ९ लाख सिलिन्डर बढी हो।
पछिल्लो पाँच महिनाको तथ्यांक हेर्दा चैतमा ३५ हजार ७९९.४५ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो। उक्त महिनामा करिब २७ लाख ३२ हजार ३५५ सिलिन्डर बजारमा पठाइएको थियो।

वैशाखमा ३२ हजार ५६.४४ मेट्रिक टन र जेठमा ३२ हजार ५४२.२९ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ। असारमा भने आयात बढेर ४४ हजार ४४४.४० मेट्रिक टन पुगेको थियो।
साउनमा आइपुग्दा आयात ५० हजार ३९६.३५ मेट्रिक टन पुगेको छ। यससँगै साउनमा बजारमा जाने सिलिन्डरको संख्या पनि पाँच महिनायताकै उच्च भएको निगमको तथ्यांकले देखाउँछ।
आयात घटेको होइन, बढेको छ
पछिल्लो समय विभिन्न स्थानमा ग्यास नपाइएको भन्दै उपभोक्तामा अभावको चिन्ता बढे पनि निगमको तथ्यांकले आयातमा कमी आएको देखाउँदैन। बरु पछिल्लो महिनामा आयात र बजारमा पठाइने सिलिन्डर दुवैको मात्रा उल्लेख्य रूपमा बढेको छ।
निगमका अनुसार साउनमा मात्रै अघिल्लो महिनाको तुलनामा करिब ९ लाख बढी सिलिन्डर बजारमा पठाइएको छ। यसले बजारमा ग्यासको आपूर्ति घटेका कारण मात्र अभाव देखिएको भन्ने धारणालाई तथ्यांकले समर्थन नगर्ने देखिन्छ।
निगमले १४.२ किलोका एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण नियमित रहेको जनाएको छ। आगामी दिनमा पनि आयात तथा बिक्री–वितरण नियमित रहने निगमको भनाइ छ।
स्टक थुपार्दा उल्टै अभाव हुन सक्ने
निगमले बजारमा तत्काल ग्यास अभाव हुने अवस्था नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ। अभाव हुने आशंकामा घरघरमा आवश्यकताभन्दा बढी सिलिन्डर थुपार्दा वितरण प्रणालीमा थप दबाब पर्न सक्ने निगमको भनाइ छ।
निगमका अनुसार आपूर्ति नियमित हुँदाहुँदै उपभोक्ताले अतिरिक्त सिलिन्डर भण्डारण गर्न थाले त्यसले बजारमा कृत्रिम अभावको अवस्था सिर्जना गर्न सक्छ। त्यसैले उपलब्ध तथ्यांकलाई आधार बनाएर उपभोक्तालाई संयमित हुन र आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न निगमले आग्रह गरेको हो।
पछिल्लो पाँच महिनाको तथ्यांकले भने ग्यासको आयात र बजारमा पठाइने मात्रा घटेको नभई लगातार बढेको देखाएको छ। साउनमा भएको ५० हजार मेट्रिक टनभन्दा बढीको आयात र ४० लाखभन्दा बढी सिलिन्डरको वितरण पछिल्लो समयकै उच्च आपूर्ति हो।


