काठमाडौं — बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बन्दै गए पनि उपभोक्ताको माग र बिक्री भने असामान्य रूपमा बढेको छ। नेपाल आयल निगमको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ४० लाख ३६ हजार ३६४ सिलिण्डर ग्यास बिक्री भएको छ। यो अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा करिब २९ प्रतिशत बढी हो।
ग्यासको आयातमा आएको कमीपछि केही महिनाअघि बजारमा देखिएको अभाव, आधा भरिएका सिलिण्डर बिक्री र त्यसपछि उपभोक्ताले गरेको अतिरिक्त सञ्चयका कारण अहिले माग अस्वाभाविक रूपमा बढेको व्यवसायीको बुझाइ छ। आयात तथा आपूर्ति प्रणाली सामान्य बन्दै गए पनि पुरानो अभावको मनोवैज्ञानिक असरका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर खोज्दा बजारमा दबाब देखिएको हो।
नेपाल आयल निगमका अनुसार काठमाडौं उपत्यकामा सामान्य अवस्थामा दैनिक ३५ देखि ३७ हजार सिलिण्डरको माग हुन्छ। तर अहिले दैनिक ५ हजारदेखि ८ हजार सिलिण्डर थप आपूर्ति भइरहेको छ। भदौ १ गते उपत्यकामा ५२ हजार ५७६ सिलिण्डर बिक्री भएको थियो भने भदौ २ गते ४७ हजार ३८८ सिलिण्डर बिक्री हुँदैछ।
साउन २७ देखि भदौ २ गते साँझसम्म मात्रै उपत्यकामा ३ लाख ९ हजार ५५३ सिलिण्डर बिक्री भएको निगमले जनाएको छ। यस अवधिको दैनिक औसत बिक्री ४४ हजारभन्दा बढी हो।
बिक्री बढ्नुको कारण के हो ?
गत फागुनमा बाह्य कारणले एलपी ग्यासको आयात घटेपछि बजारमा आपूर्ति व्यवस्थापन गर्न सरकारले आधा भरिएका सिलिण्डर बिक्री गर्ने व्यवस्था गरेको थियो। त्यसपछि बजारमा ग्यासको उपलब्धता कायम राख्न अपनाइएको उक्त व्यवस्थाको प्रभाव पछिल्ला महिनाको बिक्री तथ्यांकमा पनि देखिएको छ।
चालु आर्थिक वर्षको साउनमा ५७ हजार ३१६ मेट्रिक टन एलपी ग्यास बिक्री भएको निगमको तथ्यांक छ। यो ४० लाख ३६ हजार ३६४ सिलिण्डर बराबर हो।
गत आर्थिक वर्ष २०८२/८३ को साउनमा ४४ हजार ३१८ मेट्रिक टन अर्थात् ३१ लाख २० हजार ९८६ सिलिण्डर बिक्री भएको थियो। त्यसअघि २०८१/८२ को साउनमा ४५ हजार ७३५ मेट्रिक टन अर्थात् ३२ लाख २० हजार ७७५ सिलिण्डर बिक्री भएको थियो।
यसरी दुई वर्षअघिको तुलनामा पनि चालु आर्थिक वर्षको साउनमा ग्यास बिक्री उल्लेख्य बढेको देखिन्छ।
आयात घटेको समयमा बिक्री व्यवस्थापनमा दबाब
निगमको तथ्यांकले ग्यास आपूर्तिमा समस्या देखिएको अवधिमा आयात उल्लेख्य घटेको देखाउँछ। गत चैतमा ३८ हजार ८०० मेट्रिक टन ग्यास आयात भएको थियो। त्यस अवधिमा आधा भरिएका ५४ लाख ६४ हजार ७८९ सिलिण्डर बिक्री गरिएको थियो।
अघिल्लो वर्षको चैतमा भने ४८ हजार ३२७ मेट्रिक टन ग्यास आयात भएको थियो र ३४ लाख ३ हजार ३१० थान पूरा भरिएका सिलिण्डर बिक्री भएका थिए।
त्यस्तै, गत वैशाखमा ३२ हजार ५६ मेट्रिक टन ग्यास आयात भएको थियो भने अघिल्लो वर्षको वैशाखमा ४६ हजार ५०३ मेट्रिक टन आयात भएको थियो। जेठमा यस वर्ष ३३ हजार ८४२ मेट्रिक टन आयात हुँदा अघिल्लो वर्ष ४९ हजार ८१६ मेट्रिक टन आयात भएको थियो।
असारमा भने ग्यास आयात केही बढेर ४४ हजार ५४४ मेट्रिक टन पुगेको थियो। अघिल्लो वर्षको सोही महिनामा ४७ हजार ९३३ मेट्रिक टन आयात भएको थियो।
डिलरबाट बिक्री सुरु भएपछि सहज
एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार सोमबारदेखि डिलरमार्फत नै ग्यास बिक्री हुन थालेपछि वितरण प्रणाली थप सहज भएको छ। अहिलेको समस्या आपूर्तिको भन्दा वितरण र उपभोक्ताको अतिरिक्त मागसँग बढी सम्बन्धित रहेको उनको भनाइ छ।
उनका अनुसार पछिल्लो समय आपूर्ति बढ्दै गएकाले अबको एक साताभित्र बजार सामान्य अवस्थामा फर्किने अपेक्षा छ।
‘स्टक राख्ने’ प्रवृत्तिले थप्यो दबाब
निगमका अनुसार काठमाडौं उपत्यकामा अहिले सामान्य मागभन्दा उल्लेख्य बढी सिलिण्डर बजारमा पठाइएको छ। तर उपभोक्ताले भविष्यमा फेरि अभाव हुन सक्ने आशंकामा एकभन्दा बढी सिलिण्डर राख्ने प्रवृत्ति बढाउँदा वास्तविक खपतभन्दा बजार माग बढी देखिएको छ।
यसले ग्यास पर्याप्त हुँदाहुँदै पनि डिलर र बिक्री केन्द्रमा लाइन तथा अभावजस्तो अवस्था सिर्जना गर्न सक्छ। यही कारण निगमले आवश्यकताभन्दा बढी सिलिण्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
अब आपूर्ति मात्रै होइन, वितरण प्रणाली सुधार चुनौती
पछिल्लो अवस्थाले नेपालमा एलपी ग्यासको समस्या केवल आयातमा निर्भर नभई आपूर्ति, वितरण र उपभोक्ताको व्यवहारसँग समेत जोडिएको देखाएको छ। आयात सामान्य अवस्थामा फर्किएपछि पनि पुरानो अभावको असरका कारण माग एकैपटक बढ्दा वितरण प्रणालीमा दबाब परेको हो।
त्यसैले आगामी दिनमा ग्यास आपूर्ति नियमित राख्न पर्याप्त आयातसँगै डिलरस्तरको वितरण, उद्योगबाट हुने बिक्री र सिलिण्डरको आवागमनलाई व्यवस्थित बनाउनुपर्ने देखिएको छ। निगमले भने हालको आपूर्ति दर कायम रहे केही दिनमै बजारमा देखिएको असहजता हट्ने जनाएको छ।



