काठमाडौं । नेपाल राष्ट्र बैंकले घरेलु, साना तथा मझौला व्यवसायीलाई व्यवसायको पैसा र व्यक्तिगत कारोबार मिसाएर सञ्चालन नगर्न आग्रह गरेको छ। व्यवसायको वास्तविक आम्दानी, खर्च, नाफा, दायित्व र नगद प्रवाह स्पष्ट देखिने गरी व्यवसाय र व्यक्तिगत कारोबारका लागि छुट्टाछुट्टै बैंक खाता प्रयोग गर्न केन्द्रीय बैंकले सुझाव दिएको हो।
राष्ट्र बैंकले मंगलबार जारी गरेको वित्तीय चेतनासम्बन्धी सन्देशमा साना तथा मझौला व्यवसायको वित्तीय व्यवस्थापन कमजोर हुँदा व्यवसायको वास्तविक अवस्था पहिचान गर्न कठिन हुने भन्दै व्यवस्थित वित्तीय अभिलेख राख्न जोड दिएको छ।
व्यवसायबाट प्राप्त आम्दानी व्यक्तिगत खर्चमा प्रयोग गर्ने तथा व्यक्तिगत स्रोतबाट व्यवसायको खर्च धान्ने प्रवृत्तिले व्यवसायको वास्तविक वित्तीय अवस्था छुट्याउन कठिन हुने राष्ट्र बैंकको सन्देशको मूल आशय छ। त्यसैले व्यवसाय सञ्चालनका लागि छुट्टै बैंक खाता प्रयोग गरी सबै आम्दानी र खर्चको अभिलेख राख्न आग्रह गरिएको छ।

राष्ट्र बैंकले व्यवसायको प्रकृतिअनुसार आवश्यक दर्ता, अनुमति, कर तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न पनि व्यवसायीलाई सचेत गराएको छ। व्यवसायको आम्दानी, खर्च, सम्पत्ति, दायित्व र लगानीको नियमित हिसाब राख्न तथा वित्तीय विवरण तयार गर्न प्रविधिको प्रयोग गर्न सुझाव दिइएको छ।
व्यवसाय विस्तारका क्रममा आवश्यक पर्ने पुँजी तथा स्रोतको पहिचान गरेर मात्र वित्तीय सेवा छनोट गर्न राष्ट्र बैंकले भनेको छ। बचत, भुक्तानी सेवा, कर्जा तथा अन्य वित्तीय उपकरण प्रयोग गर्नुअघि व्यवसायको आवश्यकता मूल्यांकन गर्नुपर्नेमा केन्द्रीय बैंकले जोड दिएको छ।
कर्जा लिँदा ब्याजदर मात्र नभई सेवा शुल्क, अन्य लागत, भुक्तानीका शर्त र सम्भावित जोखिमसमेत हेर्न राष्ट्र बैंकले सुझाव दिएको छ। विभिन्न वित्तीय संस्थाका विकल्पबीच लागत, सुविधा, जोखिम तथा दीर्घकालीन प्रभावको तुलना गरेर निर्णय गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ।
व्यवसायमा आउने जोखिम व्यवस्थापनका लागि एउटै स्रोत वा क्षेत्रमा मात्र निर्भर नहुन पनि राष्ट्र बैंकले आग्रह गरेको छ। व्यवसायको प्रकृति र सम्भावित जोखिमअनुसार लगानी तथा स्रोतको विविधीकरण गर्नुपर्ने र व्यवसायिक सम्पत्तिमा हुन सक्ने क्षतिबाट जोगिन बीमाको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।
राष्ट्र बैंकले उद्यमी तथा कर्मचारीसँग सम्बन्धित जोखिमलाई पनि वित्तीय योजनामा समेट्न सुझाव दिएको छ। व्यक्तिगत बीमा, अवकाश योजना तथा भविष्यमा आउन सक्ने वित्तीय दायित्वका लागि अहिलेबाटै योजना बनाउनुपर्ने उसको भनाइ छ।
व्यवसायको सफलता केवल बिक्री र आम्दानीमा निर्भर नहुने भन्दै राष्ट्र बैंकले बाह्य वातावरणको प्रभावबारे समेत सचेत रहन व्यवसायीलाई आग्रह गरेको छ। नेपालको आर्थिक, राजनीतिक, सामाजिक तथा प्रविधिगत परिवर्तनका साथै प्रतिस्पर्धा र नियामकीय व्यवस्थाले बजार, आम्दानी र खर्चमा पार्न सक्ने असरको नियमित मूल्यांकन गर्नुपर्ने बताइएको छ।
त्यस्तै, वित्तीय सेवा प्रयोग गर्दा ग्राहक अधिकारबारे जानकारी राख्न र समस्या परे गुनासो गर्ने निकायको जानकारी लिन राष्ट्र बैंकले आग्रह गरेको छ। वित्तीय सेवा तथा उत्पादन छनोट गर्दा आधिकारिक र निष्पक्ष सूचना तथा सल्लाहका स्रोत प्रयोग गर्नुपर्नेमा पनि केन्द्रीय बैंकले जोड दिएको छ।
राष्ट्र बैंकका अनुसार वित्तीय रूपमा सक्षम उद्यमीले व्यवसायलाई दिगो बनाउन, रोजगारी सिर्जना गर्न, नयाँ प्रविधि तथा नवप्रवर्तन अपनाउन र आम्दानी विस्तार गर्न सक्छन्। त्यसैले व्यवसायीको वित्तीय क्षमता निरन्तर अभिवृद्धि गर्नु आवश्यक रहेको केन्द्रीय बैंकले जनाएको छ।
वित्तीय सेवासम्बन्धी गुनासोका लागि राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टल तथा वित्तीय ग्राहक संरक्षण इकाइमा सम्पर्क गर्न सकिने व्यवस्था रहेको छ। वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नम्बर ०१–५७१९६०५ रहेको राष्ट्र बैंकले जनाएको छ।


