काठमाडौं । नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई कम्प्लेक्स, पानीपोखरीमा झण्डोत्तोलनसहित विशेष कार्यक्रम आयोजना गरी इन्डोनेसियाको ८१औँ स्वतन्त्रता दिवस मनाएको छ।
कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का निवर्तमान अध्यक्षसमेत रहेका इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको राष्ट्रिय झण्डा फहराउनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सन् १९६० मा नेपाल र इन्डोनेसियाबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको मित्रता क्रमशः सुदृढ हुँदै आएको बताउनुभयो। उहाँले विशेषगरी व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा द्विपक्षीय सम्बन्ध थप मजबुत बन्दै गएको उल्लेख गर्नुभयो।

स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रमले इन्डोनेसियाको आर्थिक, सामाजिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्नुका साथै नेपाल र इन्डोनेसियाबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको थियो।
नेपाल र इन्डोनेसियाबीच व्यापार, पर्यटन तथा लगानीको क्षेत्र विस्तार हुँदै गएको छ। नेपालले इन्डोनेसियाबाट खाद्य तेल, कोइला तथा पेट्रोलियम पदार्थ, कागज तथा कागजजन्य वस्तुलगायत सामग्री आयात गर्दै आएको छ। त्यसैगरी नेपालबाट इन्डोनेसियातर्फ छाला, चिया, कफी तथा हस्तकलाजन्य वस्तुलगायत सामग्री निर्यात हुने गरेको छ।
दुई देशबीचको व्यापार असन्तुलन कम गर्न नेपालबाट हुने निर्यात वृद्धि तथा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न थप संयुक्त प्रयास आवश्यक रहेको अवैतनिक वाणिज्य दूतको कार्यालयले जनाएको छ।
अवैतनिक वाणिज्य दूत ढकालले नेपालमा रहेका इन्डोनेसियाली समुदायका सदस्यहरूको उपस्थितिप्रति धन्यवाद व्यक्त गर्दै व्यापार, लगानी तथा पर्यटनका क्षेत्रमा दुई मुलुकबीचको सहकार्यलाई थप विस्तार गर्न वाणिज्य दूतावास प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा नेपालस्थित इन्डोनेसियाली समुदायका सदस्य, वाणिज्य दूतको कार्यालयका कर्मचारी, आइएमई ग्रुपअन्तर्गत विभिन्न संघसंस्थाका विशिष्ट नेतृत्व तथा प्रतिनिधि, शुभेच्छुकलगायतको उपस्थिति रहेको थियो।


