नेपाली संस्कृतिमा महत्वपूर्ण मानिने चाडपर्वमध्ये नागपञ्चमी पनि एक हो । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा नागदेवताको पूजा आराधना गरिन्छ ।
नागलाई पानीका देवता मानिन्छ । वर्षायामको मध्यभागमा पर्ने यो दिनमा नागको पूजा गर्नाले पानी पर्ने जनविश्वास रहँदै आएको छ । आज घरको मुख्य ढोकामा नागको चित्र टाँसी दुबो, फूल, जल, दूध, अक्षता आदि चढाइ पूजा गरिन्छ । केही व्यक्तिहरू नागपञ्चमीका दिन व्रत बस्ने गर्छन् । नाग–नागिनीलाई खुशी पार्न सकेमा १२ ओटा राशीहरुबाट हुन सक्ने सम्भाव्य दोषादि मेटिन्छन्, अतिवृष्टि, अनावृष्टि, बाढी–पहिरो, अकाल मृत्यु, भूकम्प आदि जस्ता दैवी तथा आपत्कालीन विपत्तिबाट सुरक्षित रहन सकिन्छ भन्ने आमजनविस्वास छ ।
नागपञ्चमीका दिन ध्यान गर्दै मनमनले जप–आराधना गर्ने मन्त्र :

कर्पुर गौरम् करूणावतारम्
संसार सारम् भुजगेन्द्र हारम्
सदा वसन्तम् हृदया र वृन्दे
भवम् भवानी सहितम् नवामी ।।
त्वमेव माता च पिता त्वमेव
त्वमेव बन्धु च सखा त्वमेव
त्वमेव विद्या द्रविणम् त्वमेव
त्वमेव सर्वम् ममदेव देव ।।
अस्तिकस्य मुनेर्मातर्जगदानन्द कारिणी
एह्येहि मनसे देवी नागमातर्नमोस्तुते
अनन्त वासुकी शेष पद्मनाभं च कम्बलम्
शंखपालं धार्त राष्ट्रं तक्षकं कलियं नमः ।।
नाग प्रीता भवन्ति शान्तिमाप्नोति बिया विबोः
सशान्ति लोक मा साध्य मोदते सस्थित समः
एतानि नव नामानि नागानाम् च महात्मनः
सायंकाले पठेन्नित्यं प्रातःकाले विशेषत
तस्य विषभयं नास्ति सर्वत्र विजयी भवेत् ।।
किम्बदन्ती
हिन्दू धर्मशास्त्रहरूमा नागको उत्पत्ति र पूजाको महिमाबारे विभिन्न कथाहरू पाइन्छन्। सत्ययुगमा देवता र दानवले वासुकी नागलाई नेति बनाएर समुद्र मन्थन गरेको उल्लेख छ। द्वापरयुगमा श्रीकृष्णले कालिया नागलाई परास्त गरेको कथा पनि प्रसिद्ध छ।
महाभारत अनुसार, कश्यप ऋषिका पत्नी कदरूबाट जन्मेका सन्तान नाग भए। राजा परीक्षितलाई तक्षक नागले डसेपछि उनका छोरा जनमेजयले सर्पयज्ञ गरेका थिए। तर, अस्तिक ऋषिको प्रार्थनाले गर्दा यज्ञ रोकिएको थियो। यस घटनालाई नागपञ्चमी मनाउने प्रचलनको सुरुवात मानिन्छ।
नागलाई शिवजीसँग पनि जोडिएको छ। शिवजीले नागको माला धारण गर्ने भएकाले नागपञ्चमीमा शिवजीको पनि पूजा गरिन्छ। नागलाई धनसम्पत्तिको रक्षक मानिन्छ र यसको पूजाले समृद्धि आउने विश्वास गरिन्छ।
यस पर्वले सर्पको संरक्षण गर्ने सन्देश पनि दिन्छ ।


