विराटनगर । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।
आदर्श माध्यमिक विद्यालय, विराटनगरमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, शिक्षा अभियन्ता अभिषेक घिमिरे, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम तथा शिक्षा मन्त्रालयका सहसचिव एवं विद्यालय शिक्षा महाशाखाका प्रमुख शिव सापकोटा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शिक्षा नीति दीर्घकालीन प्रभाव पार्ने विषय भएकाले कम्तीमा २५–३० वर्षसम्म काम गर्ने गरी दूरदर्शी शिक्षा नीति निर्माण गर्नुपर्ने बताए ।
उनले शिक्षा ऐन निर्माणअघि नै देशभरका शिक्षा सरोकारवालाको आवाज सुन्न आवश्यक रहेकाले सातै प्रदेशमा पुगेर स्थानीय सरोकारवालासँग संवाद सुरु गरिएको बताए ।
विराटनगरबाट सुरु भएको ‘शिक्षा संवाद’ अभियानको दोस्रो दिन आज जनकपुरमा कार्यक्रम हुँदैछ । अभियानअन्तर्गत सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, स्थानीय तह तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग प्रत्यक्ष संवाद गरिनेछ ।


