काठमाडौँ, काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई उपकुलपति नियुक्त गरेका हुन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार मन्त्रालयमा नवनियुक्त उपकुलपति बराललाई नियुक्तिपत्र प्रदान गरे।
शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले बराललाई उपकुलपति नियुक्त गरेका हुन्।

गत जेठ १९ गते बसेको काठमाडौँ विश्वविद्यालयको सिनेट बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिमा राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुंगाना र काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा सदस्य थिए।
बराल काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। उनी काठमाडौँ विश्वविद्यालयमै अध्ययन गरी सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुन्। उनी विश्वविद्यालयको इन्जिनियरिङतर्फको दोस्रो ब्याचका विद्यार्थी थिए।
बरालले काठमाडौँ विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर तथा न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन्।
उनको विशेषज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा रहेको छ। उनी उपप्राध्यापक र सहप्राध्यापक हुँदै प्राध्यापक बनेका हुन्।


