AI Olympiad मा नेपालको Historical Record: सिदान्तलाई Bronze Medal, ३ जनालाई Honourable Mention

Headlines विज्ञान तथा सूचना प्रविधि

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय एआई ओलम्पियाड (IOAI) मा पहिलोपटक ऐतिहासिक पदक हात पारेको छ। कजाखस्तानको अस्तानामा अगस्ट २ देखि ८ सम्म सम्पन्न तेस्रो संस्करणमा नेपालका सिदान्त चतुर्वेदीले कांस्य पदक जितेका हुन्।

प्रतियोगितामा सहभागी नेपालका चारै जना विद्यार्थीले अन्तर्राष्ट्रिय मञ्चमा सफलता हासिल गरेका छन्। सिदान्तले कांस्य जित्दा टोलीका अन्य सदस्यहरू प्रसिद्ध मैनाली, पिताम्बर लामिछाने र आयुष यादवले ‘अनरेबल मेन्सन’ (Honourable Mention) प्राप्त गरे। सफलता हासिल गर्ने चारै जना विद्यार्थी काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा अध्ययनरत छन्।

कजाखस्तानको ‘कम्पिटिटिभ प्रोग्रामिङ फेडेरेसन’ द्वारा आयोजित यसपटकको ओलम्पियाडमा १०३ देश तथा प्रतिनिधिमण्डलका ४६२ विद्यार्थीको सहभागिता थियो। आयोजकका अनुसार यो अहिलेसम्मकै सबैभन्दा ठूलो संस्करण हो।

कस्तो थियो प्रतिस्पर्धा?

प्रतियोगितामा विद्यार्थीहरूले व्यक्तिगत रूपमा दुई वटा ६–६ घण्टाका कठिन चरणहरूमा प्रतिस्पर्धा गरेका थिए। अगस्ट ४ र ६ मा भएको प्रतिस्पर्धामा सहभागीहरूले ‘पाइथन’ (Python)‘जुपीटर नोटबुक’ (Jupyter Notebook) को प्रयोग गरी मेसिन लर्निङ (Machine Learning) सम्बन्धी जटिल समस्याहरू समाधान गर्नुपर्ने थियो। दुवै दिनको समग्र प्रदर्शनका आधारमा अन्तिम नतिजा र पदक निर्धारण गरिएको हो।

नेपालले सन् २०२४ मा बुल्गेरियाको बुर्गासबाट सुरु भएको पहिलो संस्करणदेखि नै IOAI मा निरन्तर सहभागिता जनाउँदै आएको छ। सन् २०२५ मा चीनको बेइजिङमा आयोजित दोस्रो संस्करणमा पनि नेपाल सहभागी भए पनि अघिल्ला दुवै संस्करणमा टोली पदकविहीन बनेको थियो।

तयारीमा सुधारले ल्यायो नतिजा

हिमालयन कम्प्युटेसनल, लिङ्गुइस्टिक एन्ड एआई ओलम्पियाड (HLON) का सहसंस्थापक तथा सहअध्यक्ष चन्दन गुप्ताका अनुसार तयारीमा गरिएको सुधार नै यसपटकको सफलताको मुख्य कारक हो।

“अघिल्ला दुई संस्करणमा हामी पर्याप्त तयारीबिनै सहभागी भएका थियौँ। यसपटकको सुधारिएको प्रशिक्षणले नतिजामा तत्काल फरक पारेको छ,” गुप्ताले भने, “आगामी दिनमा देशव्यापी रूपमा प्रतिभा पहिचान गरी योजनाबद्ध तालिम दिन सके अझ उत्कृष्ट नतिजा ल्याउन सकिन्छ।”

नेपाली टोलीको छनोट ‘नेसनल एआई ओलम्पियाड इन नेपाल’ (NAION) मार्फत गरिएको थियो। देशभरका माध्यमिक तहका विद्यार्थीका लागि खुला गरिएको यस राष्ट्रिय छनोटमा पिताम्बर लामिछाने पहिलो र प्रसिद्ध मैनाली दोस्रो भएका थिए।

छनोटपश्चात् विद्यार्थीहरूलाई फ्युजमेसिन (Fusemachines) का विज्ञ टोलीले मेसिन लर्निङका आधारभूत सिद्धान्त, मोडल ट्रेनिङ र व्यवहारिक समस्या समाधान (Applied Problem-Solving) सम्बन्धी विशेष प्रशिक्षण दिएका थिए।

व्यवस्थापन र नेतृत्व

टोलीका ‘टिम लिडर’ आयुष अधिकारीले विद्यार्थीको प्राविधिक तयारीको नेतृत्व गर्दै अस्तानासम्मको यात्रामा सहजीकरण गरेका थिए। यस्तै, प्रोग्राम कोअर्डिनेटर प्रान्शु जोशीले राष्ट्रिय छनोटदेखि प्रतिनिधिमण्डलको सम्पूर्ण व्यवस्थापन सम्हालेका थिए भने HLON का सहसंस्थापक चन्दन गुप्ता ‘अब्जर्भर’ का रूपमा टोलीसँगै अस्ताना पुगेका थिए।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवं HLON का सहअध्यक्ष डा. बालकृष्ण बलले नेपाल पहिलोपटक एआई ओलम्पियाडको पदक तालिकामा प्रवेश गर्नुलाई राष्ट्रिय गौरवको विषय बताएका छन्। “चारै विद्यार्थीले अन्तर्राष्ट्रिय मान्यता पाउनु नेपालको एआई शिक्षाका लागि कोसेढुङ्गा हो,” उनले भने।

दीर्घकालीन लक्ष्य र भावी योजना

HLON ले यो सफलतालाई केवल एउटा पदकमा मात्र सीमित नराखी नेपालमा प्रारम्भिक तहदेखि नै प्रोग्रामिङ र मेसिन लर्निङ सिक्ने वातावरण निर्माण गर्ने अवसरका रूपमा लिएको छ। यो पहल नेपाल सरकारको एआई जनशक्ति विकासको दीर्घकालीन लक्ष्यसँग समेत जोडिने संस्थाको भनाइ छ।

नेपालको सहभागिताका लागि IOAI ले समेत आर्थिक सहयोग गरेको थियो। जसअन्तर्गत प्रतिनिधिमण्डलको दर्ता शुल्क र तीन जना सदस्यको यात्रा खर्चको आधा हिस्सा IOAI ले व्यहोरेको थियो।

आगामी ‘नेसनल एआई ओलम्पियाड’ को नयाँ चक्र यसै वर्षको अन्त्यतिर सुरु हुनेछ। अब नेपालका एआई तथा लिङ्गुइस्टिक ओलम्पियाड कार्यक्रमको कानुनी तथा आर्थिक जिम्मेवारी BRAIN Foundation ले सम्हाल्ने जनाइएको छ।